हिजो जस्ता चलचित्रहरू चल्थे, ती एकदमै कमजोर थिए । ती चलचित्रहरूलाई सिर्जनात्मक कसीमा तौलेर हेर्ने हो भने उच्च कोटीका थिएनन् । ०५२/०५३ साल पछाडि हामीले अत्यन्तै कमजोर चलचित्रहरू पायौं र दर्शकले त्यसैमा चित्त बुझाउनुपर्ने बाध्यता भयो । यस अवधिमा खासगरी हिन्दी चलचित्र कपी गरेर नेपाली बनाइन्थे । ती कालखण्डमा जन्मिएका ‘स्टार’हरू जसको हामी अहिले कमब्याकको चर्चा गरिरहेका छौं, उनीहरूसँग चलचित्रको अत्यन्तै कम ज्ञान थियो ।
चलचित्र साक्षरता कम भएका मान्छेहरू चलचित्र बनाइरहेका थिए । र, त्यतिबेला जसले स्टारडमको कुरा गरिरहेको थियो, खासमा उनीहरू नै नेपाली चलचित्रको विकासमा बाधक थिए । र, ०५२ सालपछिका दुई दशक त नेपाली चलचित्र क्षेत्रका लागि ‘कालो समय’ नै बन्यो । यो समयमा कलाकार, निर्देशकमात्रै होइन, दर्शकहरूमा पनि चलचित्र साक्षरता एकदमै कम थियो । यसबेला हिन्दी चलचित्रलाई महान् मानेर त्यसैको कपीमा बनेका चलचित्रहरूमा अभिनय गरेर स्टार बनेका ति कलाकारहरू ‘कमब्याक’ हुँदा सफल हुने त चान्स नै छैन ।
अहिले त दर्शकहरूमा चलचित्र साक्षरता बढिरहेको छ । उनीहरूसँग जस्तो खोजे त्यस्तै विकल्प छन् । यस्तो अवस्थामा त्यही पुरातन मनोविज्ञान बोकेर चलचित्र फर्किएका कलाकारहरू असफल हुनु स्वाभाविक हो । अर्को कुरा, अहिले केही थिएटरबाट आएका एक्टर बाहेक अधिकांश कलाकारलाई कथा के हो, बलियो कथा कस्तो हुन्छ, बलियो पात्र कस्तो हुन्छ, पात्रहरूले कस्तो–कस्तो तत्त्व बोकेको हुनुपर्छ इत्यादि कुराको ज्ञान नै छैन । यदि त्यो ज्ञान हुँदो हो त उनीहरू जुनसुकै कालखण्डमा आए पनि त्यो पात्रलाई बलियो बनाउन काम गर्थे र पात्र बलियो भएको अवस्थामा कथाको निर्माणमै महत्त्वपूर्ण भूमिका खेल्थे । त्यसपछि उनीहरू कलाकारभन्दा माथि उठेर सर्जक हुन्थे र चलचित्रको सिर्जनाशीलतामै अहम् भूमिका खेल्न सक्थे ।
हाम्रो विडम्बना भन्नुपर्छ, हिजोको चलचित्र मेकिङका बेला कलाकारलाई त के निर्देशकलाई समेत यी कुराको आवश्यकता पर्थेन । क्यामेरामा उभिन सक्ने, अलिकति वलिष्ठ, दुई/चारवटा स्टेप नाच्न जान्ने भएपछि निर्माता/निर्देशकसँग पहुँच भयो भने र खल्तीमा केही पैसा भयो भने कलाकार बनिन्छ भन्ने मानसिकता थियो । धेरैजसो कलाकार ‘पर्फमिङ आर्ट’मा प्रशिक्षित थिएनन् ।
