कोरोना महामारीका कारण लकडाउन नहुुँदो हो त मीन भाम यतिखेर नयाँ फिल्म ‘चिसो वर्ष’को प्रि–प्रोडक्सनमा व्यस्त हुुन्थे । चार वर्ष लगाएर उनले यो फिल्मको स्क्रिप्ट सकाएका थिए । बहुुपति प्रथालाई पृष्ठभूूमिमा राखेर एउटा हिमाली गाउँको कथा भन्ने तयारीमा छन्, उनी । जहाँ हराएका आफन्तको खोजीमा निस्किएका दुुई पात्रको कथा छ । एक्कासी आइपुुगेको विश्वव्याधिका कारण आउँदो जनवरीसम्मका लागि उनले नयाँ फिल्मको सबै काम स्थगित गरेका छन् ।
काम अचानक रोक्नुपर्दा क्षति त हुने नै भयो । तर उनी धेरै चिन्तित छैनन् । उनको विश्वास छ, मान्छेका लागि सबैभन्दा ठूलो सिनेमा भनेकै उसको जीवन हो । ‘जीवनजत्तिकै सिनेमा अरु केही हुन सक्दैन,’ उनी शान्त सुुनिन्छन्, ‘पहिले आफू बाँचे अरुलाई बचाउन सकिएला । बाँकी सिनेमा या अरु काम त जुनीभरि गरौंला ।’
लकडाउनको केही दिनअघिसम्म मीन घरमै तरकारी र सागसब्जी रोप्न व्यस्त थिए । लकडाउनपछि भने उनको दैनिकी फेरिएको छ । एक महिनायता उनी साथीहरु पुकार बम, नम्रता श्रेष्ठ, कर्म, क्याप्टेन बिजय लामा, दीपक सापकोटालगायतसँग मिलेर धोबीघाटमा रहेको अगेनो रेस्टुरेन्टमा बेस क्याम्प बनाएर काठमाडौं भ्याली र तराईका केही जिल्लामा खाद्य सामाग्री वितरण गरिरहेका छन् । त्यहींबाट खाना पकाउँदै पाटन मानसिक अस्पताल, मनमोहन कार्डियो भास्कुलर लगायत विभिन्न अस्पताल, मठमन्दिर अनि पशुपति र भक्तपुरको मनहरामा पुुगेर खाना वितरण गरिरहेका छन्, ता कि कोही यो महामारीले सिर्जित परिस्थितिका कारण भोकै नमरोस् । यससँगै नियमित ६ घण्टा ध्यान त उनको ‘डेली सेड्युल’भित्रै परिहाल्छ ।
बहुराष्ट्रिय व्याधिले विश्वभरि सिनेमा क्षेत्रमा ठूलो धक्का पुु-याएको छ । पहिल्यैदेखि संकटमा रहेको नेपाली सिनेमा क्षेत्रमा यसको प्रभाव झन् ठूलो हुने देखिन्छ । यतिखेर समीक्षक र सिनेमाकर्मीको अनुुमान छ– कोरोना कहरपछि नेपाली सिनेमाको स्वरुपमा केही परिवर्तन आउला । मीन पनि त्यस्तै सोच्छन् । भन्छन्, ‘महामारीपछि थुप्रै देशका सिनेमाको स्वरुपमा धेरै नै परिवर्तन आउन सक्छ ।’
कर्णाली नेपालका सन्दर्भमा दुर्गम भेगको बिम्ब बनिसकेको शब्द हो । मीन जन्मे–हुर्केको त्यहीँ हो, कर्णालीको मुगुमा । र, देशभित्रैको त्यही दुर्गम–देशबाट आएर उनले देशबाहिरको दूरदेशसम्म आफ्नो परिचय विस्तार गरिसकेका छन् । पाँच वर्षअघि भामले निर्देशन गरेको ‘कालो पोथी’ सिनेमाले उनको परिचयलाई मात्रै होइन, नेपाली सिनेमालाई पनि अन्तराष्ट्रिय मञ्चमा चिनायो । यो सफलयात्राको पूर्वकथामा भामले कर्णालीदेखि काठमाडौंसम्म तय गरेको संघर्षपूर्ण बाटो छ, जो कम रोचक र कम प्रेरणादायी छैन ।
