साप्ताहिक संवाददाता
देशभर दसैंको रौनक चलिरहँदा शिल्पी थिएटरका नाट्यकर्मी घिमिरे युवराज दसैंको टीका लगाइसकेपछि कलाकारको एक समूह लिएर नेपालको पूर्वदेखि पश्चिमसम्मको यात्रामा निस्किए । ब्राजिलका कहलिएका नाटक निर्देशक अगस्टो बोआलद्वारा करिब ५० वर्षदेखि अभ्यासमा ल्याइएको ‘फोरम थिएटर’को अवधारणालाई अघि सार्दै युवराजको टोली झन्डै एक महिना नेपाल यात्रामा रह्यो । आरोहण गुरुकुल तथा एमएस नेपाल नामक संस्था मिलेर १९ वर्षअघि नेपाल भित्र्याइएको ‘फोरम थिएटर’को अवधारणालाई युवराजको टोलीले सुर्खेत, दैलेख, जाजरकोट, रोल्पा, बर्दिया, महेन्द्रनगर, सुनसरी तथा मोरङमा नाटक ‘कल्पना र उर्मिला दु:खमा छन्’ मा प्रस्तुत गर्यो । पूर्वको मोरङमा आगामी कात्तिक २४ गते नाटक मञ्चनपछि उनीहरूको यात्राको समापन हुनेछ ।
निर्देशक युवराज यो नाटक तीन कारणले दर्शकका लागि महत्वपूर्ण रहेको दाबी गर्छन् । ‘यो नाटकमा घरेलु हिंसा, बालविवाहका साथै जाँडरक्सी एवं जुवातासको समस्या देखाएका छौं । समुदायमा व्याप्त यी समस्यालाई समुदायकै अगाडि देखाएर समुदायबाटै समाधानका लागि पहल गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो’, युवराज भन्छन्, ‘नाटकको मञ्चनपछि दर्शक, निर्वाचित जनप्रतिनिधि तथा प्रहरी– प्रशासनबीच नाटकका विषयमा बहस गर्छौं । नाटकमा देखाइएका समस्यालाई जनप्रतिनिधि एवं प्रहरीले कसरी समाधान गर्न सक्छन् भन्ने विषयमा छलफल चलाउँछौं ।’
हामी पहाड र तराईका भित्री स्थानमा गैरहेका छौं । त्यहाँका दर्शकका लागि नाटक हेर्नु आफैंमा मनोरन्जन कुरा हो’, घिमिरेले बताए, ‘त्यसबाहेक पनि नाटक हेर्न आएका दर्शकहरू बोल्ने गरेका छन् । जस्तै बालविवाहकै विषयमा १५ वर्ष, १६ वर्षमा विवाह भएका, बच्चाबच्ची भएका महिलाहरू मायाप्रेमको लहैलहैमा लागेर बिहे गरियो, अहिले दु:ख पाइयो भनेर आफ्नो व्यथा सेयर गर्छन् । धेरैको मागी होइन, भागी बिहे भएको रहेछ ती ठाउँमा । स्कुल पढ्दा मन पराएर विवाह गरेका रहेछन् । विवाह गरेपछि श्रीमान् विदेश जाने, चार पाँच वर्षपछि घर फर्कंदा आपसी दूरीका कारण सम्बन्ध बिग्रिएका घटनाहरू पीडितहरूले बताएका छन् ।’
युवराजका अनुसार बर्दियामा ‘भल्भन्सा’ बस्दो रहेछ । परम्परागत रूपमा बस्दै आएको समुदायले सिर्जना गरेको निर्णय गर्ने समूह रहेछ । यो सरकारी निकाय होइन । ‘अहिले पनि कतिपय समस्या भल्भन्साले नै मिलाइदिँदो रहेछ । बलात्कार, घरेलु हिंसा, कुटपिटजस्ता कुरामा प्रहरीले चासो दिँदो रहेछ, तर स–साना कुरामा चाहिँ भल्भन्सा नै प्रयोग हुँदोरहेछ । यो विषयमा पनि बहस भयो’, युवराजले भने । एउटा जिल्लाका चार स्थानमा नाटक देखाइने भए पनि रोल्पामा भने पाँच स्थानमा नाटक देखाइएको उनले बताए ।
युवराजका अनुसार नाटक ‘कल्पना र उर्मिला दु:खमा छन्’ मा विवाह गरेको केही महिनामै बिदेसिएका हर्कबहादुर दुई वर्षसम्म नफर्कंदा उनकी श्रीमती कल्पना गाउँमा कसरी बसेकी छिन् ? अभावमा बाँचेकी कल्पनालाई खाना, नाना र बस्ने घरले मात्र पुग्छ कि उनलाई लोग्ने पनि चाहिन्छ ? विदेशमा दु:ख खेपिरहेका हर्कलाई आफ्नो गाउँ, बाबुआमा र श्रीमती छोडेर वर्षौं टाढा बस्दा कस्तो भैरहेको होला ?
छोराछोरीको सम्झना कति आउला ? श्रीमतीका बारेमा उनी के सोच्दा हुन् ? श्रीमान् श्रीमतीबीचको शंका कसरी कम गर्ने ? बिदेसिएका लोग्नेमानिसका श्रीमतीहरूलाई कति सहज–असहज छ गाउँघरमा ? के छोरीहरूले पढ्ने चाहना राखे भने पढ्न पाउँछन् ? स्कुलमा पढ्दापढ्दै किन बालविवाह गर्छन् किशोरकिशोरीहरू ? १६ वर्षकी उर्मिला १७ वर्षको गोपुसँग किन भागेर गई ? सानै उमेरमा विवाह
गर्दा वा बच्चा जन्माउँदा के–कस्ता समस्या आइलाग्छन् ? जस्ता कुरा देखाइएका छन् ।
यो नाटकमा मञ्जु श्रेष्ठ, पवित्रा खड्का, संगीता उराव, स्मारिका फूयाल, नम्रता अर्याल, सविन कट्टेल, झकेन्द्र बीसी, मानहाङ लावती, रविन परियार, गोविन्द ओली, ज्याक बराल तथा हिमाल भुजेलको अभिनय छ ।