साप्ताहिक संवाददाता
भारतको नयाँ दिल्लीमा सोमबारदेखि प्रारम्भ भएको भारत रंग महोत्सव थिएटर फेस्टिवल—२०२० मा नेपाली नाटक ‘कुमारी एण्ड द बिस्ट’ मञ्चन भएको छ ।
काठमाडौंको सुशीला आर्ट एकेडेमीले उक्त नाटक मञ्चन गरेको हो । महोत्सवमा योसहित मण्डला थिएटरको नाटक ‘महाभोज’ पनि प्रदर्शन हुनेछ ।
नयाँ दिल्लीस्थित नेशनल स्कुल अफ ड्रामामा आयोजना भैरहेको नाटक महोत्सवमा नेपालसहित विभिन्न देशका १० वटा नाटकहरु प्रदर्शन भैरहेका छन् ।
‘कुमारी एण्ड द द बिस्ट’ नाटक काठमाडौंमा सन् २०१८ को अक्टोबरमा मञ्चन गरिएको थियो । यो नाटक जीवित देवी कुमारी तथा कुमारी प्रथासाग सम्बन्धित छ ।
‘महाभोज नाटकलाई पनि यसअघि मण्डला थिएटरले काठमाडौंमा मञ्चन गरिसकेको छ । ‘कुमारी एण्ड द द बिस्ट’ नाटक ‘नेपाली अध्यात्मजगतको इतिहास’ पुस्तकबाट निकालिएको कथामा आधारित रहेको छ । उक्त पुस्तक महेश्वर जुजु राजोपाध्यायले लेखेका हुन् ।
यो नाटकको लेखन तथा निर्देशन कविता श्रीनिवासनले गरेकी हुन् । उक्त नाटकमा अभिनय गर्नका लागि सुशीला आर्ट्स एकेडेमीका कलाकारहरु गत आईतबार दिल्ली पुगेका थिए । यही नाटकलाई भारतकै सिलोङमा भने बुधवार मञ्चन गरिएको सुशीला आर्ट्स एकेडेमीकी निर्देशक युलिया कोइरालाले बताएकी छिन् ।