नारायणी अस्पतालका मेसु डा. उपाध्यायको नेतृत्वमा अहिले ८९ जना संक्रमितको उपचार चलिरहेको छ, ११ जना निको भएर घर फर्किसके
वीरगन्ज पछिल्ला केही सातायता कोरोना संक्रमणको हटस्पट बनेको छ । पर्सामै धेरै कोरोना संक्रमित भेटिरहेका बेला रौतहट, बारा र सर्लाहीका संक्रमितको उपचार पनि वीरगन्जमै भइरहेको छ । वीरगन्ज रहेर अहिले यी तीनै जिल्लाबाट स्याम्पल संकलन गर्नेदेखि बिरामी अस्पताल ल्याउने र आइसोलेट गर्नेसम्मको व्यवस्थापन मिलाउने कामको नेतृत्व गरिरहेका छन् डा. मदन उपाध्यायले । डा. उपाध्याय नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) हुन् । डा. उपाध्यायकै व्यवस्थापनमा कोभिड– १९ को यो हटस्पटमा ८९ जना कोरोना संक्रमितको आइसोलेसनमा उपचार चलिरहेको छ भने ११ जना निको भएर घर फर्किसकेका छन् ।
चिकित्सक, नर्स, पारामेडिक्स, सहयोगी कर्मचारी गरी झण्डै ३ सय बढी कर्मचारीको टिमका कमाण्डर डा. उपाध्याय वीरगन्जमा कोरोना संक्रमितको उपचारमा अग्रपंक्तिमा डटिरहेका छन् । बिरामीको उपचारमा देखिएका जटिलता सुल्झाउनेदेखि स्वाब संकलनमा टोली खटाउने र परीक्षणका लागि नारायणीस्थित आफ्नै ल्याब, हेटाँैडा र काठमाडौं पठाउनेसम्मको कामको मूल जिम्मेवारी पनि उनकै काँधमा छ । यसबाहेक सुरक्षा निकायसँग समन्वय र सञ्चारकर्मीलाई ब्रिफिङ गर्ने काम पनि उनले नै गरिरहेका छन् । भन्छन्, ‘बिहान ५ बजे नै उठ्छु, बेडमा पुग्दा त कहिलेकाहीं मध्यराति एक नै बजिसक्छ ।’
कम जनशक्ति, अपर्याप्त भौतिक संरचना, भिटिएमको अभाव, स्वाब संकलन र परीक्षण जटिलतालगायतका थुप्रै चुनौतीबीच उनको नेतृत्वमा नारायणी अस्पताल टिमले सबै कामहरू कुशलतापूर्वक व्यवस्थापन गरिरहेको छ । ३० चैत्रमा पहिलो पटक वीरगन्जमा तीन जना भारतीय नागरिकमा कोरोना पोजेटिभ देखिएदेखि संक्रमितको ग्राफ निरन्तर उकालोमा छ । अवस्था कस्तोसम्म आयो भने वीरगन्जमा एकैदिन ५८ जनामा कोरोना पुष्टि मात्रै भएन्, एकै परिवारको १८ जनामा कोरोना देखियोे । ‘रोगले ठग्यो, लक्षण बिनाका केसहरू नै बढी देखिए,’ डा. उपाध्याय व्यवस्थापन अनुभव बाँड्छन्, ‘थर्मल गनको आवश्यकता बेकार बनाइदियो । हामी पढ्दै, बुझ्दै काम गर्ने क्रममा धेरै कुरा नौला देखिए ।’

भनिन्छ, दूरदर्शी नेतृत्वले टाढैसम्मका समस्या र सम्भावना पहिचान गर्न सक्छ । नेपालमा पहिलो कोभिड—१९ केस देखिने बित्तिकै डा. मदनले नारायणी अस्पतालमा तयारी थालिसकेका थिए । उनले ४० थान व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) किनेर स्टोर गरे । कोभिड—१९ का बिरामीका लागि ५ वटा आइसोलेसन बेडको व्यवस्था गरियो । जुन संक्रमितको संख्या बढेसँगै अहिले ७० बेड पु¥याइएको छ भने गण्डक अस्पताललाई अस्थायी कोभिड अस्पताल बनाएर थप ५० आइसोलेसन बेडको व्यवस्था गरिएको छ । ‘सुरुमा नारायणी अस्पतालमा ५ बेडको आइसोलेसन बनाएका थियौं,’ डा. उपाध्याय भन्छन्, ‘संक्रमित बढ्न थालेपछि त्यसलाई बढाएर २५, ५० हुँदै अहिले ७० बेडमा पु¥याएका छौं । गण्डक अस्थायी कोरोना अस्पतालमा ५० वटा बेडको आइसोलेसन छ ।’