त्यो समय धेरैजसो कलाकार कि डान्स सेन्टरबाट आइरहेका हुन्थे, कि ज्यान बनाएर जिम हलबाट । तर, नाच्न जान्नु, सुगठित शरीर बनाउनु र पात्रको अभिनय गर्नु त नितान्त फरक कुरा हो । यो त सिद्धान्तसँग जोडिने कुरा हो ।
अब यस्तो अवस्थामा जन्मिएका स्टारहरू आज फर्किंदा पनि उही मानसिकता बोकेर फर्किरहेका छन् । आज पनि त्यस्तै चलचित्र चल्छ भन्ने ठानिरहेका छन् ।
कलाकारहरू मान्छन्, हामी सधैं जीवित हुन्छौं, सधैं शक्तिशाली हुन्छौं । तर, यो भ्रम हो । किनभने खासमा कलाकार होइन, उनीहरूले निर्वाह गर्ने पात्रचाहिँ सधैं बाँच्ने हो, सधैं शक्तिशाली हुने हो, राम्रोसँग निर्वाह गरेको खण्डमा । कलाकारले आफ्नो नाम, आफ्नो स्टारडमभन्दा महत्त्वपूर्णचाहिँ पात्र हुन्छ भन्ने बुझ्न सकेको भए सायद उनीहरूको कमब्याक हुन सक्थ्यो । किनभने त्यतिबेला उनीहरूको ध्यान पात्र निर्माणतर्फ हुन्थ्यो ।
तर, यहाँ त हिजो मैले घ्यू खाएको हो, त्यसैले आज पनि बलियो हुनुपर्छ भन्ने मनोविज्ञानले उनीहरूलाई डुबाइरहेको छ । दर्शक अहिले चलचित्रमा स्टार होइन, पात्र हेर्न खोजिरहेका छन् । चलचित्रलाई लिएर संसारमा दुइटा भनाइ छन् । एकथरी भन्छन्– ‘रिपिटेसन’ चल्छ, अर्कोथरी भन्छन् यस्तो चल्दैन । तर, मेरो दृष्टिकोणमा एउटै कुरा १० पल्ट कोच्याउन खोज्यो भने त्यो चल्दैन ।
अझ कला साहित्यको हकमा त उही स्वाद सधैं काम लाग्दैन । उदाहरण, शाहरूख खानलाई ‘दिल्वाले दुल्हनिया लेजाएगें’ फिल्ममा जस्तै अझै पनि रोमान्टिक हिरोको भूमिकामा देखाउँदा चल्छ भन्ने मनोविज्ञानले अहिले शाहरूख फसादमा छन् । त्यस्तै नेपालमा दिलीप रायमाझीलाई ‘दर्पणछायाँ’ जस्तै भूमिकामा दोहोर्याउन खोज्दा उनीहरू डुबे ।
अब निखिल उप्रेतीले मैले सात तलाबाट हाम फालेको अझै दर्शक हेर्न रुचाउँछन् भन्ने मनोविज्ञानलाई परै राख्नुपर्छ । विराज भट्टले मलाई अझै दर्शकले १० जना गुन्डालाई किक हानेको मन पराउँछन् र दिलीप रायमाझीले मलाई अझै दर्शकले नाचेको हेर्न चाहन्छन् भन्ने मनोविज्ञान त्याग्नुपर्छ ।
यदि पात्र निर्माणमा आधुनिक भइदिएको भए, समयअनुसार आफूलाई अपग्रेड गर्न तयार भइदिएको भए, सिर्जनात्मकता ध्यान दिएको भए आज पक्कै ती कमब्याक भएका कलाकारहरूको नतिजा सुखद हुने थियो । तर, यहाँ त स्टारडमकै धमास ज्यादा भयो, मैले जे जानेको छु त्यो नै सबथोक हो भन्ने भ्रम ज्यादा भयो, म जे गर्न सक्छु त्यो नै दर्शकले रुचाउँछन् भन्ने आत्मविश्वास बढी भयो । र, यही कारण उनीहरूको कमब्याक कमजोर भइरहेको हो जस्तो लाग्छ ।