साप्ताहिक संवाददाता
मंसिर १७, २०७६
६२ औं ग्रामी एवार्डस्को मनोनयन सूची सार्वजनिक गरिएको छ । जनवरी २७ का दिन वितरण गरिने विश्वकै सर्वोच्च संगीत सम्मानको उद्घोषण अभिनेत्री तथा गायिका एलिसिया केजले गर्ने तय भएको छ । लस एञ्जलसमा सञ्चालन हुने यसपटकको ग्रामी एवार्डका लागि विभिन्न ८४ विधाको मनोनयन सूची सार्वजनिक गरिएको हो ।
यसपटकको एवार्डका लागि टेलर स्विफ्ट, एरियाना ग्रान्डे, शान मेन्डेस, केमिला कबेलो, बेयोन्से, बिली एलिश, एड शीरन तथा जोनस ब्रदर्श जस्ता संगीतकर्मीहरू मनोनीत छन् । यसबाहेक अमेरिकी गायिका लिज्जो सर्वाधिक ८ विधामा मनोनीत छिन् भने बिली एलिश तथा लिल नेस एक्स ६–६ विधामा मनोनीत छन् । एरियाना ग्रान्डे तथा एचईआर ५–५ विधामा मनोनीत छन् भने टेलर स्विफ्ट तथा लेडी गागा ३–३ विधामा मनोनीत भएका छन् ।