साप्ताहिक संवाददाता
रेबेल विदाउट अ कज, जायन्ट, इस्ट अफ एडेन, हिल नम्बर वान जस्ता ५० को दशकका लोकप्रिय हलिउड चलचित्रका अभिनेता जेम्स डिन चलचित्रमा फेरि ब्युँतिने भएका छन् । सन् १९५५ मा २४ वर्षकै उमेरमा एक कार दुर्घटनामा परेर मृत्युवरण गरेका जेम्स डिनलाई उनको मृत्युको ६४ वर्षपछि फाइन्डिङ ज्याक नामक चलचित्रमा हेर्न पाइने भएको छ । भियतनाम युद्धमा आधारित यो चलचित्रको निर्माण म्याजिक सिटी चलचित्र कम्पनीले निर्माण गरिरहेको छ ।
उक्त चलचित्रमा जेम्स डिनलाई उनका पुराना भिडियो तथा तस्बिरका आधारमा सीजीआई प्रविधि प्रयोग गरेर ब्युँत्याइनेछ । चलचित्रका निर्माता एन्टन एन्स्टका अनुसार यसका लागि जेम्स डिनको परिवारले चलचित्र युनिटलाई सहयोग गरिरहेको छ ।
यद्यपि यो समाचारको विरोधमा जेम्स डिनका प्रशंसकहरू सडकमा ओर्लने सम्भावना पनि छ । उनका कतिपय प्रशंसकले निर्माताहरूको यस्तो प्रयोग दिवंगत कलाकारप्रति अपमानपूर्ण व्यवहार भएको बताउँदै त्यसको विरोध गरेका छन् ।