कर्णाली टुु काठमाडौं
०४२ सालमा मुुगुुमा जन्मिएका भामको बाल्यकालको परिवेश सिनेमामय थिएन । न, भविष्यमा सिनेमा बनाउने सपना देख्ने पारिवारिक वातावरण थियो । कहिलेकाहीँ फिल्म हेर्न मिल्थ्यो, त्यो नै कल्पना गर्न मिल्ने स–सानो झिल्को थियो । त्यही जराबाट उठेको एउटा ठिटो यतिबेला विश्वमाझ नेपाली सिनेमाको परिचय दिन कस्सिएको छ ।
नेपाल टेलिकममा सरकारी जागिरे थिए, उनका बुुबा जंगबहादुर भाम । मीन सानै छँदा जंगबहादुरले मुगुमा भिडियो हल खोलेका थिए । यसले गर्दा सानैदेखि उनले फिल्म हेर्ने अवसर पाए । भारतीय चर्चित अभिनेता अमिताभ बच्चन, धर्मेन्द्र, मिथुन चक्रवर्ती, नेपाली अभिनेता राजेश हमाल, भुवन केसीबाट प्रभावित उनका साथीहरु त्यस्तै हिरो बन्ने सपना सुनाउँथे । कपाल पाल्थे, नक्कल गर्थे । ‘मेरो दिमागमा भने यो हिरो–हिरोइनलाई गाइड गर्ने को होला भन्ने कुरा खेलिरहन्थ्यो,’ मीनले सम्झिए, ‘धेरैपछि थाहा पाएँ, त्यो मान्छे निर्देशक हुँदो रहेछ । फिल्म बनाउने मेरो भोक पहिलोपटक त्यहीबेला जागेको हो ।’
त्यसबेला कर्णालीमा फोन थिएन, आवा (आकाशवाणी) प्रचलनमा थियो । स्कुल बिदा हुुनासाथ मीन बुुबा कार्यरत टेलिकम कार्यालयमा जान्थे र गाउँलेहरुका आवा लेखिदिन्थे । ‘वृद्ध आमाबुबाले उनीहरुका इन्डिया गएका छोराहरूका लागि मलाई चिठी लेखिमाग्थे,’ मीन अझै सम्झन्छन्, ‘मान्छेहरूको प्रवृत्ति र व्यवहार बुझ्न त्यसले मलाई खुुब सहयोग ग-यो । मेरो लेखन यात्रा नै आवाबाट सुरु भयो । आवा लेख्दा अक्षर–अक्षरको हिसाब हुन्थ्यो । पूर्णविरामको पनि पैसा लाग्थ्यो । त्यसैले सकेसम्म छोटो–मीठो तरिकाले भन्न खोजेको कुरा अभिव्यक्त गर्नुपर्ने हुन्थ्यो ।’ यसकै माध्यमबाट अरुका कुरा अभिव्यक्त गर्ने सारथी भइदिए उनी ।
अभिव्यक्तिको रहर त उनमा पनि थियो । आवामार्फत होइन, सिनेमाको ठूूलो पर्दामार्फत । त्यो धोको बोकेर १५ वर्षको उमेरमा (एसएलसी जाँचपछि) उनी भागेर आए, काठमाडौं । ‘परिवारले फिल्ममा लाग्न दिँदैनन् भन्ने लागेर मैले यसरी भाग्न प्राक्टिस धेरै गरेको थिएँ । सुरुमा धेरै टाढा जान सकिनँ । चार घण्टा, एक दिनसम्मको बाटो भाग्थे, अनि फेरि फर्किन्थेँ,’ उनले सुुनाए । कक्षा ८ पढ्दादेखि भाग्नका लागि भनेर उनले पैसा जम्मा गर्न थालेका थिए । चाडपर्वमा पाएको र खाजा खर्च बटुलेर जम्मा भएको करिब १० हजार रुपैयाँसहित उनी भागेर सुुुरुमा नेपालगन्ज आए । दुई हप्तापछि काठमाडौं ।
नेपालगन्ज बस्ने उनकै गाउँका कर्मचारी भीम रोकायाले उनलाई भाग्न सहयोग गरे । मीन भीमसँगै बसे । सिनेमा हलको ठूलो पर्दामा केही सिनेमा हेरे । ‘शाहरुख र सलमानको ‘करण अर्जुन’ त्यतिबेला हिट भइरहेको थियो, त्यहीँ हेरेँ,’ मीन सम्झिन्छन् ।
