१७ वर्षदेखि अनवरत बिरामीको सेवा । सरुवा रोगबारे जनचेतना । अनुसन्धानप्रतिको उल्कै मोह । यही विशेषताका कारण सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन अलग परिचयसहितका चिकित्सकमा गनिन्छन् । उनी अधिकांश समय बिरामी हेर्छन्, बाँकी समय अनुसन्धान गर्छन्, बोल्छन्, लेख्छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. पुन विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड—१९ रोगको क्लिनिकल उपचार तथा सचेतना दुवैका ‘फ्रन्टलाइनर’ हुन् । कोभिड—१९ मात्रै होइन, सबैजसो सरुवा रोग विश्वमा देखिँदा नेपालमा खबरदारी गर्ने र नेपालमा आउटब्रेक हुँदा अग्रमोर्चामा रहेर उपचार र जनचेतना फैलाउनमा उनी डट्छन् ।
बाग्लुङको गलकोटमा सन् १९७५ मा मध्यवर्गीय परिवारमा जन्मिएका हुन्, डा. पुन । बुवा हरिलाल पुन ब्रिटिस लाहुरे थिए । त्यही कारण उनी आमा इन्द्रकली पुन र बहिनीसित हङकङ पुगे । उनको बाल्यकालको अधिकांश समय हङकङमा बित्यो । त्यहीबाट उनले कक्षा ४ सम्मको अध्ययन पूरा गरे । हङकङको बाल्यकालका सम्झना अहिले पनि उनको सम्झनामा मधुरो गरी बयेली खेल्छन् । ‘हङकङ मिनी नेपालजस्तै थियो, साथीसंगी धेरैजसो नेपालका धेरैतिरका थिए,’ उनी सम्झन्छन्, ‘मलाई खेलमा एकदमै चाख थियो । पढाइमा म जहिल्यै टप हुन्थे । स्वीमिङमा त मेडल पनि जितेको थिएँ ।’ ह्यान्ड राइटिङ, स्पेलिङका प्रतिस्पर्धामा पनि उनी अब्बल थिएँ । डा. पुन जे काम गर्थे, त्यसमा शतप्रतिशत इफोर्ट दिन्थे । परिणाम, उनी सबैमा पहिलो हुन्थे ।
परदेशी भूमिमा १० वर्ष बिताएपछि डा. पुन काठमाडौं फर्किए । उनका बुवाले कीर्तिपुरको ल्याब्रोटरी उच्च माध्यमिक विद्यालयमा बोर्डस गरिदिए । स्कुलमा पढाइसँगसँगै अतिरिक्त क्रियाकलापमा पनि उनी उत्तिकै रुचि राख्थे । ‘स्कुलमा पढाइ र खेलकूदमा बढी समय बित्थ्यो । बोर्डस भएकाले होस्टेलमा बस्थे, साथीहरू पूर्वपश्चिमका थिएँ,’ उनी सम्झन्छन्, ‘फुटबल, बास्केटबल खेल्थेँ ।’ स्कुलमा उनी इतिहास विषय सबैभन्दा बढी मन पराउँथे । एस्ट्रोलोजी उनलाई मन पर्ने अर्को विषय थियो । विज्ञान र सामाजिकमा पनि उनको रुचि थियो ।
केही समयपछि उनका बुवाले जावलाखेलमा घर बनाए । शेरबहादुरको बसाइँ त्यही हुन थाल्यो । त्यतिबेला काठमाडौं उपत्यकाका फाँटहरूमा लहलह धान झुल्थ्यो । धान झुलेको मनमोहक दृश्य अझै पनि उनको आँखामा नाच्छ । ‘धान र गहुँले फाँटहरू ढाकिन्थ्यो । हामी कहिलेकाहीँ घुम्न पनि जान्थ्यौं,’ उनी त्यो समयको काठमाडौंको वर्णन गर्छन्, ‘हेर्दाहेर्दै अहिले त यो क्रंक्रिटको जंगलजस्तो भइसक्यो । यसो हेर्छु दायाँ फर्कदा घर छ, बायाँ फर्कदा पनि घर ।’