कार्यक्षेत्रमा जेलिएका जटिलतालाई पार लगाउँदै पर्सा, बारा र रौतहटका एक सय कोरोना संक्रमितको वीरगन्जमै व्यवस्थापन कसरी सम्भव भयो ? ‘लिडरसिप र टिमवर्क नै मुख्य कुरा रहेछ,’ उनी भन्छन्, ‘टिम बन्डिङ नै सबैभन्दा ठूलो कुरा रहेछ । टिम मिल्यो भने जुनसुकै चुनौतीलाई सामना गर्न सकिन्छ ।’ हटस्पटमा दह्रो गरी उभिन टिमवर्कले नै साबेलको काम गरेको अनुभव उनले सुनाए । डाक्टर, नर्सिङ स्टाफ, पारामेडिक्स र सपोर्ट स्टाफको उत्कृष्ट बन्डिङले नै व्यवस्थापन गर्न सकिएको उनी बताउँछन् । ‘निरन्तर सञ्चार, ट्रान्सपरेन्सी र सेयरिङ टिमवर्कका महत्वपूर्ण पाटा रहेछन्,’ उनी थप्छन्, ‘यही कारण टिमका पाका र युवा दुवै फ्रन्टलाइनमा खटिरहनु भएको छ ।’
कोरोना हटस्पटका ४५ वर्षीय यी कमान्डरको स्थायी घर जनकपुर हो । तर, उनको जन्म भने विराटनगरमा जुम्ल्याहा शिशुका रूपमा भएको थियो । बुवा माधवप्रसाद उपाध्याय सरकारी जागिरेका रूपमा विराटनगरमा कार्यरत थिए । आमा रेवतीदेवी उपाध्याय उनीसँगै विराटनगरमै थिइन् । त्यही बेला २०३२ साल पुसमा उनी ५ जना दाजुभाइदिदीमध्ये पाँचौं सन्तानका रूपमा जन्मिए ।
उनको बाल्यकाल जनकपुरमै बित्यो । जनकपुरको मिथिला इंग्लिस स्कुलबाट उनको शिक्षादीक्षा अगाडि बढ्यो । गर्मी ठाउँ भएकाले दिउँसो १ बजेसम्म स्कुल हुन्थ्यो । स्कुलबाट फर्केपछि साँझतिर जनकपुरमा क्रिकेट र फुटबलको माहोल जम्थ्यो । त्यो माहोलले उनीजस्ता किशोरहरूलाई नतान्ने कुरै भएन । उनले बाल्यकाल क्रिकेट र फुटबलसँग रमाउँदै बिताए । अलि अन्तर्मुखी स्वभावका भए पनि उनी एक ठाउँमा बस्न सक्दैनथे । साथीभाइ, छरछिमेकमा गइरहनुपथ्र्यो । ‘बाह्रबिघामा खेलकुदका प्रतियोगिता भइरहन्थे, हामी त्यहाँ गइरहन्थ्यौं,’ बाल्य स्मृति सुनाउँदै भन्छन्, ‘कहिले खेल्ने र कहिले हेर्ने ।’
०४८ सालमा डा. मदनले मिथिला इंग्लिस बोर्डिङबाट पहिलो श्रेणीमा एसएलसी उत्तीर्ण गरे । त्यतिबेला रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुरको कहलिएको क्याम्पस थियो । त्यहीबाट उनले ०५१ सालमा आईएस्सी सकाए । बीएस्सी पढ्न काठमाडौं आएपछि उनको बाटो बदलियो । काठमाडौं युनिभर्सिटीमा एमबीबीएसका लागि इन्ट्रान्स खुलेको थियो । उनले पनि इन्ट्रान्समा ट्राइ मारे । ‘इन्ट्रान्स पास भएपछि नेपाल मेडिकल कलेज अत्तरखेलमा एमबीबीएस पढ्न थालेँ,’ उनले भने, ‘नेपाल मेडिकल कलेजको हामी पहिलो ब्याच हौं ।’ काठमाडौं बीएस्सी पढ्न आएका उनको यात्रा डाक्टरीतर्फ मोड्ने कारण के थियो ? ‘ठूल्दाइ कमर्स लिएर पढ्नुभयो । माइला दाइलाई डाक्टर बनाउने बुवाको इच्छा थियो तर कानुन पढ्न थाल्नुभयो । साइँला दाइ बढी सोसल वर्कमा केन्द्रित रहन थाल्नुभयो,’ उनले डाक्टरी पढ्दाको किस्सा खोले, ‘त्यही कारण हामी जुम्ल्याहा दाजुभाइमा म एमबीबीएस पढेँ, भाइ कम्प्युटर इन्जिनियरिङ ।’
