अहिले जताततै ‘पोकेमन गो’ नामक भिडियो गेमको चर्चा छ । यो गेममा भर्चुआलिटी र रियालिटीको गजबको मिश्रण देख्न सकिन्छ । यो गेमको अनौठो विशेषता खेलाडी वास्तविक स्थानहरूमा हिँड्दै खेल्न सक्नु नै हो ।
पोकेमन गो गेममा खेलाडीले पोकेमनलाई समात्न, लडाइँ गर्न र तालिम दिन पाउँछ । एपमा लग इन गरिसकेपछि खेलाडीले आफ्नो अवतार लिन पाउँछन् भने उक्त अवतारको स्टाइल, केश, छाला तथा आँखाको रङ अनि पहिरन आदिसमेत छान्न सक्छन् । अवतार तयार भएपछि खेलाडी रहेकै स्थान स्क्रिनमा नक्सासहित देखिन्छ । वास्तविक क्षेत्रसँगै पोकस्टप्स तथा पोकेमन जिमहरू देखिन्छन् । ती स्थान खासगरी चर्चित र धेरै मानिसहरू भेला हुने ठाउँमा राखिएका हुन्छन् ।
खेलाडी वास्तविक संसारमा हिँडेसँगै स्क्रिनको अवतार पनि हिँड्छ र ती वास्तविक स्थानमा पुगेर खेलाडीले पोकेमन समात्नुपर्ने हुन्छ । आफ्नो वरिपरिको भौगोलिक स्थितिअनुसार यो गेम छनौट गर्नुपर्छ । यसका लागि गुगल म्याप प्रयोग गरिन्छ । यदि कुनै ताल वा समुद्रको वरिपरि भए वाटर पोकेमन खोज्नुपर्छ । त्यसैगरी जंगल वा पार्कमा भए ग्रास वा बग टाइप गरेर पोकेमन खोजिन्छ ।
खेलाडीले पोकेमन नामक भर्चुअल क्रिएचर्सलाई समात्नुपर्छ । तिनको नाम पिकाचु, जिग्लीपफ आदि राखिएका छन् । उनीहरू यसलाई समात्न मात्र होइन, तालिम दिन र लड्न पनि सक्छन् । यो नि:शुल्क उपलब्ध हुने गेम भए पनि कुनै थप आइटम पैसा तिरेर खरिद गर्न सकिन्छ । यो गेम खेल्ने क्रममा कुनै विशेष चिह्न लगाइएको स्थानमा पुगेर आफ्ना क्रिएचर्सलाई तालिम दिन सकिन्छ । पोकेमनलाई समात्न युजर्सले रातो वा सेतो पोके बल छोड्नुपर्छ ।
पोकेमन गो जीपीएसमा आधारित अगमेन्टेड रियालिटी मोबाइल गेम हो । यो आइओएस र एन्ड्रोइड दुवै ओएसको मोबाइलमा खेल्न सकिन्छ । अहिलेसम्म खेलिएका कुनै पनि खेलको रेकर्ड तोडेर यसले निकै ठूलो चर्चा कमाएको छ । गत जुलाई ६ मा यो गेम बजारमा आएको थियो । यो गेम खेल्दा अनेकौं दुर्घटना पनि भएका छन् । यसमा विभिन्न स्थानमा पुगेर गेम खेल्नुपर्ने र गेममै मग्न हुने हुँदा वरिपरिको वातावरणमा ध्यान पुग्न पाउँदैन । फलस्वरूप अचानक गाडी चलिरहेको सडक वा कुनै खाल्डाखुल्डी तथा पानी भएको स्थानमा पुगेर दुर्घटना हुने सम्भावना बढी हुन्छ । त्यसैगरी घाम पानीको असर वा कुनै जंगली जनावर तथा किरा फट्यांग्राको सिकार हुने डर पनि उत्तिकै हुन्छ । विभिन्न स्थानमा यो गेम खेल्नेहरू लुटिएको खबरसमेत आएका छन् ।
सुरक्षाका दृष्टिकोणले यो गेमको तीव्र आलोचना भैरहेको छ । यो गेमको डेभलपर निएन्टिक कम्पनीले युजर्सको सबै जानकारी लिन्छ भनिन्छ । प्रयोगकर्ताको इमेल, आइपी एड्रेस, प्रयोग गरिएको वेबपेज र लोकेसन सबै निएन्टिकले ट्रयाक गर्छ । कम्पनीले यी सबै समस्या समाधान गर्ने प्रतिबद्धता जनाए पनि त्यसो हुन सकेको छैन । यसका कारण प्रयोगकर्ताका सबै व्यक्तिगत जानकारी जोखिममा पर्ने बताइन्छ ।
कम्पनीले भारत–नेपालजस्ता देशमा यो गेम अझै आधिकारिक रूपमा उपलब्ध गराएको छैन ।
अगमेन्टेड रियालिटी
अगमेन्टेड रियालिटी भर्चुअल रियालिटीको दोस्रो रूप हो । यसका लागि आफ्नो वरिपरिको वातावरणसँग मेल खाने कम्प्युटर जडित वातावरण हुनु आवश्यक छ । यसको अर्थ वरिपरिको संसार र अर्को कुनै अलौकिक अर्थात् आभासी संसारलाई जोडेर भर्चुअल सिन तयार गरिन्छ । हेर्दा वा देख्दा यो वास्तविकजस्तै लाग्छ । यसमा वास्तविक संसार र अलौकिक संसारबीच कुनै फरक अनुभव हुँदैन ।
आज अग्मेन्टेड रियालिटीको प्रयोग डिजिटल गेमिङ बाहेक शिक्षा, सैन्य प्रशिक्षण, इन्जिनियरिङ डिजाइन, रोबोटिक्स, सपिङ तथा चिकित्सा आदि क्षेत्रमा समेत गरिन्छ । गुगल प्ले स्टोरमा यससम्बन्धी धेरै एप्लिकेसन उपलब्ध छन् ।
९० को दशकमा लोकप्रिय थियो पोकेमन
सन् १९९० मा सतोशी ताजिरीले पोकेमनको कन्सेप्ट प्रस्तुत गरेका थिए । ताजिरी उडाएको चंगा समात्न र गेम खेल्न निकै रुचाउँथे । उनले यही गेम र चंगा समात्ने कुरालाई मिलाएर पोकेमनको कन्सेप्ट प्रस्तुत गरेका थिए । सन् ९० को दशकमा यो गेम धेरैले खेल्थे र त्यतिबेला प्रचलित भिडियो गेमको नयाँ संस्करण नै अहिलेको पोकेमन गो हो ।