धेरै नै लागिपरेर खोजी र छानबिनपछि खडानन्दका छोराको विवाह भयो ।
खडु पत्नी : मलाई त नाति चाहिन्छ है छिट्टै ।
बुहारी : किन त्यस्तो हतार आमा, हतार नै लाग्या भए नाति नै लिएर आइदिन्थें नि, घरमै छाडेर आएकी छु नि त ।
२०४५ तिर खडानन्दले एउटा आवासीय माध्यमिक विद्यालय चलाएका थिए । १० कक्षाका विद्यार्थीको गुनासो ।
विद्यार्थी : सर बिजुली गैरहन्छ, त्यही भएर पढ्नै पाइँदैन ।
खडानन्द : पख्, म केही बन्दोबस्त गर्छु ।
विद्यार्थी : बिजुली बत्तीको हो सर ?
खडानन्द : होइन, एसईई सर्टिफिकेटको ।
खडानन्द पत्रिका पसलमा गए ।
खडानन्द : भाइ मलाई पत्रिका देऊ त ।
पसले : नेपाली पत्रिका दिऊँ कि अंग्रेजी दिउँm दाइ ?
खडानन्द : जुन दिए पनि हुन्छ भाइ, मलाई समोसा पोको पारेर घर लैजानु छ ।
जीएफ : तिमी चुरोट खाँदारैछौ अनि ।
खडानन्द : चुरोट त तिम्रा बुबाले पनि त खानुहुन्छ नि ।
खडानन्द कक्षामा पढाउँदै ।
खडानन्द : भन् त बिर्खे, भैंसीले किन पुच्छर हल्लाउँछ ?
बिर्खे : पुच्छरमा भैंसीलाई हल्लाउन सक्ने तागत हुँदैन त्यसैले भैंसीले नै पुच्छर हल्लाउँछ सर ।
खडानन्द र जीएफ पार्कमा बसेर गफ गरिरहेका थिए ।
खडानन्द : खोइ तिम्रो मोबाइल हेरुम त ।
जीएफ : भो पर्दैन, किन र ?
खडानन्द : यसो हेर्न मात्र हौ (खडानन्दले जबरजस्ती मोबाईल लिएर आफ्नो नम्बर डायल गरे)
मोबाइलको स्क्रिनमा देखाइरहेको थियो : रिचार्जवाला दाजु
खडानन्दको विवाह भा’को एक महिना चौध दिन भा’को थ्यो, हरिबोलसँग भेट भयो ।
हरिबोल : ओए खडु, तेरो पहिलेकी जीएफलाई पनि देखेको थिएँ त तेरो विवाहमा ।
खडानन्द : हो त यार, आएकी थिइ रे, ६ महिना अघिसम्म तिम्लाई पाइन भने बिष खान्छु भन्थी, मेरो विवाहभोजमा ३ पिलेट पुलाउ, ४ कचौरा मटन, १० वटा पकौडी, ४ डाडु अचार, २० वटा पानीपुरी र दुइटा आइसक्रीम खाएर गइ रे ।
जहिल्यै फेसबुकमा चुट्किला लेख्ने खडानन्दको भेट हरिबोलसँग भयो ।
हरिबोल : के हो यार, हिजोआज त तेरो जोक्स देख्दिन त ?
खडानन्द : धेरै फेसबूक चलायो भनेर आमाले मलाइ डिजिटल सजाय दिनुभो यार ।
हरिबोल : के भन्छ ? कस्तो हो यो डिजिटल सजाय भनेको ?
खडानन्द : ल्यापटप आँगनमा ल्याएर पाहा भ्यागुतो पछारेजस्तो पछार्दिनुभो, मोबाइल र चार्जर लुकाइदिनुभो ।
बरण्डामा राखिएको गमला खडानन्दकी पत्नीको गल्तीले फुट्यो । त्यही निहुँमा झगडा भयो ।
खडु पत्नी : तिम्रै गल्तीले हो, त्यो गमला राखेकै ठाउँ गलत थियो ।
खडानन्द : हो त, भइगो त अब, मैले सम्झिसकें त, आजभन्दा ठ्याक्कै छ वर्षअघि मैले त्यो गमला गलत ठाउँमै राख्या रै’छु भनेर मैले स्वीकारिसकें त ।