फस्ट ब्याच भएकाले कलेजमा कर्मचारी र विद्यार्थी मात्रै थिए । जनकपुरबाट पढेर आएकाले उनले काठमाडौंमा धेरै नयाँ अनुभव गर्न पाए । पहिलो पटक कलेजको ल्याबमा कम्प्युटर छोए, न्युरोड, दरबारमार्ग र असनमा सहरी अनुभव सँगाले । ‘०५३÷०५४ तिर कम्प्युटर भन्ने कुरा नै नौलो थियो,’ उनी सम्झन्छन्, ‘त्यतिबेला नै पहिलो पटक मोबाइल आएको सम्झन्छु ।’ बोर्डिङ स्कुलमा अंग्रेजी माध्यममा पढेको भएपनि मेडिकल शिक्षा पढ्दा त्यो अंग्रेजी फरक लाग्यो । यही कारण उनलाई कहिलेकाहीँ आफूलाई कम जान्नेजस्तो अनुभव हुन्थ्यो ।
त्यतिबेला उनी सिफलमा बस्थे, त्यहाँबाट अत्तरखेलमा रहेको कलेजसम्म गाडी जाँदैनथ्यो । बाटो हिलाम्मे हुन्थ्यो । ‘कलेज जाँदा सहरबाट गाउँ गएजस्तो हुन्थ्यो,’ उनी थप्छन् । कलेजमा खेलकुद भइरहन्थ्यो, तर रिजर्भ भएकाले उनी फ्रन्टलाइनमा देखिँदैन्थे । ‘कन्फिडेन्ट पनि थिएन्,’ उनी कलेज डायरी खोल्छन्, ‘आइएस्सीसम्म घरमै बसियो, जनकपुरको वातावरणमा हुर्किएँ । काठमाडौंको वातावरण बिल्कुलै फरक रहेछ । काठमाडौं सहर जनकपुर गाउँ रहेछ ।’ गाउँबाट सहर आउँदाखेरिको जुन अनुभूति हुन्छ डा. मदनलाई पनि ठ्याक्कै त्यस्तै भएको थियो ।
सन् २००२ मा एमबीबीएस सके । त्यसपछि एक वर्ष नेपाल मेडिकल कलेजमै इन्टर्न गरे । ‘काठमाडौंका एमबीबीएस र इन्टर्नसीप गरी ६ वर्ष बिताउँदा होमसिकजस्तो भयो,’ उनी सुनाउँछन्, ‘कहिले सकिएला र जनकपुर पुगौँलाजस्तो भइरहेको थियो ।’ इन्टर्नसीप सकिएलगत्तै उनी जनकपुर हान्निए ।

जनकपुर अस्पतालदेखि हटस्पटसम्म
एमबीबीएस सकेर जनकपुर फर्किए । त्यो बेला स्वयंसेवकका रूपमा अस्पतालमा काम गर्न पनि ‘सोर्सफोर्स’ चाहिन्थ्यो । उनका बुवाका विद्यार्थी जनकपुर अञ्चल अस्पतालका मेसु थिए । त्यही कारण उनले भोलिन्टिएरका रूपमा जनकपुर अस्पतालमा काम गर्ने अवसर पाए । उनको उमेरका मेडिकल अधिकृत कोही थिएनन्, सबै उनीभन्दा पाको उमेरका थिए । त्यहाँ काम गर्नेमा नेपालकै प्रोडक्ट त झनै कोही पनि थिएन । कोही चीन, कोही रुस, कोही बंगलादेश विभिन्न देशबाट डाक्टरी पढेर आएकाहरू थिए ।
जनकपुर अस्पतालमा उनले इमर्जेन्सीबाट काम थाले पनि सबैजसो विभागको अनुभव संगाले । ‘इमर्जेन्सी, सर्जरी, मेडिसिन, गाइने, इएनटी, डर्मामा सबैमा काम गरेर एक्स्पोजर हासिल गर्ने अवसर पाएँ,’ उनले भने । त्यहीबीचमा जनकपुरमा जानकी मेडिकल कलेज खुल्यो । साँझपख उनी जानकी मेडिकल कलेजमा काम गर्न थाले । नाइट ड्युटी गर्न विभिन्न नर्सिङ होम चहार्थे । ‘निकै समय ड्युटीमा बिताइन्थ्योे,’ उनी डाक्टर बनेपछिको युवा जोश सुनाउँछन्, ‘२ वर्ष यसरी नै बिताएँ ।’