डा. पुनले ल्याब्रोटरी उच्च माध्यमिक विद्यालयबाट अध्ययन सकेपछि सन् १९९२–१९९३ मा रुसमा बेलायत सरकारको छात्रवृत्तिमा चिकित्सा विज्ञान पढ्न गए । भन्छन्, ‘इतिहास चाख लाग्ने कुरा रहेछ, तर, मेरो करिअर चिकित्सामा रहेछ ।’ सेन्ट पिटर्सवर्ग स्टेट पेड्रियाटिक एकेडेमीमा उनले चिकित्सा अध्ययन गर्न थाले । भाषासहित ७ वर्ष रुसमा बिताउँदा डा. पुनको हातमा एमडीको बलियो सटिर्फिकेट प-यो । ‘सन् ९९–२००० को सेसनमा एमडी सक्काएपछि नेपाल फर्किएँ,’ उनी भन्छन् । आखिर किन फर्किए उनी ? के विकसित रुसले लोभ्याएन ? भन्छन्, ‘मलाई थाहा छैन, खै किन मलाई नेपाल नै प्यारो लाग्छ । त्यहाँको प्रणाली विकसित भएपनि त्यहाँ पढेपछि नेपाल फर्केर केही न केही गर्नुपर्छ भन्ने मनभित्र हमेशा हुटहुटी हुन्थ्यो । त्यसैले नेपाल फर्कायो ।’ हुन त युरोपियन समृद्ध देश रुसमा के थिएन, स्वच्छ, सफा र हराभरा वातावरण । विकसित सिस्टम, मानिसहरू पनि एकदमै दयालु थिए । ‘त्यहाँ मैले सुनौलो समय व्यतित गरेँ,’ डा. पुन रुस डायरी पल्टाउन थाले, ‘मलाई ७ वर्षको बसाइँमा रुसले मिहिनेत गर्न सिकायो, आफै मिहिनेत गर्न उत्प्रेरित ग-यो ।’ आफ्नो काम आफैले गर्नुपर्ने भावनाले नै रुस विकास भएको अनुभव उनी सुनाउँछन् ।
पढाइ सकेर शेरबहादुर नेपाल फर्किनुको मुख्य कारण नेपालप्रेम त थियो नै । अर्को कारण थियो— त्यस बेला नेपालमा हुने चिकित्सकहरूको कमी (यो समस्या अहिले पनि झण्डै उस्तै छ) । डा. पुनले सोचे, पढेपछि हामीले स्वदेश फर्केर केही गर्नुपर्छ । रुसबाट फर्केपछि उनले काठमाडौंका विभिन्न अस्पतालमा इन्टर्नसिपमा एक वर्ष बिताए । त्यो एक वर्षमा बंगलादेश, चीन, फिलिपिन्स तथा नेपाललगायतबाट एमबीबीए पढेर आएकाहरूबीच एकअर्काले सिकेको अनुभव साटासाट गर्ने अवसर बनेको उनी बताउँछन् । ‘त्यो पनि मेरो लागि निकै रमाइलो समय थियो,’ उनी भन्छन्, ‘सबै विषय हामीले छुनुपथ्र्यो ।’
एक वर्ष इन्टर्न गरेपछि लाइसेन्स पाए । सन् २००२ मा काम गर्न उनलाई भाग्यले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डो-यायो । उनी मेडिकल अफिसरका रूपमा टेकुमा काम गर्न थाले । त्यो बेलामा टेकुमा निकै धेरै बिरामी हुन्थे— झाडापखाला, जन्डिस, जापनिज इन्सेफ्लाइटिसदेखि कालाजारसम्मका । ‘हुलका हुल बिरामी हुन्थे,’ उनी सम्झन्छन्, ‘म त त्यो हुँल देखेरै छक्क पर्थेँ । तराईबाट पनि कालाजारका बिरामी टेकु आउँथे ।’ त्यो बेला नेपालमा सरुवा रोगका उल्लेख्य बिरामी थिए, यसले थुप्रै मान्छेकोे ज्यान लिइरहेको उनले देखे । त्यो दृश्यले उनको सोच नै परिवर्तन गरिदियो । ‘त्यो नै मेरो जीवनको टर्निङ प्वाइन्ट हो,’ डा. पुन भन्छन्, ‘भविष्यमा सरुवा रोगमै काम गर्छु भनेर निर्णय लिएँ ।’ ती बिरामीको सेवामा खट्दा—खट्दै डा. पुनमा सरुवा रोगप्रति विशेष अनुराग विकसित भयो ।
