
खडानन्द र हरिबोल
खडानन्द : पहिले पहिलेका पाहुना अलि सजिला खालका हुन्थे, हिजोआजका साह्रै अप्ठ्यारा हौ ।
हरिबोल : किन र ?
खडानन्द : पहिलेका पाहुनालाई चियाखाजा दिए पुग्थ्यो । आजकालका पाहुनालाई चियाखाजाका साथै वाइफाईको पासवर्ड र मोबाइलको चार्जर समेत दिनुपर्छ यार ।
-o-o-o-
खडानन्दकी पत्नीले बजारबाट एकजोडी कुर्ता सलवार लिएर आइन्
खडानन्द : फेरि अर्को नयाँ कुर्तासलवार लिएर आयौ ? अस्तिका दिन मात्रै ।
पत्नी : (चिच्याउँदै) के अस्तिका दिन मात्रै ? के भन्न खोज्या ? के हो ? भन न, के अस्तिका दिन भनेको ? बोल न, के भन्न खोज्या ? के भनेको अस्ति ? किन मुख बन्द गरेको ? के हो ? भन न मलाई खुरुक्क, के भन्न खोज्या तिम्ले ?
खडानन्द : केही होइन हौ, एक जोडी त अस्तिका दिन मात्र ल्याएको, आज त अरु दुई जोडी ल्याएको भए हुन्थ्यो नि, भनेको क्या ।
-o-o-o-
खडानन्द र हरिबोल
हरिबोल : तेरी श्रीमती त त्यति धेरै नबोल्ने, साह्रै शान्त स्वभावकी रै’छिन् ? तेरो घरमा त सधैं नै शान्ती र खुसीयाली होला नि ?
खडानन्द : तँलाई के थाहाँ हौ हरि, उच्च गुणस्तरको रिभल्वरमा साइलेन्सर राख्या हुन्छ भन्ने कुरा ।
-o-o-o-
कन्जुस खडानन्दका काका मरे । यो सुचना आफन्तलाई दिन खडानन्दले स्थानीय पत्रिकामा समवेदना छपाउने विचार गरे ।
पत्रिकावाला : एक शब्दको पचास रुपैयाँ लाग्छ हजुर ।
खडानन्द : हुन्छ । लेखिदिनुस् न ‘काका मरे’
पत्रिकावाला : कम्तीमा ५ शब्द चाहिन्छ हजुर !
खडानन्द : ल ठीक छ, उसो भए लेखिदिनुस् ‘काका मरे, ह्वीलचेयर बिक्रीमा छ’ ।
-o-o-o-
खडानन्द छोरो पढ्ने स्कुलमा पुगे ।
प्रिन्सिपल : तपाईंको छोरो पढाइमा साह्रै कमजोर छ हजुर ।
खडानन्द : ए हो ? अनि लेखाइमा चाहिँ कस्तो छ नि हजुर ?
प्रिन्सिपल : लेखाइमा त झन् के भन्नु र हजुर, उसले लेख्या ऊ आफैंले पनि बुझ्दैन ।
खडानन्द : ल हजुर बधाई छ मलाई बधाई छ, छोरामा डाग्डर हुने लक्षण देखिएछ ।
-o-o-o-
खडानन्द र हरिबोल
हरिबोल : संसारमा एउटा यस्तो पनि सम्बन्ध हुन्छ, जसमा जातपात, धनि गरिब, कालोगोरो, उचनिच, धर्म, सम्प्रदाय केही हेरिँदैन, त्यो कुन सम्बन्ध हो ?
खडानन्द : अवैध सम्बन्ध ।
-o-o-o-
खडानन्द र हरिबोल
खडानन्द : फेसबुक चलाउनुको पनि एउटा फाइदा चाहिं छ यार !
हरिबोल : के फाइदा ?
खडानन्द : न हातखुट्टा भाँचिने डर न त हेल्मेट र लाइसेन्सको झमेला ।
-o-o-o-
खडानन्द र कक्षा ७ मा पढ्ने छोरो
खडानन्द : ठूलो भएपछि के बन्ने विचार छ बाबु तेरो ।
छोरा : म डाक्टर बन्छु बुबा
खडानन्द : बन्छस् डाग्डर, डाग्डर बन्न त क्षमता हुनु प¥यो नि । त्यही खाले लक्षण त देखिनुपर्यो नि ।
छोरा : पहिले मेरा सबै कापी ल्याएर ह्यान्डराइटिङ त हेर्नुस् ।
-o-o-o-
खडानन्दकी पत्नीले पतिलाई छड्के नजरले हेर्दै कपडा फेरिन्, रातको ११ बजे ।
पत्नी : के छ बिचार ? अब के गर्ने ? त्यो त याद छ होला नि, मेरो प्यारो खडुलाई ।
खडानन्द : चिप्लो घस्नु पर्दैन, मलाई कुरोसुरो केही थाहाँ छैन, यति रातिचाहिँ म मरे पनि कपडा धुँदिन, भन्देको छु मैले ।
-o-o-o-
खडानन्द भूगोल पढाउँदै
खडानन्द : सप्तकोसी नदी कहाँ बग्छ ?
बिर्खे : जमिनमा बग्छ सर ।
खडानन्द : हे मूर्ख, नक्सामा कहाँ बग्छ ? भनेको ।
बिर्खे : नक्सामा कसरी बग्नु सर नदी ? नक्सा भिजिहाल्छ नि ।
-o-o-o-
खडानन्दकी पत्नी र पार्वतीको गफ
पार्वती : पति र उल्लूमा के फरक छ बहिनी ?
खडुपत्नी : धेरै फरक छ नि हौ दिदी, पतिलाई सजिलै उल्लू बनाउन सकिन्छ, तर उल्लूलाई चाहेर पनि पति बनाउन सकिंदैन ।
-o-o-o-
खडानन्द आफ्नो अलि आवारा खालको लठुवा छोराको विवाह गर्दिनुपर्यो, अलि सुध्रिन्छ कि भनेर केटी हेर्न गए । कुराकानीपश्चात् :
केटीको बाउ : ल हजुर
भइगो, कुरो अघि नबढाउँ । हामीलाई केटो (तपाईंको छोरो) मन परेन ।
खडानन्द : केटो (मेरो छोरो) त हामीलाई पनि मन परेको छैन नि हजुर तर के गर्नु, घरबाटै निकाल्दिनु ? त्यसो गर्न पनि अलि मिलेन होला त ।