बलिउड गायिका कनिका कपुर कोरोना भाइरसबाट संक्रमित देखिएकी छिन् ।
इन्स्टाग्राममा पोस्ट गर्दै उनले उक्त कुराको जानकारी दिएकी हुन् । उनले लेखेकी छिन्, ‘पछिल्लो चार दिनदेखि ममा फ्लूको लक्षण देखिरहेको थियो । जब मैले जाँच गराएँ, त्यसपछि ममा कोभिड–१९ को संक्रमित रहेको पाइयो ।’
हाल कनिका लखनऊको किंग जर्ज मेडिकल यूनिभर्सिटी अस्पतालको आइसोलेसनमा छिन् ।
भारतीय मिडियाका अनुसार उनी गत मार्च १५ मा लण्डन यात्राबाट लखनऊ फर्किएकी थिइन् । ब्रिटेनमा अहिलेसम्म करिब २५ सय मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
कनिकाका अनुसार लण्डनबाट फर्किने क्रममा उनलाई एयरपोर्टमा चेक पनि गरिएको थियो तर कुनै लक्षण देखिएको थिएन ।
समाचार अनुसार कनिका लण्डनबाट फर्किनासाथ लखनऊको एक होटलमा करिब १ सय मानिसको उपस्थितीमा आयोजना भएको पार्टीमा सहभागि भएकी थिइन् । कनिकाले इन्स्टाग्राममा लेखेकी छिन्, ‘मैले र मेरो परिवारले पूर्ण सावधानी अपनाइरहेका छौं । अलग–अलग बसिरहेका छौं । डाक्टरको सल्लाह लिइरहेका छौं । म जुनजुन मान्छेको सम्पर्कमा रहेको थिएँ, उनीहरु सबैको पनि जाँच भइरहेको छ ।’
हाल सोसल मिडियामा कनिकाको खबरलाई लिएर धेरैले उनलाई ‘गैर जिम्मेवार’ भएको टिप्पणी गरिरहेका छन् । ट्विटमा #KanikaKapoor अहिले ट्रेन्डिङमा छ । सोसल मिडियामा अहिले उनलाई धेरैले प्रश्न गरिरहेका छन्, ‘अरुको ज्यान जोखिममा पार्ने प्रयत्न किन गरेको ?’