टेकु अस्पतालमै कार्यरत रहँदा डा. पुनले सन् २००४ मा जापान सरकारको छात्रवृत्ति पाए । टेकुमा हुने बिरामीको उच्च चाप र फिल्ड अहोरात्र खटिने चिकित्सक छात्रवृत्तिमा पढ्न जाँदा अस्पतालको सेवामा असर पर्ने देखेपछि उनलाई जापान नजान आग्रह गरियो । तर, डा. पुन सरुवा रोगमाथिको आफ्नो विशेषताको दायरा बढाउन चाहन्थे । त्यस्तो अवसर उनका लागि दोस्रो पटक नआउन पनि सक्थ्यो । अन्ततः उनी इफेक्सनबारे अध्ययन गर्न जापान पुगे । ‘इफेक्सन भनिए पनि त्यसमा जेनेटिक एनालाइसिसदेखि इपिडिमियोलोजी अध्ययन हुँदोरहेछ,’ उनले सुनाए । नागासाकी युनिभर्सिटीमा ५ वर्ष बिताए । त्यो अवधिमा २—३ घण्टाभन्दा बढी सुतेको अनुभव उनीसँग छैन । ‘अध्ययनमै यति डुबें कि त्यो बेला जति मैले न कहिल्यै गरेको थिएँ, सायद न पछि कहिल्यै गरुँला,’ उनी भन्छन्, ‘जापनिजहरूको काम गराइको शैली नै त्यस्तै छ, उनीहरूसँग काँधमा काँध मिलाएर काम गरेँ ।’ सुरुका ५–६ महिना उनलाई काम गर्ने जापानी शैलीमा भिज्नै हम्मे प-यो । जब उनी भिजे, युनिभर्सिटीका डिन र प्राध्यापकहरू नै उनको मेहनतको प्रशंसा गर्न थाले ।
अध्ययनमा रहँदा डा. पुन राति २–३ बजे विभागबाट कोठामा फर्किन्थे, भोलिपल्ट फेरि ६–७ बजे विभागमा पुगिसकेका हुन्थे । त्यहाँ विभिन्न विषयमाथि अनुसन्धान, अध्ययन चलिरहेको हुन्थ्यो । अन्तरक्रिया र प्रयोगहरू भइरहेका हुन्थे । रोगको प्रकृति, फैलने तरिकालगायतमाथि गहन खोज हुन्थ्यो । अर्कोतिर पढाइ पनि चलिरहेकै हुन्थ्यो । ‘कतिबेला दिन भयो र रात प-यो भन्ने पनि थाहा हुन्थेन,’ उनी अहोरात्र काममा खट्ने जापानीबारे भन्छन्, ‘अवस्था यस्तोसम्म थियो, खाना खाएको पनि बिर्सन्थे । राति घर आइपुग्दा केही खाएँ कि खाइनँ भन्ने हुन्थ्यो ।’ मासिक १७–१८ सय युएस डलर पाउँथे, त्यो मनग्य पैसा हुन्थ्यो ।
जापानमा इन्फेक्सनमा पिएचडी सकेपछि डा. पुन नेपाल फर्किने तयारी गर्न थाले । उनको कामप्रतिको लगाव र एजुकेशनल पफर्मेन्स देखेका इन्स्टिच्युट अफ ट्रपिकल मेडिसिनका डिन र प्राध्यापकहरू उनलाई त्यहीँ रोक्न चाहन्थे । डिनले त उनलाई प्रस्ताव नै राखे, ‘तिमीले आफ्नो विषयमा यति राम्रो काम ग-यौ । यतै बस, राम्रो अवसर दिन्छु ।’ तर, कहिले पढाइ सकिएला र नेपाल फर्कुंला भन्ने भोक पालेर बसिरहेका पुनका अगाडि त्यो अवसररूपी चकलेटले काम गरेन । उनी सन् २०१० मा नेपाल फर्किए । नेपाल फर्केर उनी पुनः टेकुमै काम गर्न थाले ।
नेपाल फर्केको केही समयपछि उनले जापानको शिक्षा मन्त्रालयबाट ‘पोस्ट डक्टरेट’ अध्ययनका लागि फेलोसिप पाए । उनका पढेकै कलेजका प्राध्याकहरूले नै आवेदन हालिदिएका रहेछन् । जापान सरकारको ‘जेएसपिएस’ फेलोसिप संसारकै उत्कृष्ट फेलोसिप मानिन्छ । संसारका धेरैले मरिहत्ते गर्ने फेलोसिप डा. पुन भने अस्वीकार गरिदिए । उत्कृष्ट फेलोसिप नै अस्वीकार गरिदिएपछि उनका लागि अप्लाई गरिदिने प्राध्यापकले लेखे, ‘यो छात्रवृत्तिको सबैभन्दा लाजमर्दो घटना भयो’ । मैले कहिल्यैं सोचेको थिइनँ, तिमीले यसरी अस्वीकार गर्नेछौं भनेर । त्यो सही पनि थियो । किनभने, जुन फेलोसिप डा. पुनले अस्वीकार गरेका थिए, त्यही फेलोसिप पाउन युरोप र अमेरिकीहरूसमेत तँछाडमछाड गर्थे । डा. पुनलाई अहिले पनि कहिलेकाहीँ लाग्छ— मैले त्यो फेलोसिप अस्वीकार गरेर कतै गलत त गरिनँ ?
