लकडाउनको सुनसानमा लुम्बिनी उपवनको म्यानमार गोल्डेन टेम्पल अघिल्तिरको रूखमा कटुसटाउके मुरलीचरा गुँड बनाउने चटारोमा छ । चरीको जोडी रूखमा दिनभर साम–साम सुम–सुम गरिरहेका देखिन्छन् । बचेरालाई हुर्काउने खरपात र झिजाझिजीले गुँड बनाउन उनीहरूलाई भ्याइनभ्याइ छ । त्यस्तै रुपन्देहीको तेलार नदी छेउ रहेको एक होटल छेउको स्वर्गचरीले पनि गुँड बनाउन तयारी गरेको छ । उनीहरूलाई दिनभरि घुरपात र खरपात ओसार्न व्यस्त हुन्छन् । उनीहरूसँगै अन्य गृष्मकालीन आगन्तुक चरा बच्चा कोरलेर हुर्काउन नेपाल आइसकेका छन् । लकडाउनले बाटो, खेतबारी, घाँसेमैदान सुनसान छ । मानिसहरू आवत–जावत नहँुदा निधक्क भएर गुँड बनाइरहेका छन् । आहार विहार गरिरहेका छन् ।
फेब्रुअरी अन्त्यदेखि आउन सुरु गर्ने चरा अहिले धेरै आइसकेका छन् । ‘सुरुमा कटुस टाउके मुरली चरा आयो’ वरिष्ठ चराविद् डा. हेमसागर बरालले भने, ‘अहिलेसम्म ३७ बढी प्रजातिका चरा नेपाल भित्रिसके ।’ बचेरा कोरल्ने राम्रो वातावरण र मौसम हुने भएकाले यहाँ चरा आएका हुन् । अब तत्कालै थप १०/१२ बढी प्रजातिको चरा आउने चराविद् बताउँछन् । यहाँ ५० प्रजातिका चरा बच्चा कोरल्न आउँछन् ।
पाहुना चरा आएर सबैभन्दा पहिले गुँड लगाउने ठाउँ, वातावरण र खानेलगायतका कुरा हेरेर बच्चा हुर्काउन ठाउँ रोज्छन् । चराले यहाँ रूख, नदी खोलाका किनार र खेतवारीमा गँुड लगाउन थालेका छन् । वसन्त ऋतुसँगै भारत, श्रीलंका, दक्षिण–पूर्वी एसियाका थाइल्यान्ड, म्यानमार र मलेसियालगायतका ठाउँबाट चरा यहाँ आइपुगेका हुन् । उनीहरू ३/४ दिनदेखि साता/दश दिन लगाएर महिना अघिदेखि नेपाल आउन थालेका हुन् । बच्चा हुर्काएर उनीहरू फेरि जहाँबाट आए उतैतिर फर्कन्छन् । ‘सबैभन्दा ढिलो अफ्रिकी सब सहारान क्षेत्रबाट जुरे कोइली आउँछ’ डा. बरालले भने, ‘त्यो पनि अप्रिल अन्त्य मे पहिलो सातासम्म आई गुड बनाउन थाली हाल्छ ।’
‘नेपाल आएर चराले गुँडका लागि ठाउँ खोजी गरिसके’ चराविद् सोम जिसीले भने, ‘छानेको ठाउँमा खरपात बटुलेर बनाउन थाले ।’ जंगलमा नयाँ पालुवा र प्रसस्त चराका चिरबीर सुरु भइसकेका छन् । गाँजले सुनचरी, सुन्तले चाँचरचरी र राजचरीले चितवन राष्ट्रिय निकुञ्ज र लुम्बिनी वन क्षेत्रमा गुँड लगाई फूल पार्न बसिसकेका छन् । चरालाई गुँड बनाउन ३ साता जस्तो लाग्छ ।
