कुवेतमा गैरकानुनी हैसियतमा बसेर आममाफी पाएका नेपालका महिला कामदारहरुको पहिलो लट आज नेपाल आइपुगेका छन् ।
जजिरा एयरलाइन्सको दुई विमान मार्फत् उनीहरु स्वदेश फर्किएका हुन् । उनीहरुलाई नेपाली सेनाले प्रदेशगत रुपमा छुट्टाइएको होलिङमा लगिएको छ । होल्डिङ सेन्टरबाट उनीहरुलाई सम्बन्धित स्थानीय निकायले व्यवस्थापन गरेको क्वारेन्टाइन सेन्टरमा लगिने छ ।
गैरकानुनी हैसियतमा कुवेत बसेर विदेशीहरुलाई सरकारले आममाफी दिएपछि कुवेतले अस्थायी क्याम्प र डिर्पोटेसन सेन्टरमा उनीहरुलाई राखेको थियो । अहिले सेन्टर र क्याम्पमा करिब ३ हजार नेपाली रहेका छन् । जसमा १ हजार ६ सय ८८ जना पुरुष र १ हजार ३ सय ३ जना महिला रहेका छन् ।
कुवेतले बिनाजरिवाना स्वदेश फर्किन पाउने नीति ल्याएपछि आफ्नै खर्चमा चार्टर विमानमार्फत नेपाल पठाउन थालेको हो । एक अनुमान अनुसार सेन्टर र क्याम्पमा बसेका सबै नेपालीलाई दैनिक दुई फ्लाईटवाट ल्याउदा पनि २० पटक उडान गर्नु पर्ने जनाईएको छ ।