‘अभिमुखीकरणको महत्त्व तब बुझें, जब विदेश पुगें । यति महत्त्वपूर्ण रहेछ, मैले त केही बुझ्नै पाइनछु भन्ने महसुस भयो, आवश्यक जानकारी नलिई जाँदा एकदमै सकस हुने रहेछ ।’
गलाभरि खादा, ठूलो झोला एउटा हातले गुडाउँदै अर्को हातमा फाइल बोकेका एक जना युवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैदेशिक रोजगार द्वारमा उभिएर मैले सोधें, ‘तपाईंको नाम, ठेगाना ?’
‘घर चितवन, नाम भीमबहादुर नेपाली ।’
‘कहाँ जाँदै ?’
‘साउदी अरब ।’
‘पहिलो पटक हो ?’
‘होइन, छुट्टीमा आएर फर्केको ।’
‘मलाई पहिलो पटक जाँदा तपाईंले अनुभव गरेका कुरा सुनाउनु न ।’
‘दुई वर्षअघि जब म पहिलो पटक साउदी जाँदै थिएँ, अन्योलै अन्योलमा थिएँ । कसरी जाने, यात्रामा के गर्ने, के नगर्ने केही थाहा थिएन । म ड्राइभरका लागि जाँदै थिएँ, यतिसम्म पनि कि मलाई त्यहाँको ट्राफिक नियमसम्म पनि थाहा भएन ।’
‘विदेश जानुअघि त अभिमुखीकरण तालिम लिनुपर्छ नि, तपाईंले लिनु भएन ?’ मैले सोधें ।
‘ओहो ! अभिमुखीकरणको त कुरै नगर्नुस् न । बिजोग तरिकाले अभिमुखीकरण तालिम लिएको हुँ । करिब एक घण्टासम्म उभिएर ६५ जनाले एकै ठाउँमा बसेर तालिम लिएका हौं । अब तपाईं आफंै भन्नुस्, त्यस्तो अवस्थामा कसरी आवश्यक जानकारी पाइन्छ र ? म्यानपावरबाट आवश्यक जानकारी केही पनि लिन सकिनँ । म्यानपावरले त हातमा प्रमाणपत्र थमाउनका लागि मात्र अभिमुखीकरण सञ्चालन गर्दो रहेछ । मैले फेरी सोचें । ‘यसरी आवश्यक जानकारी नलिई विदेश पुग्दा कस्तो प्रभाव पर्दो रहेछ ?’
‘अभिमुखीकरणको महत्त्व तब बुझें जब विदेश पुगें । यति महत्त्वपूर्ण रहेछ, मैले त केही बुझ्नै पाइनछु भन्ने महसुस भयो, आवश्यक जानकारी नलिई जाँदा एकदमै सकस हुने रहेछ । रोजगारीका सिलसिलामा विदेश जाने जोकोहीले आवश्यक मात्रामा अभिमुखीकरण तालिम नलिँदा धेरै कुराको समस्या पर्ने रहेछ भन्ने बुझें ।’ भीमबहादुर भन्दै थिए ।
यही पंक्तिमा भेटिए दमौलीका सूर्यबहादुर थापा । उनलाई त अभिमुखीकरण भन्ने शब्द नै थाहा थिएन । उनलाई एजेन्टले विमानस्थलमै अभिमुखीकरण प्रमाणपत्र थमाए । एजेन्टलाई १ लाख ५० हजार बुझाएका उनले विदेश जानुअघि जे गरे उनका एजेन्टले नै गरे । अभिमुखीकरण के हो, किन लिने, यसबारेमा त उनी अनभिज्ञ नै रहे । तर पनि उनी अभिमुखीकरण लिएको भनी प्रमाणित भए । आफू जाने देशको रहनसहन, धर्म–संस्कृतिबारेमा उनलाई अत्तोपत्तो भएन । ‘जहाजमा के गर्ने, के नगर्ने अन्योलमै थिएँ । यात्राका क्रममा साथीहरूले जसो गरे, त्यसै गर्दै विदेश पुगें । जब विदेश पुगें तब मात्र अभिमुखीकरण भनेको त सबै कुराको जानकारी पो रहेछ भन्ने बुझें । वैदेशिक रोजगारीमा जाने हरेक व्यक्तिलाई आवश्यक जानकारी दिन कसैले पनि कमजोरी गर्नु हुँदैन’ उनी बताउँछन् । यसले गर्दा हरेक ठाउँमा अन्योलमा पर्नुपर्ने उनको अनुभव छ ।