दुई वर्षपछि एकनासको कार्यशैलीले पट्यार लाग्न थाल्यो । ‘फ्रेसपन’ खोज्दै विराटनगर हान्निए । नोबेल मेडिकल कलेज र विराट नर्सिङ होममा काम थाले । पिजी गर्ने तयारी पनि सँगसँगै अगाडि बढाए । तर, पिजीका लागि त्यतिखेर प्रतिस्पर्धा निक्कै थियो, क्लिनिकल विषय नपाएपछि उनको पिजी यात्रा रोकियो । दुई वर्ष विराटनगरमा बसेपछि पुनः काठमाडौं फर्किए । काठमाडौंमा काम पाउन अर्को चुनौती थियो । प्राइभेट हस्पिटलहरूमा एक किसिमको ‘सिन्डीकेट’जस्तै थियो । नेपालबाटै पास गरेको काम गर्न सक्छन् र भन्ने अर्को जबरजस्त मान्यता पनि थियो । कतिपयले ‘एक्स्पोजर’ पनि खोजे ।
सन् २०११ मा पब्लिक हेल्थमा मास्टर्स गर्न थाइल्यान्ड बैंककस्थित माहिडोल युनिभर्सिटी पुगे । त्यहाँबाट डेढ वर्षमा एमपीएच सकेर उनी नेपाल फर्किए । जागिरका लागि प्रोजेक्टहरूमा आँखा डुलाउन थाले । केही एनजिओ र आइएनजिओहरूमा परीक्षा दिए तर जागिर भएन । त्यही समयमा नेपालमा चिकित्सकहरूमाझ क्यानडा र अमेरिका जाने लहर चलेको थियो । त्यो लहरले डा. मदनलाई पनि तानिहाल्यो । क्यानडा अप्लाई गर्ने तयारी थाले, ०७० सालमा । जतिबेला उनी क्यानडाका लागि तयारी थाल्दै थिए, त्यही बेला स्वास्थ्य मन्त्रालयअन्तर्गत नवौं तहमा लागि लोकसेवा खुल्यो । नवौं तह –उपसचिव)मा नाम निकाले । ‘भिसा अप्लाई गर्न जुन दिन जाँदै थिए, ठ्याक्कै त्यही दिन नाम निस्केछ,’ उनले सरकारी जागिरको प्रस्थानविन्दुबारे भने, ‘लोकसेवा पास भए हुँला भनेर विश्वास नै थिएन, तर पास भएको खबर पाएँ ।’ उनको विदेशयात्रा पूर्णविराम लाग्यो । नवौं तहमा नाम निकालेपछि केही समय मन्त्रालयमै बिताए ।
सरकारी जागिरेका रूपमा उनको पहिलो पोस्टिङ संखुवासभा भयो । संखुवासभाको खाँदबारी अस्पतालमा मेसु भएर दुई वर्ष काम गरे । ‘विकटमा आमा सुरक्षा कार्यक्रम निरन्तरता दिनुपर्ने चुनौती थियो,’ उनी हिमाली जिल्लाको स्मरण सुनाउँछन्, ‘त्यसलाई टिकाउन सकेँ । अस्पताललाई स्तरोन्नति गरियो । इमर्जेन्सी र ल्याबलाई राम्रोसँग व्यवस्थापन गरेँ ।’
दुई वर्षपछि उनी धनकुटा पुगे । धनकुटामा ‘मिनिमम सर्विस स्ट्यान्डर्ड हेल्थ सर्विस लागू गर्नुपर्ने चुनौती आइप¥यो । धनकुटा, सुनसरी र मोरङमध्ये सबैभन्दा राम्रो व्यवस्थापन धनकुटा अस्पतालमा गरेर देखाए । धनकुटामै रहेका बेला ०७४ सालमा ११औं तहका लागि खुल्यो । पहिलो प्रयासमै ११औं तह (सहसचिवस्तर)मा नाम निकाले । काठमाडौंमा फर्केर चार महिनाजति मन्त्रालयमा बिताए । ११औं तह भएपछि उनको पहिलो