रंगकर्मी अनुप बराल यतिबेला आफनै गृहनगर पोखरामा छन् । सरकारले गरेको लक डाउनपछि उनी नदीपुरस्थित घरमै बसिरहेका छन् । त्यसअघि उनले पोखरामा नयाँ कलाकारलाई अभिनय सिकाइरहेका थिए । लकडाउनका कारण अहिले कार्यशाला रोकिएको छ ।
कोरोना संक्रमण हुने खतरालाई मध्यनजर गरेर सरकारले लकडाउनको अवधि थप गरेको छ । त्यसैले कहिलेबाट कार्यशाला सुरु हुने हो निश्चित छैन । लकडाउनको समयमा घरमा बसिरहँदा आफ्नो कामको भन्दा पनि उनलाई दैनिक मजदुरी गरेर छाक टार्नेहरूको चिन्ता लाग्न थालेको छ । ‘घरमा बसिराख्दा थुप्रै कुरा मनमा खेल्दा रहेछन्, विशेष गरेर दैनिक ज्यालामा काम गरेर जीवन धानेकाहरूको लागि आउने समयमा झन् कति गाह्रो होला, यसको समाधान कसरी गर्ने होला ?’ उनी प्रश्न गर्छन् ।
त्यतिमात्र नभएर लकडाउनको समयमा बिरामी परे के गर्ने भन्ने चिन्ता लाग्छ उनलाई । उनी भन्छन्–‘कुनै व्यक्ति लकडाउनको बेलामा बिरामी परे तिनको उपचार गर्न कसरी लैजाने यस्ता कुरा सोच्दा कहाली लाग्छ ।’
उनले लकडाउनको समयको सदुपयोग भने घरमा नै बसेर गरिरहेका छन् । हरेक बिहान आधा घन्टा जति योगासन र प्रणायाम गर्छन् । त्यसपछि घरको कम्पाउन्डको सरसफाइ र गोडमेल तिर व्यस्त हुन्छन् । यसो गर्दा प्रकृतिलाई अलग तरिकाले महसुस गर्न सकिने उनको अनुभव छ । ‘बर्षौदेखि गर्न छोडिएको काम हो यो, दिउँसोको समय सृजनात्मक होस् जस्तो लाग्छ,’ उनले भने ।
उनी दिउँसो कहिल्यै सुत्दैनन् । किताबहरु पढने गर्छन्, केही विचार आएछ भने त्यसलाई टिप्ने उनको बानी छ ।
‘एक दुई बर्षअघि किनेका किताबहरू उत्तिकै थाती थिए । अहिले यो समय पढने अवसर भएको छ । अहिले पढिरहेकोमध्येका एउटा किताबचाहिँ साच्चै मजा आयो पढ्न– केन डेन्सीजर र जेफ रशले संयुक्त रूपमा लेखेको अल्टरनेटिभ स्क्रिप्ट र्राटिड्ग ।’ उनले सुनाए ।
उनले घरमानै नियमित चलचित्र पनि हेरिरहेका छन् । जीवनसाथी दिया मास्केसँग बसेर हरेक साँझ एउटा चलचित्र हेर्ने गरेका छन् । नेटफ्लिक्स सिरिजहरूका साथै ल्यापटप र हार्ड ड्राइभ राखेका चलचित्रहरु यो समयमा छानी–छानी हेर्ने गरेको उनले सुनाए । उनी दैनिक केही समय साथी–भाइ र आफन्तसँग फोनमा कुराकानी पनि गरिरहेका हुन्छन्, बाँकी सबै समय परिवार सँग नै बिताउँछन् । यस अलावा उनले दिनको दुई पटक समाचारमा अपडेट हुन्छन् । ‘अनावश्यक र वाहिहात न्युज, बिशेष गरेर सोसल नेटवर्कका न्युज त अभोइड नै गर्छु । यस्ता न्युजले मानिस लाई अहिलेको बेलामा नेगेटिभीटी र त्रासको भावना खडा गर्नु बाहेक केहि गर्दैनन्’, उनले भने ।