काठमाडौंमा पनि मुुगुुकै एकजना चिनेका दाइसँग बसे । ती दाइ अस्कल क्याम्पसमा पढ्थे । ‘उहाँ अस्कलको आईएस्सी टपर, सबैले उहाँको कुरा सुन्थे । करिब दुुई तीन महिना नै अस्कलकै होस्टेलमा बस्न पाएँ,’ मीनले भने । पेशागत गोपनीयता भन्दै उनले ती दाइको नाम चाहिँ भन्दैनन् । ‘तर मेरो जीवनमा उहाँको साथ अर्थपूर्ण छ, म कहिल्यै बिर्सन्नँ,’ मीनले भने ।
काठमाडौं आएको एक महिनापछि उनी राष्ट्रिय नाचघरमा अभिनय सिक्न भर्ना भएँ । उता भागेर आएको केही दिनमै घरमा उनको ‘बदमासी’ थाहा भइहाल्यो । केही महिनामा एसएलसी रिजल्ट पनि आयो । र, अब परिवारको मन जित्न पनि मिहिनेतपूर्वक पढ्नुपर्ने भयो । ‘त्यसपछि मैले जीवनमा यति पढेँ कि पढ्ने कुरै सकियोजस्तो लाग्थ्यो,’ मीन भन्छन्, ‘घरको मान्छेका लागि कमर्स पढेँ, आफ्ना लागि नेपाली साहित्य पढेँ र निर्देशनका लागि फिल्म स्टडिज । स्नातकोत्तरमा राजनीतिशास्त्र र बौद्र्ध दर्शन पढे । ‘पढ्दापढ्दा पत्रिकामा आउने श्रद्धाञ्जली पनि नबिराई पढेको छु । पढ्न छाडेको दिन घरबाट पैसा आउने रोकिन्थ्यो, यसकारण औपचारिक रुपमा कलेज-युनिभर्सिटीका धेरैभन्दा धेरै विषय र कोर्सहरू पढेँ ,’ उनले भने ।
जीवनका घुुम्तीहरु
अध्ययनको भोक मीनलाई मुगुबाटै जागेको थियो । दार्जिलिङबाट मुगुमा पढाउन आएका सरहरुले केही साहित्य र कथाका किताबहरु पुरस्कार स्वरुप दिएका थिए, केही उनले चोरेर अध्ययन गरेका थिए । पहिलोपल्ट अंग्रेजी किताब अर्नेस्ट हेमिङ्वेको ‘द ओल्ड म्यान एन्ड द सी’ पढेका थिए उनले । दार्जिलिङे गुरुबाट त्यो किताब चोर्नुअघि उनले मागेका थिए । तर, सरले पत्याएनन् ।
‘हिमाली भेगमा जन्मेहुुर्केर होला, किताबको ‘सी’ अर्थात् समुन्द्र शब्दले मलाई तानेको थियो । त्यसैले सरको हातमा त्यो किताब देख्नासाथ मैले मागेको थिएँ,’ मीन सम्झन्छन्, ‘तर, उहाँले पढ्दैन भन्ठानेर होला दिनुुभएन । त्यही किताबका लागि मैले सरसँग ‘होम ट्युसन’ लिन गएँ र किताब पढिछाडेँ । एकै रातमा पढिभ्याएँ र भोलिपल्ट जहाँबाट चोरेको थिएँ, त्यहीँ लगेर सुुटुुक्क राखिदिएँ ।’ पछि दार्जिलिङ फर्कने बेला सरलाई आफूले चोरेर किताब पढेको कुरा मीनले सुुनाए । ‘सुुनेर सर भावुक हुुनुुभयो र जाने बेला मैले चोरेको त्यो किताबसहित थुप्रै अंग्रेजी किताब दिनुुभयो । त्यो मेरो जीवनमै एउटा मिठो पल हो,’ मीन ‘नोस्टाल्जिक’ हुुन्छन् ।
