साप्ताहिक संवाददाता
विहान उठ्यो, केहिबेर योग गर्यो, घरभित्रै काम गर्यो, परिवारका सदस्यलाई साथ दियो, छोरासँग कहिले ब्याडमिन्टन खेल्यो, श्रीमतीसँग गफियो, कविताका दुई चार हरफ कोर्यो । अभिनेता जीवन लुईंटेलका दिनहरु हिजोआज अमेरिकामा यसैगरी बितिरहेका छन् ।
नेपालमा हुँदा फिल्म र म्युजिक भिडियोको सुटिङले ब्यस्त हुने जीवन अमेरिका गएपछि सेटलमेनको प्रेसरले परिवारसँग त्यत्ति समय ब्यथित गर्न पाएका थिएनन् । जीवनमा धेरै कुरा आफुले छुटाएको रहेछु भन्ने भान उनलाई अहिले पर्न थालेको छ । उनी भन्छन्– ‘करिअर बनाउने यो भागदौडमा म पूर्णरुपमा श्रीमान् र पिता बन्नै पाएको रहेनछु । एकै ठाउँमा बसेर पनि समय दिन नपाउँदा थुप्रै कुरा छुट्दा रहेछन् । अहिले म त्यो ग्यापलाई पुर्ने प्रयासमा छु ।’
कोरोना संत्रासका कारण पूर्वनिर्धारित धेरै कार्यक्रम स्थगित भए । कति पछि सरेका छन् । नयाँ कार्ययोजना बनाउन मनले सकिरहेका छैनन् । अहिले कोरोनाको यो संत्रास कहिलेसम्म रहन्छ भनेर कुर्नु वाहेक केही छैन ? यो वर्षको दसैंमा नेपाल आउने योजना बुनेका जीवन अहिलेको अवस्थालाई हेर्दा नेपाल जाने योजना पुरा हुन्छ की हुदैन भन्ने दोधारमा छन् ।
यतिबेला संसार टक्क अडिएको स्थितीमा छ । कोरोना माथी विजय प्राप्त गर्न नसक्दा विज्ञानको क्षेत्र पराजित अवस्थामा देखिन्छ । यस्तो अवस्थामा पहिलो प्राथमिकता आफ्नो जीवन भएकै कारण आफुलाई र परिवारका सदस्यलाई घरभित्रै सुरक्षित राख्नु पर्ने भएको छ । उनी भन्छन्– ‘कोरोना भाइरसको संक्रमण भएर निको हुने कुरामा कुनै ग्यारेन्टी छैन तर घर भित्रै सुरक्षित बसेमा संक्रमण नहुने कुरामा ग्यारेन्टी गर्न सकिन्छ ।’
अहिले बिभिन्न परिकार बनाएर खायो, बस्यो, मोबाईलको स्क्रिनमा औला दौडायो । समाचार पढ्यो । विश्वमा कहाँ के भैरहेको छ अपडेट लियो । तर, जहाँ बसेपनि सबैभन्दा पहिला त नेपालमा के भैरहेको छ, सोही कुरा जान्न मन लाग्दो रहेछ । उनी पनि सबैभन्दा पहिला नेपालकै समाचार पढ्छन् । मानिसहरु राहतलाई लाइनमा बसेका, मजदुरहरू खान नपाएर सयौं किलोमिटर हिँडेर घर फर्किएका जस्ता दृष्य र समाचारले कहाली बनाउछ । नेपालमा बढ्दै गएको कोरोना संक्रमितको संख्याले पिरोल्छ । यो अवस्था बढ्दै जाने हो भने सामान्य हुन समय लाग्छ ।
त्यसो त उनी त्यत्ति धेरै सामाजिक सञ्जाल पनि चलाउँदैनन् । लामो समय पछि हालै फेसबुकमा एक भिडियो अपलोड गरे । आफ्नै भिडियो हेर्दा जीवनलाई आफ्नै फेसबुकको आफैं दर्शक भएको जस्तो लाग्यो । जीवनको सोच थियो, यो प्रवासमा बसेर सामाजिक सञ्जालमा के लेखौं, के लेखौं । उनी भन्छन् ‘जून दिन नेपाल फर्किएर कुनै काम गर्छु अनि सामाजिक सञ्जालमा एक्टिभ हुन्छु भन्ने थियो । तर, आफ्नो मन र सोच भन्दा आफ्नाको माया ठूलो कुरा रहेछ । माया गर्नेहरुले बारम्बार खोजिरहनु भयो ।
३ वर्षपछि फेसवुकमा झुल्किएका जीवनले थोरै फूलेका केस र दाह्रीलाई कवितात्मक शैलीमा भने ‘दाह्री कपालमा प्राकृतिक हाईलाईट भएको छ । समयको प्रभाव, त्यो पनि स्विकार्य छ ।’ समाचारमा भएजस्तो अमेरिकामा आफूहरुको जीवन भयावह नभएको बताउँदै जीवनले यो समयमा सबैलाई सकारात्म सोच्न आग्रह समेत गरे । उनी भन्छन्– ‘यस्ता खाले महामारी बारम्बार आएका छन् । समाधान पनि भएका छन् । कोरोनाको यो महामारी पनि समाधान हुने छ । आशावादी भएर बाँचौ ।’