यसपटकको छैठौं अन्तराष्ट्रिय योग दिवसलाई कोभिड–१९ ले प्रभावित पार्यो । बिगतको जस्तो विविध सार्वजनिक कार्यक्रमहरु आयोजना गरेर मनाईने अन्तराष्ट्रिय योग दिवस यसपटक भने बन्द कोठा भित्रै आयोजना भयो ।
संयुक्त राष्ट्र संघले योगलाई अन्तराष्ट्रिय मान्यता दिएपछि प्रत्येक बर्षको जुन २१ तारिखमा यो दिवस विश्वब्यापी रुपमा मनाइदैं आएको छ । कोभिड–१९ को महामारी फैलिएको कारण राष्ट्र संघले यस बर्षको योग दिवसको नारा ‘स्वास्थ्यकालागि योग– घरमै योग’ राखेको थियो । जसको कारण बिहानै देखि धेरै ब्यक्तिले योगका आसनहरु गरेर सामाजिक संजाल मार्फत् प्रत्यक्ष प्रसारण गरेका थिए । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फरेन्स मार्फत् शुभकामना दिनु भएको थियो । दिनभर जसो योगका विभिन्न कार्यक्रमहरु अनलाईन मार्फत् आयोजना भैरहेका थिए ।
यसैविच सामाजिक दूरीलाई कायम गर्दै योगधाम फाउण्डेसनले पनि योग दिवस कार्यक्रमको आयोजना गर्यो । उक्त कार्यक्रममा सहभागिहरुले मास्क लगाएर र एक अर्काविच दुरी कायम गरेर योगका विभिन्न अनौठा आसनहरु प्रस्तुत गरेका थिए ।