मुगुजस्तो दुर्गम ठाँउमा सिनेमा हेर्न पाउनुलाई मीन आफ्नो जीवनको दोश्रो घुुम्ती ठान्छन् । अमिताभ बच्चन, धर्मेन्द्र, मिथुन चक्रवर्ती, भुवन केसीका सिनेमा त्यो बेला उनले खुुब हेरे । हिन्दी ‘आखिरी गुुलाम’, ‘सोले’, नेपाली ‘पन्ध्र गते’, ‘के घर के डेरा’ मीनको यादमा रहेका त्यतिबेलाका सिनेमा हुुन् । तर, मीनले बनाएका सिनेमामा तिनको प्रभाव पाइँदैन । ‘म हुर्किदै गरेको समयमा मेरो पहुँच ती सिनेमामा थियो,’ मीन भन्छन्, ‘पछि त मलाई ल्याटिन अमेरिका, दक्षिण पूर्वी एसिया र संसारका अरु धेरै देशका सिनेमाप्रति अभिरुचि जाग्यो ।’
समय फेरिएसँगै मान्छेका रुचि फेरिन्छन् । केही सिर्जना र सर्जकले भने सधैंभरिका लागि मनमा छाप छाड्छन् । हलिउड अभिनेता डेनियल डे–लेविश, निर्देशक सटान्ली क्युब्रिक, साहित्यमा खलिल जिब्रान, फ्योदर दोस्तोएभ्स्की, संगीतमा जोन लेनन उनका लागि त्यस्तै सर्जक हुन् । दोस्तोएभ्स्कीको लेखन, दृश्य र पात्रहरुको वर्णनशैलीले उनलाई लोभ्याएको हो । ‘स–साना कुरालाई पनि उनी दार्शनिक शैलीमा वर्णन गरेको असाध्यै मनपर्छ,’ मीन भन्छन्, ‘मलाई उनका प्रायः पुुस्तक र पात्र मन पर्छन् । त्यसमा पनि ब्रदर्स कारमाजोभको इभान पात्र निकै मनपर्छ ।’
१५ वर्षमै गाउँ छाडेर काठमाडौंतिर भाग्नुलाई मीनले आफ्नो जीवनको तेश्रो महत्वपूर्ण घुुम्ती ठान्छन् । ‘मेरो मैले केही आर्जन गरेको छु भने त्यो सबै मेरो बाल्यकालका सम्झना, स्मृति, अभिलेख र सिनेमामार्फत आफ्नो मन लागेको कथा भन्ने हुटहुटी र संघर्षले नै सम्भव भएको हो,’ मीनले भने ।
‘कालोपोथी’को कथा
फिल्म बनाउने धोको बोकेर हिँडेको करिब १५ वर्षपछि मीनले पहिलो फिचर फिल्म बनाए– ‘कालोपोथी’ । बजारमा चलिरहेको शैलीभन्दा बिल्कुल फरक । पर्दामा विरलै आउने कर्णालीको जीवन र संस्कृति लिएर, आफ्नै कथा, आफ्नै भाषा लिएर । खासमा फिल्म पढ्दाताका उनले चारपाँचवटा स्क्रिप्ट लेखेका थिए । पहिलो बौद्ध दर्शनसँग सम्बन्धित थियो । दुई पटक स्क्रिप्ट फाइनल गरेपछि तेश्रोपल्टमा उनले बौद्ध दर्शन नपढी यो फिल्म बनाउन नसकिने निष्कर्षमा पुुगे । त्यसपछि उनी बौद्ध दर्शन पढ्न गए । दुई वर्षमा फिल्मको स्क्रिप्ट फाइनल गर्ने संकल्पसहित पढ्न गएका उनी पढ्न थालेपछि तत्काल यो फिल्म बनाउन नसक्ने निचोडमा पुुगे ।
‘अब कम्तीमा आठ वर्षअघि म यो फिल्म छुदिनँ भनेर त्यसलाई बन्द गरेँ,’ मीन भन्छन्, ‘चारवटा स्क्रिप्टलाई पालैपालो बन्द गर्नुका कारण कुनै बजेट धेरै चाहिने भयो, कुनैमा ‘टेक्निकल्ली’ निकै गाह्रो हुने अवस्था आयो । यसरी म अल्झिरहेको बेला अन्तिममा फुरेको कथा नै मेरो पहिलो फिल्म ‘कालो पोथी’ भयो ।’
