हरिबोल : यो फेसबुक नभाको भए के हुन्थ्यो होला नि ?
खडानन्द : यो फेसबुक नभाको भए केटीहरूलाई थाहै हुँदैनथ्यो, उनी कति Nice, Awesome, Beautiful, Gorgeous छिन् भन्ने कुरा ।
खडानन्द र उनकी पत्नी बेलुका खाना बनाउने बेलामा
पत्नी : के बनाउँ आज ?
खडानन्द : स–साना कुरालाई तिलको पहाड बनाउन छोडेर अरू जे बनाए पनि हुन्छ ।
खडानन्द र हरिबोल
खडानन्द : गोरो हुने कुनै एउटा राम्रो क्रिमको नाम बता न यार !
हरिबोल : किन चाहियो हौ गोरो हुने क्रिम तँलाई ?
खडानन्द : मलाई काले भनेर छोडेर गई यार †
खडानन्द र हरिबोलको फोनवार्ता
खडानन्द : कहाँ छस् हरि ?
हरिबोल : छिमेकी बाइक एक्सिडेन्टमा परेछ । करङ भाँचिएछ । टाउकोमा रगत जमेको छ रे । एउटा खुट्टो पनि भाँँचिएछ । उपचार गराउन आएको छु ।
खडानन्द : कहाँ ? हस्पिटलमा हो ?
हरिबोल : होइन, उहिले कोइराला बाले ५ जना पुरोहित राखेर
बिहे गराइदिएको वरपीपलको फेदको चौतारोमा ।
खडानन्द र हरिबोल
हरिबोल : ओए खडु, पत्रिका पढ्दा तँ राशिफल हेर्छस् कि हेर्दैनस् ?
खडानन्द : हेर्दिनँ यार !
हरिबोल : किन नहेर्या त ?
खडानन्द : विश्वासै लाग्दैन के हेर्नु ? अब हेर न । म अविवाहित मान्छे, तर मेरै राशिफलमा चाहिं प्राय सन्तानसुख र पुत्रलाभ लेख्या हुन्छ ।
खडानन्दकी पत्नी माइत गएकी थिइन् । पत्नीकै देखासिकी गरेर खडानन्द निराहार व्रत बसे मङ्गलबारको दिन ।
खडानन्द : ए छोरा, घाम डुब्यो ? हेर त ।
छोरा : डुबेको छैन बुबा ।
(फेरि एकछिन पछि )
खडानन्द : अबचाहिँ घाम डुब्यो कि हेर त ।
छोरा : अझै डुबेको छैन बुबा ।
खडानन्द : उफ ! यो घाम पनि मलाई लिएर मात्र डुब्ला जस्तो छ आज ।
खडानन्द र हरिबोल
खडानन्द : पहिले–पहिलेका पाहुना अलि सजिला खालका हुन्थे, हिजोआजका साह्रै अप्ठ्यारा हौ ।
हरिबोल : किन र ?
खडानन्द : पहिलेका पाहुनालाई चियाखाजा दिए पुग्थ्यो । आजकालका पाहुनालाई चियाखाजाका साथै वाइफाईको पासवर्ड र मोबाइलको चार्जर समेत दिनुपर्छ यार ।
खडानन्दकी पत्नीले बजारबाट एकजोडी कुर्ता सलवार लिएर आइन्
खडानन्द : फेरि अर्को नयाँ कुर्तासलवार लिएर आयौ ? अस्तिका दिन मात्रै.... ।
पत्नी : (चिच्याउँदै) के अस्तिका दिन मात्रै ? के भन्न खोज्या ? के हो ? भन न, के अस्तिका दिन भनेको ? बोल न, के भन्न खोज्या ? के भनेको अस्ति ? किन मुख बन्द गरेको ? के हो ? भन न मलाई खुरुक्क, के भन्न खोज्या तिम्ले ?
खडानन्द : केही होइन हौ, एक जोडी त अस्तिका दिन मात्र ल्याएको, आज त अरु दुई जोडी ल्याएको भए हुन्थ्यो नि, भनेको क्या ।
खडानन्द र हरिबोल
हरिबोल : तेरी श्रीमती त त्यति धेरै नबोल्ने, साह्रै शान्त स्वभावकी रै’छिन् ? तेरो घरमा त सधैं नै शान्ती र खुसीयाली होला नि ?
खडानन्द : तँलाई के थाहा हौ हरि, उच्च गुणस्तरको रिभल्वरमा साइलेन्सर राख्या हुन्छ भन्ने कुरा ।
कन्जुस खडानन्दका काका मरे । यो सुचना आफन्तलाई दिन खडानन्दले स्थानीय पत्रिकामा समवेदना छपाउने विचार गरे ।पत्रिकावाला : एक शब्दको पचास रुपैयाँ लाग्छ हजुर ।
खडानन्द : हुन्छ । लेखिदिनुस् न ‘काका मरे’
पत्रिकावाला : कम्तीमा ५ शब्द चाहिन्छ हजुर †
खडानन्द : ल ठीक छ, उसो भए लेखिदिनुस् ‘काका मरे, ह्वीलचेयर बिक्रीमा छ’ ।
खडानन्द छोरो पढ्ने स्कुलमा पुगे ।
प्रिन्सिपल : तपाईंको छोरो पढाइमा साह्रै कमजोर छ हजुर
खडानन्द : ए हो ? अनि लेखाइमा चाहिँ कस्तो छ नि हजुर ?
प्रिन्सिपल : लेखाइमा त झन् के भन्नु र हजुर, उसले लेख्या ऊ आफंैले पनि बुझ्दैन ।
खडानन्द : ल हजुर बधाई छ मलाई बधाई छ, छोरामा डाग्डर हुने लक्षण देखिएछ ।
खडानन्द र हरिबोल
हरिबोल : संसारमा एउटा यस्तो पनि सम्बन्ध हुन्छ, जसमा जातपात, धनि गरिब, कालोगोरो, उचनिच, धर्म, सम्प्रदाय केही हेरिँदैन, त्यो कुन सम्बन्ध हो ?
खडानन्द : अवैध सम्बन्ध ।