खडानन्दको अन्तिम घडी आयो अर्थात् माथि जाने बेला भयो ।
पत्नी : भगवान्को नाम लिनुस् ...
खडानन्द (खुइया गर्दै) : के लिनु भगवान्को नाम ....? अब एकछिनमा त भगवान्सँगै आमनेसामने हुनेवाला छ नि .... ।
खडानन्दकी जीएफको अर्कैसँग विवाह हुने गाइँगुइँ हल्ला चल्यो ।
खडानन्द : हेर हरिबोल, त्यो केटी मेरी भइन भने अरू कसैकी हुन दिन्नँ ।
हरिबोल : ल ठिक छ, कुनै उपाय गरौंला न त । तेरी भई भनेचाहिँ अरू सबैंकी हुन दिन्छस् त ....?
खडानन्द छोराका लागि बुहारी हेर्न गए ।
केटीको बाउ : के काम गर्छन् तपाईंका छोरा....?
खडानन्द : धेरै मेहनती छ हजुर मेरो छोरा, बिहान ७ बजेदेखि राति ११ बजेसम्म एकैछिन नबिसाई फेसबुक चलाउँछ.... ।
खडानन्द र पत्नी ।
पत्नी : हेर–हेर, आज पनि मत्थुले मरुन्जेल रक्सी धोकेर आएछ ....टाइम कति भो ? हेर त ।
खडानन्द : १२ मा ५ कम .... ।
पत्नी : अझै धोक न रक्सी, ७ बजिरा’को छ, १२ मा ५ कम रे....!
खडानन्द : अनि १२ मा पाँच कमचाहिं कति भयो त ....?
खडानन्दको विवाह भएको २–३ महिना भा’ थ्यो ।
खडानन्द अफिसबाट घर आइपुगे ।
पत्नी : हामी चाँडै २ जनाबाट ३ जना हुँदैछौं ।
खडानन्द : हो र ...? (खडानन्द खुसीले पागल भए, पत्नीको हात चुमे, केश सुमसुम्याए ।)
पत्नी : तिमी यो कुराले यति खुसी भा’को देखेर मेरा त आँखै रसाए खडु ....!
अनि बस स्ट्यान्डमा मेरी मम्मीलाई लिन तिमी जाने कि म जानू ....?
खडानन्द मोबाइल पसलमा ।
खडानन्द : भाइ, सामसङ जे ७ म्याक्सको कति हो ?
पसले : २२ हजार ८ सय हो दाइ ।
खडानन्द : अरे बाफ रे ....
अनि आईफोन ७ को ....?
पसले : अरे बाफ रे, अरे बाफ रे, रे बाफ रे अनि आधा अरे बाफ रे .... ।
अर्धपागल खडानन्दले एकाबिहानै फेसबुकमा स्टाटस अपडेट गरे ।
खडानन्दको स्टाटस : धन्न मेरी पत्नी मुमताज होइन, नत्र प्रत्येक गल्लीमा ताजमहल बनाइदिन्थें ....!
छिमेकीको कमेन्ट : थुइक्क, पहिले आफ्नो घरमा ट्वाइलेट त बना । एकाबिहानै पूरा परिवारै लोटा बोकेर खोलातिर जान्छ ....ताजमहल बनाउने भिखारी .... ।
खडानन्द फिलिम हेर्न गएका बेला आफ्नी जीएफलाई अर्कै केटासँग देखे ।
खडानन्द : तिमी धोकेबाज रै’छौ, दुई–दुई जना ब्वाइफ्रेन्ड बनाउन के जरुरी थियो ?
जीएफ : तिम्रै फाइदाका लागि हो ?
खडानन्द : हँ .... के रे ? मेरो फाइदा ....?
जीएफ : अँ ...यस्तो महँगीमा तिमी एक्लैलाई किन मेरो सबै खर्च धान्न लगाउनु भनेर त हो नि !
खडानन्द र जीएफ फोनमा ।
खडानन्द : के गर्दैछौ ...?
जीएफ : म बेहुली तयार गर्दैछु पार्लरमा, मेरो पार्लर छ ....अनि तिमी ....?
खडानन्द : म बेहुलो तयार पार्दैछु ....
जीएफ : ए, ....तिम्रो पनि पार्लर छ ....?
खडानन्द : होइन, मेरो ‘गुप्त रोग उपचार केन्द्र’ छ ।
स्कुलको कक्षामा रामायण पढाउँदै ।
शिक्षक : लंकाको राजा रावणसँग कुन त्यस्तो कला थियो ? जो अरू कसैसँग थिएन ?
खडानन्द : रावणले एकैपटकमा १० जनाकेटीलाई किस गर्न सक्थ्यो सर !
खडानन्द र ठूलो छोरा ।
छोरा : बुबा, मलाई १ हजार रुपैयाँ दिनुस् त ।
खडानन्द : किन चाहियो १ हजार ?
छोरा : मेरा सबै साथीको एकाउन्ट छ, म पनि एकाउन्ट खोल्छु ।
खडानन्द : धेरै राम्रो, कहाँ खोल्छस् ?
छोरा : चुरोटको पसलमा ।
(चप्पलको झटारो)
खडानन्द अफिसमा ।
खडानन्द : बूढी कतै घुमाउन लैजाऊ भन्दैछे, छुट्टी चाहियो सर ६–७ दिनलाई ...।
मेनेजर : हुँदैन, छुट्टी मिल्दैन ।
खडानन्द : धन्यवाद सर, मलाई पर्या दु:खमा साथ दिने हजुर मात्र त हुनुहुन्छ ।
दरिद्र खडानन्द ।
खडानन्द : गरिबीको पनि हद हुन्छ नि यार ....!
साथी : किन ? के भो र ?
खडानन्द : मोबाइलको सेटिङमा गएर एयरप्लेन मोड लगा’को साइकल मोड देखाउँछ यार....!
खडानन्द र पत्नी ।
पत्नी : हेर खडु, हाम्रो छिमेकीकी पत्नी प्रत्येक शनिबार आफ्नो पतिसँग घुम्न जान्छे, तिम्ले कहिल्यै लग्या छौ ....?
खडानन्द : खै चार–पाँचवटा शनिबार त मैले पनि सोध्या हो, मसँग त जान्न घुम्न भन्छे, अनि के गर्नु त मैले ।