नेपाली र थापा वैदेशिक रोजगारीको सिलसिलामा आवश्यक जानकारी नपाएर विभिन्न प्रकारका समस्या भोगेका दुई प्रतिनिधि पात्र मात्र हुन् । रोजगारीका क्रममा आवश्यक जानकारी नपाउनु श्रमिकको साझा समस्या रहेको अनुभवीहरू बताउँछन् । अभिमुखीकरण तालिमलाई परिणाममुखी बनाउन विभिन्न प्रकारका कार्यविधि निर्माण भए पनि कार्यान्वयन हुन सकेको छैन ।
कानुन छ, कार्यान्वयन छैन
वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई उडानअघि अभिमुखीकरणमार्फत आवश्यक जानकारी दिने गरिन्छ । यसअन्तर्गत उनीहरूलाई गन्तव्य मुलुकको भौगोलिक, सांस्कृतिक तथा त्यहाँको रहनसहन र ट्राफिक नियमबारे जानकारी गराउनुपर्ने हुन्छ । त्यस्तै रोजगारीका क्रममा आउने समस्या र कामदारहरूले के गर्ने, के नगर्ने भन्नेबारे आवश्यक जानकारी दिनुपर्ने भनी अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ मा भनिएको छ । तर, कानुनले तोकेबमोजिमको जानकारी श्रमिकले पाउन सकेका छैनन् । उनीहरूलाई सामान्य तरिकाले काम र काम गर्ने समय मात्रै भनिएको हुन्छ । श्रमिकहरू आफू जाने देशको भौगोलिक, सांस्कृतिक पक्षबारे त बेखबर नै हुन्छन् । त्यहाँ पुगेर के गर्ने, के नगर्ने अन्योलमै उनीहरू गन्तव्यमा पुग्छन् ।
प्रशिक्षार्थीहरूको तालिम कक्षामा उपस्थिति र प्रस्थान समयको विद्युतीय हाजिरीको दैनिक अभिलेख राखी तालिम अवधि समाप्त भएपश्चात् संयोजकबाट प्रमाणित गराई अनलाइन माध्यमबाट सचिवालय र विभागमा पठाउनुपर्ने कानुनले तोकेको छ, तर यो नियम कतै लागू भएको देखिँदैन । अभिमुखीकरणमा सहभागी भएका प्रशिक्षार्थीहरूको रेकर्ड कुनै पनि विभागमा भेटिँदैन । वैदेशिक रोजगार विभागका प्रवक्ता भोलानाथ गुरागाईंका अनुसार अहिलेसम्म यो नियम लागू हुन सकेको छैन । श्रम स्वीकृति लिएको संख्याले नै अभिमुखीकरण लिएको भनि अनुमान गर्न सकिने उनी बताउँछन् ।
फितलो अनुगमन
वैदेशिक रोजगार नियमावली २०६४ को नियम ५२ (क) को उपनियम (२) मा अभिमुखीकरण नियम उल्लेख छ । सोहीअनुसार कार्यविधि, २०७६ बनेको छ । जस अनुसार विदेश जाने श्रमिकलाई तीन दिनसम्म करिब १८ घण्टासम्म कक्षा सञ्चालन गर्नुपर्ने व्यवस्था उल्लेख छ । एकपटक २५ जनाभन्दा बढीलाई तालिम दिन नपाइने व्यवस्था गरेको छ । तालिम केन्द्रहरूमा