साप्ताहिक संवाददाता
फेसबुक प्रयोगकर्ताहरूमाझ यसप्रकारको स्टाटस राख्ने होड चलिरहेको समयमा एक प्रयोगकर्ताले नेपाली सन्दर्भ जोड्दै माथि उल्लेखित स्टाटस लेखे। क्लब फुटबलका विश्वविख्यात क्लबहरू चेल्सी, लिभरपुल युवा विद्यार्थीलाई आकषिर्त गर्ने राम्रा नाम हुन सक्छन् भन्ने बुझेका नेपाली 'शिक्षावि्द' हरूले यसलाई प्रयोगमै ल्याए। यो ट्रेन्ड यति लोकप्रिय भयो कि गत वर्ष वार्सिलोनाको निक नेम 'वार्सा' लाई सापट लिएर पनि कलेज सञ्चालनमा आयो, यद्यपि उक्त उमाविले अहिले आफूलाई वर्षा कलेज भन्न थालेको छ। पछिल्ला दिनमा अंग्रेजी नाम भएका उमाविहरूको नाम नेपालीकरण गरिनुपर्ने भनिएपछि वार्सा, वर्षामा परिणत भएको पनि हुनसक्छ।
गत वर्ष विश्वकै महान् आश्चर्यमा पर्ने इजिप्टको पिरामिडसँग सम्बन्धित रहेर सञ्चालनमा आएको पिरामिड इन्टरनेसनल उमावि गुरुकुलमा परिणत भयो। पिरामिडको व्यवस्थापन टिम पनि परिवर्तन भएकाले गुरुकुल नामकरण भएको हो। गुरुकुल हिन्दू सभ्यताको प्राचीन शब्द हो। गुरुकहाँ गएर चेलाहरूले शिक्षा लिने स्थललाई गुरुकुल भनिन्थ्यो। पिरामिडले पनि अंग्रेजी शब्दको झन्झटिलो लफडामा फस्नुभन्दा गुरुकुलमै जान उपयुक्त मानेको हुनुपर्छ।
राजधानीकै सौर्य इन्टरनेसनल उमावि अहिले दिव्य दर्शन उमावि भएको छ। सौर्य इन्टरनेसनल दह्रै तयारीका साथ सञ्चालनमा आए पनि यसले भनेजस्तो सफलता हासिल गर्न नसकेका कारण यसका सञ्चालकहरूले नाममै खोट लगाए। नाम नफापेर हुनसक्छ, सौर्य उमावि निकटस्थ स्रोतले भन्यो- 'अहिले दिव्यदर्शन राखिएको छ।' त्यसो त झरेको ब्रान्ड नेमलाई उकास्नुभन्दा नयाँ ब्रान्डलाई स्थापित गर्न सजिलो हुन्छ भन्ने सञ्चालकहरूको मान्यता हुनुपर्छ। क्रिम्सन कलेज लालीगुराँस राष्ट्रिय उमावि परिवर्तन भएको छ।
फ्लोरिडा कलेज धूमधामसँग प्रचार गर्दै सञ्चालनमा आएको थियो। फ्लोरिडाले अमेरिकन राज्यको नाम सापटी लिएको थियो। फ्लोरिडाको माथि केही सानो अक्षरमा एभरेस्ट पनि राखिएको छ। समग्रमा कलेजको नाम एभरेस्ट फ्लोरिडा हो। नेपाली प्लस टु उमाविहरूमा विदेशी नाम राख्ने चलनलाई निरन्तरता दिँदै फ्लोरिडा पनि थपिएको हो। अमेरिकन नामहरू मेरिल्यान्ड, टेक्सास, ह्वाइट हाउस, पेन्टागन नेपाली प्लस टु कलेजका नामका रूपमा यसअघि नै आइसकेका छन्।
