साप्ताहिक संवाददाता
विमानस्थलमा चेकिङका क्रममा महिला प्रहरीबाट दुव्र्यवहार भएको भन्दै गायिका आस्था राउतले आक्रोश ब्यक्त गरेकी छिन् । उनले आफुमाथि दुव्र्यवहार भएको आक्रोश सहितको भिडियो सार्वजनिक गरेकी छिन् । अहिले उनको उक्त भिडियो सामाजिक संजालमा भाइरल भैरहेको छ ।
चेकिङका क्रममा एक महिला प्रहरीले आफूलाई ‘तँ’ भनेको भन्दै आस्थाले आक्रोश पोखेकी हुन् । उनले भनेकी छिन् –‘मेरो हातमा कफी थियो । त्यसैले, मैले आफै चेक गर्नुहोस् भने । तर, उसले मलाई ज्याकेट खोल भनेर बोलिन् । त्यही हो बोल्ने पारा । यो पुुलिस हाम्रो साथी भन्ने नारा हटाए हुन्छ ।’
साधारण जनतालाई सम्मान नगर्ने बानी हटाउन आस्थाले नेपाल प्रहरीसँग आग्रह गरेकी छिन् । आस्थाले भिडियोमा भनेकी छिन्–‘यो नेपाल प्रहरीको जरामा नै गन्ध छ । माथि टुप्पाबाट दर्शन, यत्रो, दर्शन । कस्तो दर्शन हो यो । मलजल गर । जरा नै कुहिएको छ ।’
प्रहरीको यूनिफर्म लगाएको भरमा सर्वसाधरणलाई धम्काउन नमिल्ने भन्दै आस्थाले भनेकी छिन् प्रहरीको माथिल्लो पोष्टमा बस्नेहरुले सिपाही, हवल्दारलाई संकार दिनुहोला । हजुरहरुलाई मात्र होइन, अरुलाई पनि हजुर भन्ने सिकाउनुहोस् । ‘तँ’ भनेको हामी सहँदैनौँ । घरकै बाबु आमाले त अहिलेसम्म ‘तँ’ भनेका छैनन् । सम्मान गर जनतालाई । तिमीहरुलाई सम्मान चाहिन्छ भने अरुलाई पनि सम्मान गर ।’