टेलिभिजन, क्यामेरा, कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर, स्क्रिन, टेलिफोन, इन्टरनेट सुविधा र बायोमेट्रिक हाजिरी मेसिन राख्नुपर्ने नियम छ । तर, तालिम केन्द्रहरूमा आवश्यक भौतिक पूर्वाधार नहुनुका साथै सञ्चालकहरूले आफूखुसी तालिम दिने गरेको रोजगार विज्ञ डा. गणेश गुरुङ बताउँछन् । उनका अनुसार सञ्चालक र म्यानपावर व्यवसायी एकै हुनुले पनि अभिमुखीकरणको परिणाम राम्रो हुन नसकेको हो ।
सरकारको अनुगमन फितलो भएका कारण पनि अभिमुखीकरण प्रभावकारी हुन नसकेको वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष धर्मराज थापा बताउँछन् । कानुनले १८ घण्टा भने पनि अहिले तालिम केन्द्रहरूले १२ घण्टा मात्र तालिम सञ्चालन गर्ने गरेको उनी बताउँछन् । थापा कानुनको कार्यान्वयन हुन नसक्नुमा सरकार दोषी देख्छन् । ‘अनुगमनको नाममा पनि सरकारले गति लिन सकेको छैन,’ थापा भन्छन् । उनका अनुसार अभिमुखीकरणलाई सरकार कुन निकायले नियन्त्रण र नियमन गर्ने भन्ने बारेमा स्पष्ट छैन । सरकारसँग अभिमुखीकरण तालिमबारे स्पष्ट पाठ्यक्रम र आवश्यक कार्यविधि नभएको उनी बताउँछन् । उनी भन्छन्, ‘महासंघले आवश्यक निगरानी राखे पनि सरकारले कदम नचालेपछि अभिमुखीकरणलाई सही मार्गमा लान समस्या पर्ने गरेको छ ।’
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका प्रवक्ता दीनबन्धु सुवेदीका अनुसार हालसम्म नेपालभर १ सय ५६ वटा अभिमुखीकरण तालिम केन्द्र दर्ता भएका छन् । उनका अनुसार अभिमुखीकरण तालिममा प्रशिक्षकको अभावलाई मध्यनजर गर्दै बोर्डले आवश्यक मात्रामा प्रशिक्षक परिचालन गर्नका लागि थप प्रशिक्षकलाई तालिम दिने तयारी गरेको छ । प्रशिक्षक हुनका लागि १२ उत्तीर्ण गरेको, वैदेशिक रोजगारमा गएर एक वर्ष अनुभव लिएको र सचिवालयबाट टट ट्रेनिङ लिएको हुनुपर्ने भनी कानुनले तोकेको छ ।
आवश्यक मात्रामा प्रशिक्षक उत्पादन गर्न सके गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने सुवेदीको बुझाइ छ । विगतका दिनहरूमा भन्दा अहिलेका दिनमा अभिमुखीकरण तालिम केही व्यवस्थित हुँदै गएको सुवेदी बताउँछन् । तर, प्रशिक्षकको सन्दर्भमा भने विगतका दिनहरूमा बोर्डले प्रशिक्षकलाई तालिम दिने तर तालिम लिएका प्रशिक्षकलाई आवश्यक मात्रामा परिमार्जन गर्न नसकेको एक प्रशिक्षक बताउँछन् । उनी भन्छन्, ‘सरकार प्रशिक्षकको संख्यामा मात्र ध्यान दिन्छ, तर प्रशिक्षकलाई समयअनुसार अगाडि बढाउन सकेको छैन ।’ संख्यामा भन्दा पनि प्रशिक्षकको गुणस्तरमा ध्यान दिन सके प्रशिक्षार्थीहरूले पनि गुणस्तरीय शिक्षा प्राप्त गर्ने सक्ने उनी बताउँछन् ।