कुनै बेला त्रिभुवन, महेन्द्र, वीरेन्द्र, रत्नराज्यजस्ता राजा-रानी र मेची, राजविराज, महेन्द्रनगर स्थानविशेषसँग जोडिएर आउने नामहरू प्रचलित थिए। प्लस टु एजुकेसन सुरु भएपछि नामले नै कलेजको गुण जनाउने आधार तय भएको छ। ग्लोबल रूपमै सेलिब्रेटी दरिएका नामहरू सापट लिँदा कलेज विद्यार्थीको आकर्षणमा पर्ने भएकाले यो खेल सुरु भएको सम्बन्धितहरू बताउँछन्। एक अनुभवी शिक्षकका अनुसार कुमारी, भगवती, सरस्वती, गौरिशंकर, सिद्धार्थ, क्षितिज, बुद्धजस्ता नाम राखेर कलेज सञ्चालनमा आउँदा पानी नै पिउन नपाई त्यो कलेजको आयु सकिने निश्चित छ। ग्लोबलाइजेसन र विदेशी संस्कृतिको प्रत्यक्ष प्रभावका कारण नेपाली नामको सट्टा विदेशी नाममै आकर्षण बढेको उनी बताउँछन्। प्लस टु सञ्चालन गर्ने भीडमा नामबाटै पृथक्ताको प्रारम्भ गर्ने क्रममा क्याची नाम खोजिएको प्लस टु सञ्चालकहरू बताउँछन्।
नामकै कुरा गर्ने हो भने दुई वर्षदेखि सञ्चालनमा आएको लिभरपुल कलेजसम्म आइपुग्दा थुप्रै विदेशी नाममा उमावि सञ्चालन भैरहेका छन्। इंग्लिस प्रिमियर लिग खेल्ने उत्कृष्ट टिम लिभरपुलको लोकप्रियता देखेरै उमावि सञ्चालकहरूले यो नाम सापटी लिएका हुन्। क्लब फुटबलका चर्चित टिमहरू बार्सिलोना, लिभरपुल, चेल्सी नामका प्लस टु सञ्चालनमा आइसकेका छन्।
प्लस टुमा नोबेल एकेडेमी आफैंमा नौलो नाम थियो। यसले पृथक् उपस्थिति जनाउने क्रममै नोबेल नाम जुराएको थियो। अंग्रेजी नाम सापट लिनेमा सम्भवतः नोबेल पहिलो पुस्तामै पर्छ। विश्वकै सबैभन्दा ठूलो पुरस्कार मानिने नोबेल पुरस्कारसँग जोडिएको नोबेल उमाविको नामले यति लोकप्रियता कमायो कि १५ वर्षअघि प्लस टु उमावि भन्नेबित्तिकै नोबेल नाम आइहाल्थ्यो।
कुरा आधा दशकअघिको हो, अहिलेको चेल्सी इन्टरनेसनलका सञ्चालकहरू कलेजको नाम के राख्ने भनेर तनावमा थिए, त्यही बेला सञ्चालकमध्येकै एक जनाले चेल्सी नाम सिफारिश गर्नुभयो। चेल्सी इंग्लिस प्रिमियर लिग फुटबल टिम खेल्ने त्यो समयकै चर्चित टिम थियो। तुरुन्तै बोर्डले यही नाम राख्ने निर्णय गर्यो। चेल्सीका प्रिन्सिपल सुधिरकुमार झा भन्छन्- 'युवा पुस्ताका निम्ति यो नाम अत्यन्तै 'क्याची' सावित भयो।' तर नाममै कलेजको भविष्य जोडिनुचाहिँ किमार्थ सही नहुने झा बताउँछन्। उनका अनुसार बुढानीलकन्ठ चल्यो भन्दैमा गणपति कलेज चल्छ भन्ने छैन, त्यसैले अब पनि प्लस टु सञ्चालन गर्नेहरूले त्यही ढर्रा नक्कल गर्नु राम्रो होइन। झाका अनुसार नामसँगै कलेजले शैक्षिक गुणस्तरमा पनि ध्यान पुर्याउनुपर्छ।
पिनाकल उमाविको नाम कसरी जुर्यो नि ? पिनाकलका प्रिन्सिपल ऋषि तिवारीले भने, पिनाकल भनेको शिखर हो, विद्यार्थीलाई शिखरमा पुर्याउने उद्देश्यअनुरूप पिनाकल नाम जुराइएको हो, शैक्षिक रूपमै शिखर कलेजका रूपमा पिनाकललाई उभ्याउने लक्ष्य पनि नाम जुराउने बेलामा लिइएको थियो, उनले भने।
