साप्ताहिक संवाददाता
हलिउड अभिनेता तथा गायक डनी वालबर्गले नयाँ वर्षको मौका पारेर एउटा रेस्टुराँकी वेट्रेसलाई २०२० डलर (करिब २ लाख ३० हजार रुपैयाँ) टिप्स दिएका छन् । उनकी श्रीमती जेनीले एउटा तस्बिर सेयर गर्दै उक्त कुराको जानकारी दिएकी हुन् । तस्बिरका अनुसार डनीले ७८ डलरको बिलमा उक्त रकम टिप्सका रूपमा दिएकी हुन् । अनुमान के लगाइएको छ भने यो पछिल्लो इन्टरनेट ट्रेन्ड २०२० टिप च्यालेन्जको एउटा अंग हो ।
जेनी र डनी दुवै मिसिगनस्थित एउटा रेस्टुराँमा नयाँ वर्षको अवसर पारेर खाना खान गएका थिए । दुवैले करिब ९ हजार रुपैयाँको खाना खाए र वेटरसलाई झन्डै साढे २ लाख टिप्स दिए । उक्त जोडीले रेस्टुराँको बिलमा ‘ह्याप्पी न्यू इयर’ लेख्दै ट्विटरमा उक्त तस्बिर सेयर गरिदिए । यति धेरै टिप्स पाएपछि वेटरस डेनियल फ्रान्जोनी निकै खुसी छन् ।
उनले उक्त रकम आफ्ना बच्चाहरूको भविष्यका लागि खर्च गर्ने बताएका छन् । सीएनएनले जनाएअनुसार यो २०२० टिप च्यालेन्जकै एउटा अंश हो । उक्त ट्रेन्डमा खाना पस्किनेलाई वर्षको आँकडाअनुसार टिप्स दिइन्छ । सन् २०१८ मा पनि यस्तो समाचार सार्वजनिक भएको थियो । च्यालेन्जअनुसार खाना खानेले १ सय प्रतिशत टिप्स दिनुपर्ने हुन्छ ।