हिउँदमा उत्तरबाट नेपाल आएका चरा उतै फर्केपछि गृष्ममा दक्षिणबाट चरा आउने गर्छन् । रानीचरी, कुक्कु, कोइली, निलपुच्छ्रे मुरलीचरा, चित्रक पिट्टा, गाँजले पिट्टा, काफल पाक्यो, र लालचुच्चे ठेउवालगायतका चराले गुँड बनाउने ठाउँ हेरर चाँजोपाँजो मिलाउन थालेका छन् । यसपाला छिटो चरा आगमन सुरु भयो चराविद् दिनेश गिरीले भने कोइलीका १३ प्रजाति भित्रिसके । नेपालमा पाइने १९ प्रजातिका कोइलीहरूमध्ये १५ प्रजातिले गुँड नबनाउने र अरूका गुँडमा फुल पारेर बच्चा हुर्काउने कामसमेत अरूलाई नै सुम्पने स्वभावका हुन्छन् । अरू चराले आफ्ना बचेरासँगै कोइलीका बचेरा
पनि हुर्काइदिन्छन् ।
‘वैशाख तेस्रो सातासम्म सबै चराले गुँड लगाई सक्छन्’ चराविद् कृष्णप्रसाद भुषालले भने, ‘साउन दोस्रो सातासम्म बचेरा हुर्काइ सक्छन् ।’ बच्चा हुर्काउन सानाले कम र ठूलो बढी समय लिने सरिसृप विषेशज्ञ प्रो. करनबहादुर शाहले बताए ।
विदेशमा अहिले दिन र रात बराबरी हुने तर नेपालमा अहिले रातभन्दा दिन लामो हुने भएकाले बढी समय चर्न पाउने हुँदा चरा यतातिर आउने गरेको उनले बताए । बच्चा कोरल्न ठाउँ चराले सुरक्षित ठाउँ रोजीरोजी पाउने हुँदा यहाँ आकर्षित भएका हुन् । अहिले लकडाउनका बेला उनीहरूलाई मानवीय डरत्रासबाट पूरै सुरक्षित बनेका छन् ।
अनुकूल मौसम र खानाको खोजीमा बसाई–सराइ गर्ने क्रममा ऋतु परिवर्तनसँगै नेपाल आएका हुन् । यहाँका चितवन, बर्दिया, शुक्लाफाटा, पर्सा र बाँके राष्ट्रिय निकुञ्जमा चरा बच्चा कोरल्न आएका छन् । त्यस्तै कोसी टप्पु, शिवपुरी जंगल र अन्नपूर्ण संरक्षण क्षेत्रमा पनि बच्चा कोरल्न चरा आएका हुन् ।
अधिकांश तराई, केहीले मध्य–पहाड तथा न्यून प्रजाति उच्च हिमाली भेगमा घुलमिल हुन्छन् । उनीहरू असोज, कात्तिकतिर फर्कन्छन् । नेपालमा ८ सय ८८ प्रजातिका चरा पाइन्छ । लकडाउनसँगै ध्वनि प्रदूषण छैन् । शान्त र स्वच्छ वातावरण छ । कोलाहल र होहल्ला छैन । त्यसैको परिणम पाहुना चरा निस्फ्रिक्री बनेका छन् । त्यस्ता चरा घर, आँगन, कौसी, करेशाबारी र पर्खालमा देखिन थालेका छन् ।
उज्यालो हुन नपाउँदै कुक्कु कोइली र काफल पाक्यो कोइली आवाज कानमै ठोक्किन पुग्छ । त्यस्तै रैथाने र आन्तरिक बसाई सरेर आउने चराको चिरवीर र कोकिल कण्ठे बोली पनि घर आँगन, ढोका र झ्यालमै सुनिन थालेको छ । ‘उन्मुक्त वातावरणमा चराहरू विचरण गरिरहेका छन्,’ चराविद् दिनेश गिरीले भने, ‘यसले घरआँगनबाटै चराको आनीबानी र चिरवीराहट सुन्न पाउँदा रमाइलो लागेको छ । यसले मानिसलाई आनन्दित र स्वस्थ्य बनाइरहेको छ ।’