‘कालोपोथी’ रिलिजअघिसम्म टिप्पणी गरे धेरैले– यस्तो फिल्म चल्दैन, हलले एक दिनमै उतार्दिन्छ । ‘म बिहेमा सबैले दौरा सुरुवाल लगायो भनेर त्यस्तै लगाउनेमा पर्दिनँ,’ उनी भन्छन्, ‘हामी खानामा मसला राख्दा पल्लो घरकोलाई बास्ना मन पर्ला कि नाइँ भनेर सोच्छौँ त ? सोच्दैनौँ । जे मन पर्छ त्यही हाल्छौँ । हो, मैले पनि मलाई मन परेको कुरा गर्नु थियो । त्यसैले त्यही गरेँ ।’
अन्तर्राष्ट्रिय स्तरमा नेपाली फिल्मको पहिचान र बजार कमजोर रहेका बेला विश्वकै प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलमा स्क्रिनिङ हुुने यो पहिलो नेपाली फिल्म भयो । त्यहाँ क्रिटिक्स विकमा यो फिल्मले उत्कृष्ट फिल्मको अवार्ड समेत पायो । नेपालका तर्फबाट अस्कर अवार्डमा पनि यही फिल्म छनौट भयो । यस्तै अन्य थुुप्रै फिल्म फेस्टिभलहरुमा यो फिल्म प्रशंसित र पुुरस्कृत भयो ।
कालोपोथी माओवादी सशस्त्र द्वन्द्वको पृष्ठभूूमिमा कथित तल्लो र उपल्लो जातका दुुई बालकको कथामा केन्द्रित थियो । फिल्ममा निर्देशक भामले युुद्धसँग सरोकार नराख्ने दुुई पात्रको आँखाबाट सशस्त्र द्वन्द्वलाई देखाउन खोजेका छन् । मुुगुुको स्थानीय खस भाषा, लोकेसन र स्थानीय कलाकारको प्रयोगका कारण यो फिल्मले दिएको स्वाद मौलिक मानियो । यो फिल्मले नेपाली हलमा समेत राम्रै व्यापार ग-यो ।
डेब्यू फिल्ममै उनले स्थानीयलाई कलाकार लिए । क्लोजअप सर्ट लिएनन्, ब्याकग्राउन्ड स्कोर राखेनन्, लामो टेक लिए । विश्वभरि डेब्यू डाइरेक्टरका लागि यो चुनौतीपूर्ण मानिन्छ । संवादको भाषा पनि स्थानीय नै थियो । यही कारण उनीमाथि लगानीकर्ताले पनि शंका नगरेका होइनन् । लगानीकर्ताले उनलाई सोधेको थिए ‘पाँच–पाँचवटा बाधा छिचोल्न सक्छौ ?’ जवाफमा उनले भनेको थिए, ‘हामी यसको नतिजामा होइन, निर्माण प्रक्रियामा रमाउनुपर्छ । एउटा प्रोजेक्ट ज्यान फालेर ग¥यो, अर्काेमा काम गर्न नपर्दिए हुन्थ्यो भन्ने लाग्यो भने के गर्ने ? कहाँबाट किनेर ल्याउने ऊर्जा ? हामी कुन बाटो जाँदैछौँ भन्ने पक्का गरौँ, कहाँ पुगिन्छ भनेर नसोचौँ ।’
कालोपोथी एक हिसाबले मीनको व्यक्तिगत कथा थियो । भन्छन्, ‘हामीले ‘ग्लोबलाइज्ड’ हुने बहानामा, मासलाई सम्बोधन गर्ने बहानामा आफ्नो कथा छोडेर परको टिप्छौँ । आफूलाई भन्न मन लागेको वा आफ्नै वरिपरि देखे–भोगेको कथा भन्न खोज्दैनौँ । तर, त्यो कथा विशुद्धः मेरो थियो, सबैलाई आफ्नो लाग्यो कि ?’ फिल्ममा बालकले निर्वाह गरेको चरित्र कँहीकतै उनले भोगेको जीवनको प्रतिनिधि पात्र पनि हो । उनले देखेका, सुनेका र भोगेका कुरा फिल्ममा छन् । ‘दुईजना ‘क्यारेक्टर’मध्ये एकजना सायद म हुँ,’ उनले भने । फिल्मभित्र गाउँमा टिकट बेचेर फिल्म देखाइएको दृश्य पनि उनले भोगेको बाल्यकालसँग निकट छ । उनका ठूलीआमाको छोराले त्यसरी पैसा उठाएर फिल्म देखाउँथे ।