अनुसन्धान कर्म
सन् २०१० मा हैटीमा हैजा (कलेरा) महामारी देखियो । त्यसको दोष नेपाली सेनालाई लगाइयो । त्यही बेलामा नेपालमा पनि झाडापखाला देखिएका कारण नेपाली सेनामाथि उनीहरूले हैजा फैलाएको भन्दै औँला ठड्याइरहेका थिए । विदेशीहरूले नेपाली सेनामाथि दोषारोपण गरिरहेका थिए । डा. पुनले त्यसको गहन अनुसन्धानपश्चात खण्डनमात्रै गरेनन्, त्यो झुटो हो भनेर स्थापित नै गरेर छाडे । ‘बाँकी विश्वले नेपाली सेनामाथि औँलो उठाइरहेका बेला मैले विभिन्न जर्नलहरूमा लेखेर उत्तर दिएँ, विश्वका लगभग सबै वैज्ञानिकहरूले नेपाल लक्षित अनुसन्धानहरू प्रकाशित गर्थे, मैले उत्तर दिन्थें,’ उनी सुनाउँछन् । अवस्था यस्तो थियो, विश्वका वैज्ञानिकहरू एकातिर थिए, डा. पुन भने अर्कातिर । सारा संसारले हैटी हैजाको कारण नेपाल भन्थे, तर पुन एक्लैले होइन भनेर निरन्तर वकालत गरिरहे । परिणामपछि उक्त कलेरा नेपाली सेनाबाट नफैलिएको कुरा स्थापित हुन गयो । डा. पुन नेपाली सेनामाथि लागेको आरोप आफूले बौद्धिक सेना बनेर प्रतिवाद गरेको बताउँछन् । त्यही बेला डा. पुन संसारभरिका वैज्ञानिकहरूमाझ चिनिए ।
डा. पुन अहिले टेकु अस्पतालका चिफ मेडिकल अफिसर हुन् । उनको मुख्य काम रिसर्च नै हो । डा. पुन र उनका साथीहरू मिलेर सन् २०१० मा यो रिसर्च युनिट स्थापना गरेका हुन् । सरोज राजेन्द्र टेकु अस्पतालको निर्देशक हुँदा त्यो रिसर्च युनिट स्थापना भएको हो । अहिलेसम्म यसले कालाजार, चिकेनगुनिया, मलेरिया, डेंगु, एचवानएनवान स्वाइनफ्लूलगायत सरुवा रोगको ‘चलायमान ट्रेन्ड’का विषयमा धेरै अनुसन्धानहरू गरेको छ । ‘सन् २०११ पछि धेरै सरुवा रोगलाई नजिकबाट हेर्ने अवसर मैले पाएँ,’ डा. पुन भन्छन् ।
पानीको जारमा कोलिफर्म हुने कुरा सबैभन्दा पहिले उनले नै उठाएका थिए । ‘मैले जहिल्यै पनि बाटो देखाउने काम गर्छु, सुरुमा ताली होइन, गाली नै पाउँछु । किनभने, नौलो कुरा गर्दाखेरि अपत्यारिलो नै हुन्छ,’ उनी भन्छन्, ‘प्रमाणित हुदै जान समय लाग्छ, त्यो बेलासम्म म धैर्य गर्छु ।’
डा. पुन दिनभरि बिरामी हेरेपछि साँझ बिरामीहरूमा देखिएका लक्षणहरूको एनालाइसिस गर्छन् । लक्षणहरू कस्ता देखिँदैछन्, कुनै नयाँ रोग आउँला कि ? आइहालेमा के गर्न सकिएला ? विदेशमा कतै सरुवा रोग देखिएमा नेपालीलाई कसरी सचेत गराउने ? जस्ता कुराहरूमा घोत्लिन्छन् । अनि, मासमा जाने गरी सचेतनाका लागि कलम चलाउँछन्, विभिन्न अखबार र अनलाइनहरूमा लेखहरू लेख्छन्, टेलिभिजन र रेडियोहरूमा बोल्छन् ।