नामकै कारण छोटो समयमै लोकप्रियता कमाउने अर्को कलेज हो, हिमालय ह्वाइट हाउस, बानेश्वर। यो कलेजको एकेडेमिक फ्याकल्टी पनि बलियै थियो, तर नाम भने अमेरिकी राष्ट्रपति भवनको सापटी लिइएको थियो। अमेरिकी नाम चल्ने रहेछ भनेर ह्वाइट हाउस छोडेर गएको समूहले पेन्टागन नाम राख्यो। विराटनगरको मेरिल्यान्ड उमावि अमेरिकाको संघीय राज्य मेरिल्यान्डबाट प्रभावित भएर लिइएको हुनसक्छ। टेक्सास पनि अमेरिकाकै एउटा राज्य हो, टेक्सास उमावि पछिल्लो तीन वर्षयता सञ्चालनमा छ। पुरानो उमाविको नाम परिवर्तन गरेर टेक्सास राखिएको उदाहरणले टेक्सास ब्रान्डको उमावि विद्यार्थीको रोजाइमा सहजै पर्छ भन्ने विश्वास हुनसक्छ। गोल्डेनगेट पनि अमेरिकासम्बद्ध नाम नै हो।
नासा पनि अमेरिका सम्बद्ध नाम नै हो। अमेरिकाको अन्तरिक्ष विज्ञानसम्बन्धी अध्ययन गर्ने प्रयोगशाला हो नासा, वैज्ञानिक अन्वेषणमा विश्वकै चर्चित नासाको लोकप्रिय ब्रान्डलाई अहिले नेपाली कलेजको नामका रूपमा चिन्न थालिएको छ। विश्वकै प्राकृतिक तथा मानविय कीर्तिमानधारीहरूको रेकर्ड राख्ने संस्था गिनिज बुक अफ वल्र्ड रेकर्डबाट प्रभावित भएर हुन सक्छ, गिनिज इन्टरनेसनल सञ्चालनमा आएको।
अमेरिकाको चर्चित विश्वविद्यालय प्रिन्सटनकै ब्रान्ड लिएर नेपालमा पनि प्रिन्सटन उमावि सञ्चालनमा आएको छ। न्युजर्सीको प्रिन्सटन विश्वविद्यालयकै स्वरूपमा आफूलाई उभ्याउने यसको लक्ष्य हुनसक्छ। यस्तै अमेरिकाकै म्यासाचुएट्स राज्यस्थित चर्चित स्टेट युनिभर्सिटी बि्रजवाटरको नाममा बि्रजवाटर एजुकेसन फाउन्डेसन एन्ड रिसर्च सेन्टर सञ्चालनमा आएको छ। बि्रजवाटर अमेरिकाकै भर्जिनियाको चर्चित कलेज पनि हो। बि्रजवाटर साउथ अस्टेलियाको एक सहरको नाम पनि हो। विश्वभर नै सञ्चालित लिंकन स्कुल नेपालमा पनि छ। अब्राहम लिंकनलाई आदर्श मानेर अमेरिकी सरकारकै सक्रियतामा लिंकन स्कुल विस्तार गरिएका हुन्। नेपालमा काम गर्ने अमेरिकनहरूका सन्तानको अध्ययनका लागि लिंकन स्कुल सञ्चालनमा आएको हो। लिंकनमा हाल धनाढ्य परिवारका नेपाली सन्तानले पनि शिक्षा लिन्छन्। यस्तै अमेरिका पत्ता लगाउने कोलम्बसलाई आधार मानेर नयाँ बानेश्वरमा कोलम्बस कलेज सञ्चालनमा छ।