पोस्टिङ मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौँडामा भयो । ४ महिना त्यहाँ बसेपछि स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक भएर काठमाडौं आए । १० महिना त्यहाँ काम गरेपछि फेरि मन्त्रालयमा आएर केही महिना बसे । संघीयतामा कर्मचारी समायोजनमा संघमै समायोजन भयो, पदस्थापना राष्ट्रिय ट्रमा सेन्टरमा । तर, गत साउन २२ गतेदेखि कामकाज गर्ने गरी उनलाई नारायणी अस्पतालको प्रमुखका रूपमा वीरगन्जमा खटाइयो ।
प्रेरणा श्रीमती
डा. मदन ०६२ सालमा वैवाहिक जीवनमा बाँधिएका हुन् । उनकी श्रीमती सुनिता सुवेदी साइकोलोजी काउन्सिलर हुन् । इष्टमित्र नै भएकाले चिनजानपछि लभ हुँदै एरेन्ज विवाहमा परिणत गरेका हुन् । उनका लागि सुनिता नै प्रेरणाकी स्रोत हुन् । ‘म उनकै प्रेरणाले सरकारी सेवामा प्रवेश गरेको हुँ । हरेक साँझ उनले मलाई फर्म भ¥यौ भनेर नसोधको भए मैले आवेदन नै दिन्नँथे होला,’ उनी भन्छन् । श्रीमती सुनिताकै आग्रहमा डबल दस्तुरमा उनले सरकारी जागिरका लागि आवेदन भरेका थिए । अहिले पनि डा. मदन आफूले गर्ने हरेक काम र निर्णयमा श्रीमतीको सुझाव लिन्छन् । ‘उनले मलाई एकदमै गाइड गरिरहन्छन्,’ उनी थप्छन्, ‘अहिले कोभिड—१९ को उपचारमा खटिदा पनि ‘तिमी सक्छौं, तिमीले नै गर्ने हो’ भनेर उनले मलाई हरदम उत्प्रेरित गरिरहेकी हुन्छिन् ।’
सामान्य जीवनशैली भएका यी ह्यान्डसम चिकित्सक बिहान पाँच बजेतिर बिउँझन्छन् । कोभिड—१९ का केसहरू देखिन थालेदेखि उनको जीवनशैली र दैनिकी सबै बदलिएको छ । पाँच बजेदेखि नै सञ्चारकर्मी, सुरक्षाकर्मीदेखि सहकर्मीसम्मका फोन बज्न थाल्छन् । फ्रेस भएपछि चिया खान्छन् । दिनभरि के—के गर्ने भनेर टिमका चिकित्सक, नर्सिङ स्टाफ, पारामेडिक्स र सहयोगी स्टाफहरूसँग छलफल हुन्छ । सबैको जिम्मेवारी र कामको बाँडफाँडपछि खाना खान्छन् ।
अस्पताल पुगेपछि निरीक्षणमा निस्कन्छन् । त्यसपछि विभिन्न व्यक्तिहरू आउने र छलफल गर्ने क्रम सुरु हुन्छ । कहाँ के काम गर्न सकिन्छ भनेर योजना बनाउँछन् । हरेक दिन प्रशासनमा कोभिड—१९ कमान्ड पोस्टको बैठक हुन्छ, त्यसमा सहभागिता जनाउँछन् । दिनभरजसो व्यवस्थापनकै काममा व्यस्त रहन्छन् । बेलुका ९ देखि ११ बजेसम्म डिनर खान्छन् । कोभिड—१९ पछि खाने, सुत्ने र उठ्ने समयमा कुनै नियमितता छैन ।
फुर्सदमा नेट सर्फिङ, साथीभाइसँग गफगाफ र घुमफिरमा रमाउने उनको बानी छ । उपन्यासमा पनि उनको लगाव छ । अंग्रेजी उपन्यास ‘डक्टर’ उनलाई सबैभन्दा मन परेको आख्यान हो । सामान्य पहिरन रुचाउने उनी बढीजसो सर्ट पाइन्ट लगाउँछन् । खानाका पनि उति सौखिन छैनन् । पहिले मासु मन पराउँथे, अहिले शाकाहारी खान्की बढी मन पराउँछन् । ग्रीन सलाद उनको अहिलेको सबैभन्दा फेभरेट चीज हो ।