‘ठूलो स्केलमा क्षति नपुगोस्, सबै मानिसहरू सचेत भएर आफ्नो सुरक्षा गर्न सकुन् भन्ने मेरो ध्येय हुन्छ,’ उनी सुनाउँछन्, ‘सरुवा रोग सुगर, प्रेसरजस्तो होइन, आएपछि ह्वार्र आउँछ । त्यतिबेलासम्म एक—एक काउन्सिलिङ गरेर साध्यै छैन । त्यसकारण मिडियामार्फत् एकै पटक सबैलाई भन्दा सहज हुँदोरहेछ ।’ उनी लेखेर वा बोलेर सन्देश फैलाउँदा त्यसको फाइदा एकै पटक ठूलो संख्यालाई पुग्न जाने तर्क गर्छन् ।
टेकु अस्पताल दक्षिण एसियाकै सरुवा रोगको अनुसन्धान हब बनेको हेर्ने उनको रहर छ । रहर कि सपना ? ‘सपना पनि हो,’ उनी भन्छन्, ‘दक्षिण एसियामात्रै होइन, युरोप, अमेरिकासम्मका वैज्ञानिकहरू आएर केही कुरा सिकेर जाने अवस्था सिर्जना होस्,’ उनी सपना सुनाउँछन्, ‘अहिले यो एउटा सपनाजस्तै छ, कोही हाँस्लान् पनि । तर, असम्भव छैन ।’ नेपालकाजस्तो तीनथरि हावापानी चिसो, मध्यम र गर्मी एकै देशमा पाइन मुस्किल पर्छ । त्यसैले नेपालमा अनुसन्धान केन्द्र बनाउने सकिने सम्भावनायुक्त देश भएको उनी मान्छन् ।
कहिलेकाही विभिन्न देशहरूबाट अनुसन्धानकर्ता, प्रोफेसर भेट्न आइरहेका हुन्छन्, उनीसँग कुराकानी गर्छन् । कतिले इमेल लेख्छन्, कोही उनको ज्ञानको तारिफमा म्यासेज पठाइरहेका हुन्छन् । अमेरिकाको सिडिसी, जुन वैज्ञानिकहरूको सपनाको ठाउँ हो । एकपटक त्यहाँबाट दुई जना वैज्ञानिक उनलाई भेट्न आइपुगेका थिए । टेकु अस्पतालको कार्यकक्षमै उनले आफ्नो काम गर्ने शैली सुनाए । उनीहरूले एकअर्कालाई हेरे । एकजनाले भने, ‘डन्ट यु थिंक दिस म्यान सुड वी इन द सिडिसी ।’
एकछिन ट्वाल्ल परेर हेरेपछि अर्कोले थप्यो, ‘आ र यु स्याटिसफाइड ?’ डा. पुनले एक सेकेन्ड पनि नपर्खी जवाफ दिए, ‘एस आइ एम स्याटिसफाइड । ह्वाई नट ?’ अनुसन्धानमा रुचि राख्ने डा. पुन रिसर्चबाट कति कमाउँछन् ? भन्छन्, ‘रिसर्च प्राज्ञिक क्षेत्र हो र यसमा आर्थिक लाभ भन्ने हुँदैन ।’
भद्र शैली, डटिरहने बानी
सामान्य जीवनशैली र भद्र स्वभावका डा. पुन अहिले जावलाखेलमा बस्छन् । उनी बस्ने घर पनि बुवाआमाले बनाएका हुन् । बिहानै ५ बजे उठिसक्ने उनी केही समय पिटी र सामान्य एक्सर्साइज गर्छन् । त्यसपछि ब्रेकफास्ट लिन्छन् । बिहान ब्रेकफास्ट सकेको केहीबेरमै खाना खाने टाइम भइसक्छ । उनी ९ बजेसम्म अस्पताल पुगिसक्नुपर्ने हुन्छ । अस्पतालमा पुगेपछि बिरामी हेर्छन् ।