युरोपियन ब्रान्ड नेमहरू पनि नेपाली उमावि सञ्चालकहरूका लागि उमाविको नाम जुराउने स्रोत बनेका छन्। विश्वभर ए लेभलको साम्राज्य बनाएको क्याम्बि्रज युनिभर्सिटीको लोकप्रियता देखेरै कुलेश्वरको क्याम्बि्रज उमावि सञ्चालनमा आएको हो। यसले आफ्नो आदर्श क्याम्बि्रज युनिभर्सिटीलाई बनाएको हुनसक्छ। अक्सबि्रज पनि शैक्षिक रूपमा विशिष्ट आदर्श बोकेको नाम हो। अक्सफोर्ड युनिभर्सिटीको अक्स र युनिभर्सिटी अफ क्याम्बि्रजको बि्रज मिलेर अक्सबि्रज बनेको हो, यो नामले दुइवटै युनिभर्सिटीलाई प्रतिनिधित्व गर्छ। अक्सबि्रज उमावि पनि नेपालमा सञ्चालनमा आइसकेको छ।
क्यारेबियन कलेजको नामले क्यारेबियन टापुहरूको प्रतिनिधित्व गर्छ। क्यारेबियन युनिभर्सिटी पनि छ। ललितपुरको क्यारेबियन उमाविले चर्चित क्यारेबियन शब्दलाई प्रयोगमा ल्याएको हो। वैज्ञानिकहरूलाई सम्झिएर हुनसक्छ, आइन्सटाइन उमावि ललितपुर, न्युटन एजुकेसन एकेडेमी बिर्तामोड आदि उमावि पनि सञ्चालनमा छन्। ग्यालेक्सी उमाविले पनि वैज्ञानिक अर्थ नै बोकेको छ। अर्को रोचक नाम भिस्टा हो, माइक्रोसफ्टको विन्डोज भिस्टाको भिस्टालाई लिएर भिस्टा उमावि सञ्चालनमा आएको छ। त्यस्तै ओलम्पिक खेललाई बुझाउने ओलम्पिया संसारभरकै चर्चित ब्रान्ड पनि हो। ओलम्पिया उमाविले यसलाई सापट लिएको छ। डिस्कोभरी, बि्रलियन्ट, युनिभर्सल, प्रिमियर, ग्लोबल, सि बर्ड, इस्ट होराइजन, फ्लोरस्केन्ट, ग्लोरियस, ब्रुकलिन आदि वेस्टर्न सोसाइटीका चर्चित ब्रान्ड हुन्, जसका नाममा नेपालमा कलेज खोलिएका छन्।
मिसिनरिज र पूर्वीय सभ्यताका ब्रान्ड
सेन्ट मेरिज, सेन्ट जेभियर, सेन्ट पाओल मिसिनरिज स्कुलका नाम हुन्। धार्मिक आस्थाका यी चर्चित नामहरू प्रयोग गरेर सहजै स्थापित हुने अभ्यास पनि नेपालमा देखियो। जेभियर एकेडेमी, जेभियर इन्टरनेसनल, सेन्ट लरेन्स, सेन्ट जोसेफ आदि नाम यही क्रममा जन्मिएका थिए। ती संस्थाले यी नाम सापट लिएको फाइदै भयो। त्यसो त उनीहरूको लोकप्रियतामा शैक्षिक रूपमा व्यवस्थापन पक्षको मेहनत छैन भन्ने होइन।
गत वर्षदेखि सञ्चालनमा आएको प्लस टु कलेज हो, तक्षशिला एकेडेमी। प्राचीन भारतको गान्धार राज्यको राजधानी तथा शैक्षिक केन्द्रका रूपमा प्रख्यात तक्षशिलामा कुनै समय विख्यात विद्वान् आचार्य चाणक्यले प्राध्यापन गर्थे। हाल उक्त स्थान रावलपिन्डी नजिक पर्छ। पूर्वीय शैक्षिक सभ्यताको शिखर शब्द तक्षशिलाको नामलाई सापट लिएर तक्षशिला बनेको हो। यस्तै सगरमाथा, कञ्चनजंघा, कान्जिरोभा, नीलगिरिजस्ता हिमाल-पहाडका नामका कलेज पनि सञ्चालनमा छन्। राम्रोसँग चल्न नसकेका पुराना उमावि खरिद गरेर आकर्षक नयाँ नाममा सञ्चालन गर्ने ट्रेन्ड पनि उत्तीकै छ। उच्च माध्यमिक शिक्षा परिषद््ले बर्सेनि प्रक्रियागत ढंगले सम्बन्धन दिँदै आए पनि शिक्षक तथा लगानीकर्ताको