कुुखुुरा र अण्डासँग पनि मीनको गहिरो सम्बन्ध रहेछ । ‘हाम्रो घर धामीझाँक्रीको भनेजस्तो थियो । घरमा कुखुरा छिरायो भने देउता रिसाउने खालको बुझाइ थियो,’ मीनले सम्झिए, ‘तर, मलाई बच्चैदेखि चरा, माछा, कुखुरा पाल्न मन लाग्थ्यो । घरमा पाल्न दिनु हुन्नथ्यो । त्यसैले आफैँले कुखुरा किनेर साथीको घरमा पाल्न दिन्थेँ, अनि म त्यो कुखुरा हेर्न गइरहन्थेँ । त्यसले कति अण्डा पाथ्र्यो, कति चल्ला दियो, चासो राखिरहन्थेँ ।’
कालोपोथीले मौलिक स्वादसहितको सिनेमा भनेर धेरै समीक्षकबाट तारिफ पायो । फिल्म समीक्षक यज्ञशले ‘भामले एउटा अग्र्यानिक फिल्म दिएको’ मूल्यांकन गरे । उनको समीक्षा थियो, ‘मुगुको विकट जीवनको कथालाई देशले भोगेको ठूलो राजनीतिक घटनासँग जोडेर पस्किन सक्नु उनको सफलता हो । त्यसमाथि पनि ठूलो बजारको लोभ नगरीकनै स्थानीयता कायम गर्नुलाई उनको साहस मान्न सकिन्छ ।’ मीनको पहिलो प्रयासले युद्धलाई सही चित्रण गरेन भनेर एउटा कोणबाट कालो पोथीको आलोचना पनि भयो । समीक्षक माधव ढुुंगेलको तर्क थियो– ‘यो सिनेमाले ‘जनयुुद्ध’लाई नकाम ठान्यो, मूलतः विफल ठान्यो ।’
मीन भने युद्ध सफल कि विफल भन्नलाई आफूले सिनेमा नबनाएको प्रस्टीकरण दिन्छन् । ‘कुनै पनि राजनैतिक सिद्धान्तलाई तुलनात्मक रुपमा लेखाजोखा गर्ने हेतुको कथा सिनेमाले बोकेको थिएन । हेर्ने मान्छेले आ–आफ्नै बिश्वास र व्यक्तिगत चश्माले हेर्ने छुट हुन्छ । सायद सिनेमाका धेरै सौन्दर्यहरु मध्येमा यो पनि एक होला ।’
कमैलाई थाहा होला, मीन विद्यार्थीकालमा राजनीतिसमेत गर्थे । उनी अहिले भने आफ्नो त्यो संलग्नता सार्वजनिक गर्न चाहँदैनन् । सरस्वती र त्रिचन्द्र कलेज पढ्दा उनी विद्यार्थी संगठनमा सक्रिय थिए । ‘म बाल्यकालदेखि नै राजनीतिक पृष्ठभुमीमा हुर्किएँ । अहिले भने म प्रत्यक्ष राजनितिबाट धेरै पर आइसकें,’ मीन भन्छन्, ‘त्यसैले म हिजो कुन पार्टीमा कहाँ आबद्ध थिएँ भन्नेले खासै अर्थ राख्दैन ।’ उनी आफ्नो विचारप्रतिको प्रतिबद्धतालाई भने लुकाउँदैनन् । भन्छन्, ‘यत्ति हो, म डेमोक्रेसीमा विश्वास राख्छु । र, मलाई लाग्छ, नेपालको राजनीति अहिले असमानतामा आधारित वितरणमुखी पुँजीवादतिर बढ्दै छ ।’
सर्ट फिल्मबाट सुरुवात
कालोपोथी भन्दा पहिले मीनले कर्णालीकै कथामा १५ मिनेटको सर्ट फिल्म बनाएका थिए, ‘बाँसुुल्ली’ । सन् २०१२ को ६९ औं भेनिस फिल्म महोत्सवमा उनको यो फिल्म छनौट समेत भएको थियो । त्यसो त निर्देशनअघि गुुरुकुुलमा मुुगुको नाट्य समूहको प्रस्तुुति ‘कर्नाली दक्खिन बग्दो छ’ नाटकमा समेत मीन सहभागी थिए, कलाकारका रुपमा । ‘नाटक गर्दादेखि नै ऊ चलिरहेको ट्रेन्डभन्दा फरक गर्न खोज्थ्यो,’ मीनसँगै अनुुप बरालको एक्टर्स स्टुुडियोमा पहिलो ब्याचका विद्यार्थीका रुपमा अभिनय सिकेका निर्देशक विनोद पौडेल उनीबारे भन्छन्, ‘पहिलेदेखि यथार्थपरक काम गर्न रुचाउँथ्यो । बाँसुुल्ली र कालोपोथी बनाउनुअघि नै मैले पढ्ने मौका पाएको थिएँ । यसले नै उसको कामप्रतिको लोभलाग्दो भोक र उर्जाको पुष्टि गर्छ ।’ मीनको सिनेमाप्रतिको बुुझाइ र दृष्टिकोणमा व्यापक विकास भएको पौडेल बताउँछन् ।
मीनले बाह्य अनुदान वा वृत्तिमा फिल्म बनाउँछन् । उनलाई विदेशमा हुने फिल्म–फेस्टिभलको मापदण्ड हेरेर सिनेमा बनाउने निर्देशक पनि भनिन्छ । तर, उनी त्यसलाई स्वीकार्दैनन् । ‘महोत्सवहरुको कुनै पनि पाठ्यक्रम वा घोषणापत्र हँुदैन । चलचित्रकर्मीहरुले त आफूलाई मनमा लागेको कथामा चलचित्र बनाउने हो नि ।’ कालो पोथीको स्क्रिप्टले फिल्म निर्माणका लागि स्विजरल्यान्डको फ्राइबर्ग फिल्म फेस्टिभलमा प्रतिस्पर्धामार्फत ५० हजार स्विज फ्य्रांक (५५ लाख नेरु) पुुरुस्कार जितेको थियो । त्यस्तै उनको आगामी प्रोजेक्ट ‘चिसो वर्ष’का लागि समेत उनको स्क्रिप्टले नर्वेजियन साउथ फिल्म फन्ड (सरफन्ड) बाट ६० हजार अमेरिकी डलरको अनुदान सहायता जितिसकेको छ ।
सबै राम्रा कथा र राम्रा फिल्मले पुरस्कार पाउँदैनन्, अनुदान आउँदैमा फिल्म राम्रो हुने पनि होइन । स्क्रिप्टले अनुुदान पाएन वा प्रतिस्पर्धामा जित हासिल गरेन भने मीन चाहिँ के गर्छन् त ? भन्छन्, ‘त्यो क्षण आयो भने भन्छु ल । तर, के सत्य हो भने म सिनेमा त्यसबेलासम्म बनाउँला, जतिबेलासम्म मलाई सिनेमा बनाउने हुटहुटी जागिराख्ला, बाँकी त सपनाले आफै बाटो देखाउँला नि ।’ मीन अरुले भन्दा फरक तथा रोचक शैलीमा कथा कसरी भन्न सक्छु भन्नेमा धेरै ध्यान दिन्छन् । फिल्म निर्माणका लागि आफूले जानेको, बुझेको अथवा ठम्याएको सत्य र इमान्दारिता अनि मनको आवाज र कथा भन्ने हुटहुटीले आफूलाई निर्देशित गर्ने उनको प्रस्टोक्ति छ ।
जीवन र वरिपरिको जगत्लाई मीन आफ्नो प्रेरणा ठान्छन् । फिल्ममेकरका रुपमा आफूले जानाजान कुनै गल्ती गरेजस्तो उनलाई लाग्दैन । कर्णालीदेखि काठमाडौं, काठमाडौंदेखि कालोपोथीसम्मको यात्रा तय गर्दासम्म उनले अनेक संघर्ष गरेका छन् । तर के–कति संघर्ष गरे उनी सुनाउन आवश्यक ठान्दैनन् । ‘एउटा किसानले तरकारी उब्जाउन जति दुःख गर्छ, मैले पनि त्यत्ति गरेको हो,’ उनी भन्छन्, ‘खेतमा तरकारी फलाउने काम सजिलो हो र ? हामी कलाकर्मी आफ्ना दुःख सुनाएर समवेदना बटुलन खोज्छौँ । तर, कुन पेशामा गाह्रो अनि संघर्ष छैन र ? राम्रो काम गर्न सबैतिर मिहिनेत चाहिन्छ । हाम्रो संघर्ष अरुको संघर्षभन्दा फरक कतै नहोला ।’