बन्दना राणा अरूले गरेको फेसन र अहिलेको ट्रेन्डको प्रशंसा गर्छिन् । तथापि उनी व्यक्तित्व नै सुधार गर्नुपर्ने एवं मानिसले आफ्नो बाहिरी र भित्री दुवै आवरणमा बराबर ध्यान पुर्याउनुपर्ने कुरा बताउँछिन् ।
घर बस्दा सलवार–कुर्ता नै लगाउने राणाले अहिलेसम्म पाइन्ट र सर्ट लगाएकी छैनन् । उनी साडी र कुर्ताको गुणस्तरीयतामा विशेष ध्यान दिन्छिन् । राणा सार्वजनिक कार्यक्रममा जाँदा साडी वा सलवार–कुर्ता नै लगाउँछिन् । मेकअपमा खासै ध्यान नदिने राणाले अहिलेसम्म ग्लिसरिनबाहेक अरू कुनै सौन्दर्य प्रसाधन किनेकी छैनन् । टिपटप हुने कुरामा खासै रुचि नराख्ने राणा गहना, मेकअप तथा एसेसरिजजस्ता कुरामा आवश्यक प्रयोजनबाहेक त्यति मोह राख्दिनन् ।
यति हुँदाहुँदै पनि उनको हातमा घडी भने कहिल्यै छुट्दैन । घडीमा पनि उनी ब्रान्ड कन्सियस छैनन् । उनले एकपटक खरिद गरेको घडी बिग्रिएपछि मात्र अर्काे किन्ने गरेकी छिन् । बन्दना प्राय: डायरी, फायल तथा अन्य आवश्यक सामग्री बोक्न आरामदायक ब्याग नै साथमा राख्छिन् भने कालो रंगको जुत्ता लगाउँछिन् । उनी आफ्ना लागि आवश्यक जुत्ता बेन्टले ब्रान्डको मात्र किन्छिन् ।
राणा भन्छिन— ‘समयअनुसार फेसनमा फरकपन त आएको छ, तर भद्दा पाराले गरिने फेसनलाई महत्त्व नदिन सबैसँग आग्रह गर्छु । पहिरनमा ध्यान दिनुपर्छ र यो आवश्यक कुरा पनि हो, तर फेसनको नाममा शरीरको प्रदर्शन भने आवश्यक छैन ।’