उनको पहिरन र खानपान पनि सामान्य छ । रेस्टुरेन्ट पनि जाँदैनन् । घरमै जे पाक्यो, त्यही खान्छन्, कहिल्यै खानामा कम्प्लेन गर्दैनन् । सधैँजसो सर्ट पाइन्टमा हुन्छन् । गाडी नहुँदा उनी हिँड्दै अस्पताल पुग्थे । अहिले बाध्यताले गाडी चढ्नुपरेको बताउने उनको गाडी पनि बुवाआमाले किनिदिएका हुन् । बुवाआमालाई भगवान् ठान्ने उनी आफूलाई ‘उहाँहरूले नै सबै कुरा पु-याइदिएको’ बताउँछन् ।
चार वर्षअघि डा. सुनिता पुनसँग उनले विवाह गरे । ‘भेटभाट भएपछि लभ प¥यो भनौं न, एरेन्जजस्तो पनि हो । लभ एरेन्ज दुइटै,’ यी ४५ वर्षीय चिकित्सक वैवाहिक किस्सा सुनाउँछन् । कमलो मन भएका उनी एकदमै सेन्टिमेन्टल छन् । रेबिज लागेको मान्छे मर्दा उनी कयौं पटक धरधरी रोएका छन् । जनावरलाई एकदमै माया गर्छन्, त्यसैले मासु खाँदैनन् । फुर्सद अधिकांश समय उनको अध्ययन अनुसन्धानमै बित्छ । लेख्छन्, संसारभरिका अनुसन्धान लेखहरू रिभ्यु गर्छन् । ‘तपाईं आफ्नो काममा इन्जोय गरिरहनुभएको छ भने काम गरिरहेको पत्तै हुँदोरहेनछ,’ उनी भन्छन् ।
डा. पुनको जीवनमा थकाइ भन्ने शब्द छैन, कर्ममा तल्लीन रहने उनलाई फलको आशा भने छैन । न पद, न पैसा । उनी गीताको सार सुनाउँछन्, ‘कर्म गर, फल प्राप्तिको आशा नगर ।’ न उनलाई धेरै पैसा कमाउने इच्छा छ, न कुनै ठूलो पद चाहिएको छ । निरन्तर आफ्नो बाटोमा हिँडिरहनुपर्छ भन्ने भावना राख्ने उनी लगाव र धैर्यताले लक्ष्यमा पु-याउनेमा विश्वास गर्छन् । ‘बाधा—व्यवधानलाई पार गर्दै कर्तव्यपथमा हिँडिरहनुपर्छ,’ उनी भन्छन् । उनी बँचेको थोरै समयमा मोटिभेसनल सम्भाषणहरू सुन्छन्, निराशाले काममा बाधा पु-याउने भएकाले उनी नकारात्मक चीजहरूलाई ‘एभोइड’ गर्छन् । डा. पुनलाई बुवाआमा र श्रीमतीले सँधै पोजेटिभ भाइब दिन्छन् । नेलसन मन्डेला, अब्राहम लिंकनजस्ता व्यक्तिबाट प्रेरणा लिन्छन् । पाकिस्तानी ‘आइरन लेडी’ मुनिबा मजारीलाई पनि पछ्याइरहन्छन् । प्रकृति र डाँडाकाँडाहरू रमणीयताले पनि उनलाई लोभ्याउँछ ।
कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिरहेका डा. पुनलाई के कुराले सबैभन्दा बढी आनन्द दिन्छ होला ? भन्छन्, ‘जब बिरामी खुशी भएर मलाई धन्यवाद दिन्छन्, जीवन रक्षा गरिदिएको भन्दै म्यासेज गर्छन्, जब बिरामी निको भएर हँसिलो अनुहारका साथ फर्किन्छन्, म औधी खुशी हुन्छु ।’ डा. पुनका लागि सबैभन्दा ठूलो सन्तुष्टीको प्रमुख खुराक नै त्यही हो ।
तस्विर: नवराज वाग्ले