समूह मिलेर यो कामलाई अघि बढाएका छन्। केही वर्षअघि नेरिक महिला उमावि अनामनगर-कोलम्बस उमावि, प्रोगेस उमावि धोविघाट-क्यारेबियन उमावि, एफडब्लु टेलर उमावि-गोल्डेनगेट, काठमाडौं सेन्ट्रल उमावि-माइलस्टोन, रोयल मोडल एकेडेमी-टाइम्स उमाविमा परिणत भएका थिए। नाम परिवर्तनको यो ट्रेन्ड अहिले पनि चलिरहेकै छ। नेसनल कलेज फर हाइयर एजुकेसन बालुवाटार-पेन्टागन, लर्ड बुद्ध उमावि-टि्रनिटी, वल्र्ड लिंक उमावि टि्रटोनमा परिणत भएका थिए। यस्तै शुभश्री कलेज-नासा उमावि, इन्टेलेक्चुअल एकेडेमी-गिनिज इन्टरनेसनल, दीपिका शिक्षा सदन-ओलम्पिया वल्र्ड उमावि, सेन्टर फर इनोभेटिभ टेक्नोलोजी-ह्वाइट गोल्ड इन्टरनेसनल, शिखर बोर्डिङ-ओमेगा उमावि, सिद्धार्थ विद्यापीठ-बि्रजवाटर इन्टरनेसनल स्कुल, नेसनल उमावि-प्रिन्सटन, काठमाडौं उमावि-टेक्सासमा परिणत भएका छन्। अघिल्लो वर्ष क्षितिज उच्च मावि लिभरपुलमा परिणत भएको थियो। परिषद््को सम्बन्धन महाशाखाले दिएको जानकारीअनुसार श्री देउराली बहुमुखी क्याम्पस-नेपाल मेगा कलेज, पूर्णतारा इन्टरनेसनल उमावि जावलाखेल- डिस्कभरी उमावि, पशुपति एकेडेमी टिकापुर कैलाली- मिलिनियम बि्रज एकेडेमी, अरनिको मेमोरियल इंग्लिस बोर्डिङ बुटवल-एक्सिस इन्टरनेसनल, मनोकामना एकेडेमी विराटनगर-ग्रीनल्यान्ड इन्टरनेसनल, काठमाडौं डनबस्को-कान्जिरोभा नेसनल उमाविमा परिणत भएका थिए।
सम्बन्धनको लफडा
गत वर्ष परिषद्ले झन्डै दुई सय शैक्षिक संस्थालाई उमाविको सम्बन्धन दिने तयारी गरेको थियो। परिषदको सिफारिशमा मन्त्रालयको समितीले पास गरिसकेको अवस्थामा मन्त्रालयले कतिपय सम्बन्धनको फाइललाई अड्काइरहेको उच्च माध्यमिक शिक्षा परिषद्का अधिकारीहरू बताउँछन्। 'एउटा निश्चित फ्रेमवर्क भित्र रहेर, अध्ययन गरेर सिफारिशको प्रक्रिया अघि बढाइन्छ, तर सेसन सुरु भैसक्दा पनि त्यसलाई पास नगर्नु मन्त्रालयको दोष हो' परिषदका उच्च अधिकारी भन्छन्- 'यसले उमावि सञ्चालन गर्नेहरूलाई पनि निराश बनाउँछ, यस प्रकारको कार्यशैलीमा परिवर्तन आवश्यक छ।' परिषदमा नाम परिवर्तनका लागि उत्तिकै निवेदन परेका छन्। नाम परिवर्तनको लहरमा नयाँ व्यवस्थापनले लिएका उमाविहरू एकातर्फ छन् भने अर्कातर्फ अंग्रेजी नामलाई नेपाली नाममा परिणत गर्नेहरू पनि छन्। 'भोलिका दिनमा अंग्रेजी नामका कारण दुख पाउनु नपरोस भनेर पनि हो,' एक प्राचार्यले भने- 'अहिले तत्कालका निम्ति अंग्रेजी नामले विद्यार्थी तान्ला तर दूरगामी रूपमा सोच्ने हो भने आकर्षक नेपाली नाम पनि उत्तिकै पाइन्छन्।'