दबंग स्टार सलमान खानसँग अभिनय गर्न चाहने अभिनेत्री प्रशस्तै छन्, तर थोरै अभिनेत्रीको मात्र उक्त रहर पूरा हुन्छ । कतिसम्म भने निर्देशक–निर्माताले अभिनेत्री फाइनल गरेपछि समेत सलमानले कलाकार काँटछाँट गर्छन् । हालै बागी–२ की अभिनेत्री दिशा पाटनीले आगामी चलचित्र भारतमा सलमानसँग स्क्रिन सेयर गर्ने खबर बाहिरिएको छ ।
दिशाले भारतीय मिडियाहरूमा अन्तर्वार्ता दिने क्रममा सलमानसँग धमाकेदार चलचित्रमा काम गर्न चाहेको खुलासा गरेकी थिइन् । बुझिएअनुसार निर्देशक अली अब्बास जफरको चलचित्र भारतमा दिशाले अवसर प्राप्त गरेकी हुन् । उक्त चलचित्रका लागि दिशाको इन्ट्रीका सम्बन्धमा सलमान खानले ओके समेत भनिसकेका छन् ।
उक्त चलचित्रका लागि सलमान खान तथा प्रियंका चोपडा यसअघि नै फाइनल भैसकेका छन् । चलचित्र भारतमा अभिनेत्री पाटनीको भूमिका के–कस्तो छ भन्ने कुरा भने बाहिरिएको छैन । स्रोतको दाबीअनुसार दिशाले सलमानको अपोजिटमा प्रशंसा गर्न लायक काम पाउनेछिन् ।