पाठ्यक्रम र कार्यान्वयनमा सरकार चुकेको छ
– डा. गणेश गुरुङ, रोजगार विज्ञ
वैदेशिक रोजगार अभिमुखीकरणको उद्देश्य भनेको श्रमिकहरूलाई गन्तव्य मुलुकका बारेमा सम्पूर्ण जानकारी गराउने हो । अहिलेको समयमा १२ घण्टा अभिमुखीकरणको कक्षा सञ्चालित छ । अभिमुखीकरणका लागि यो समय एकदमै कम समय हो । देशगत समूह (क्लस्टर) अनुसार सञ्चालन गर्ने भनिए पनि त्यही रूपले सञ्चालन हुन सकेको छैन । कानुनले तोकेअनुसार तालिम केन्द्रहरू सञ्चालित छैनन् । आवश्यक भौतिक पूर्वाधारहरूको अभाव छ । म्यानपावर व्यवसायी र तालिम सञ्चालक एकै व्यक्ति हुने गर्छन्, जसले गर्दा तालिम केन्द्रहरू कमाउने थलो बन्दै गएका छन् । यसले गर्दा सञ्चालकहरूले आफ्नो इच्छाअनुसार तालिम दिएर श्रमिकहरू पठाउने गर्छन् ।
यस्तो अभिमुखीकरण कक्षाले श्रमिकहरूले आवश्यक जानकारी पाउन सकेका छैनन् । अभिमुखीकरणको सन्दर्भमा हेलचेक्र्याइँका कारण श्रमिकहरूले अनाहकमै सजाय पाउने गरेका छन्, जसको परिणाम विदेशमा युवाहरू समस्यामा परेका छन् । सरकारले पनि आवश्यक मात्रामा अनुगमन गर्न सकेको छैन ।
अभिमुखीकरणका सन्दर्भमा सरकारले उत्कृष्ट पाठ्यक्रम निर्माण गर्न सकेको छैन । सरकारसँग न पाठ्यक्रममा खाका छ, न त कार्यान्वयनको तरिका नै । यसकारण अभिमुखीकरण तालिममा सरकार गम्भीर छैन । अभिमुखीकरणको डिजाइनदेखि कार्यान्वयनसम्म सरकार चुकेको छ ।
विभागले प्रत्यक्ष निगरानी गर्नेछ
– डा. भीष्मकुमार भुसाल, महानिर्देशक, वैदेशिक रोजगार विभाग
वैदेशिक रोजगारीको सिलसिलामा श्रमिकहरूलाई दिने अभिमुखीकरण तालिममा केही समस्या देखिएका छन् । अभिमुखीकरणको विषयलाई कुन निकायले हेर्ने भन्ने स्पष्ट छैन । मन्त्रालय, विभाग, बोर्ड सबैले अनुगमन गर्ने गरेको छ ।
यसले गर्दा कसैलाई जिम्मेवारी तोकिएको छैन । अर्को कुरा के छ भने अभिमुखीकरणको समय तालिका पनि मिलिरहेको छैन । उडानको केही समयअघि मात्र कक्षा सञ्चालन हुने भएकाले श्रमिकहरूको मन विदेशमा, शरीरचाहिँ कक्षामा हुने गर्छ । यसले गर्दा पनि श्रमिकलाई तालिमको महत्त्व बुझाउन सकिएको छैन । श्रमिकहरूलाई उपयुक्त समय मिलाएर तालिम दिन आवश्यक देखिएको छ ।
अभिमुखीकरण तालिम केन्द्रहरूमा पनि आवश्यक भौतिक पूर्वाधार छैनन् । केन्द्रहरूले पनि विभागलाई ढाँट, छल गरेर कक्षा सञ्चालन गर्ने गर्छन् । अब भने विभागले चाहेका बेला हेर्न सक्ने व्यवस्था मिलाउने तयारी गरिएको छ । तालिम केन्द्रहरूमा सिसिटिभी जडान गरी विभागले प्रत्यक्ष निगरानी गर्नेछ ।