संसार कोरोना महाव्याधिको भयबाट अझै आक्रान्त छ । कुनै खोप र औषधी अहिलेसम्म पत्ता नलागेको यो व्याधिबाट बच्न सकिने एउटै उपाय यसको फैलावट रोक्नु हो । अहिले त्यही फैलावट रोक्न संसारका धेरैजसो देशहरूमा लकडाउन जारी छ । नेपालमा पनि झण्डै दुई महिनादेखि पूर्ण लकडाउन छ । विश्वव्याधिको यही त्रासपूर्ण तरंगर लम्बिँदो लकडाउनका कारण मानिसको सिंगो जीवनशैलीमा भने धेरै नै हेराफेरी आइरहेका छन् । सामान्य हिँडडुलदेखि व्यापारसम्म, रोजगारीदेखि सामाजिक जमघटसम्म, अनि सिर्जनशील कामदेखि उत्पादनशील क्षेत्रसम्म कोभिड–प्रकोपले मानिसलाई नयाँ जुक्तिहरू सिकाएको छ ।
लकडाउनमा घरभित्र बसेर मात्रै दैनिक जीवनयापन हुन नसक्ने भएपछि मानिसले अनेक विकल्पहरू अँगालिरहेका छन् । नेपालीमा एउटा पुरानो शैलीको उखान छ– ‘खाने मुखलाई जुँगाले छेक्दैन’ । अर्थात् काम गर्ने र सिर्जनशील हुनेहरूलाई संकटको समयले पनि बाधा पुर्याउन सक्दैन । मानिसहरू यतिखेर नवीनतम सोंचले आफ्ना दैनिकी क्रियाकलापदेखि व्यवसायहरूसमेत हाँक्न थालेका छन् ।
१० चैतमा लकडाउन घोषणा भएको सुन्ने बित्तिक्कै जिल्ला कृषि सहकारी संघ भक्तपुरका अध्यक्ष शनिस लागेजु छटपटिन थालिहाले । जुनबेला उनले उत्पादन गरेको च्याउलगायतका अन्य तरकारी भर्खरै बेच्ने बेला भएको थियो । भोलिपल्टबाट लकडाउन हुने थाहा पाएपछि उनी फार्ममा गएर च्याउ टिप्न थाले । ७ सय ४० केजी च्याउ भएछ । बजार ठप्प छ । कहाँ लगेर बेच्ने ? उत्तिकै फालौं भने मिहिनेत र लगानी परेको खेती माया लाग्ने नै भयो । कसरी फाल्नू ? तनाव हुन थाल्यो । उनले केही तरकारी व्यवसायीलाई फोन गरे । तर उनीहरू लकडाउनको बेला तरकारी लिन नआउने भएपछि उनी अझै चिन्तित बने । दिमागमा एउटा आइडिया आयो–यसै कुहाउनुभन्दा आफन्त र साथीहरूकहाँ पुर्याइदिउँm । त्यसपछि उनले राति नै सबै च्याउ प्याकिङ गरे । कतिपय साथीलाई फोन गरे ।
भोलिपल्ट मोटरसाइकलमा राखेर साथीभाइ, आफन्तको गेटमा च्याउ राख्दै हिँड्न थाले । बिहानै गेट, ढोकामै च्याउ झुण्डिएको देख्दा कति त सशंकित पनि भएछन् । ‘मैले सबैलाई फोन गरेको थिइनँ, फोन गरेकाले बुझिहाल्नुभयो,’ लागेजु भन्छन्, ‘थाहा नभएका साथी र आफन्तचाहिँ कसले च्याउ राखिदियो भनेर डराउनु भएछ ।’ च्याउ बाँडेर आएपछि ७ सय ४० किलो च्याउको यसरी व्यवस्थापन गरियो भनेर उनले फेसबुकमा स्टाटस राखे । त्यसपछिमात्र सम्पर्क नगरेका साथीभाइ, आफन्तले थाहा पाएको उनी बताउँछन् । पछि उनले जसजसको घरमा च्याउ छोडेका थिए उनीहरूले च्याउको पैसा पनि दिए । त्यसपछि उनलाई यसरी पनि तरकारी बिक्री गर्न सकिँदो रहेछ भन्ने लाग्यो ।
लागेजु आफ्नो ७ सय ४० के.जी च्याउ व्यवस्थापन भयो भन्नेमा ढुक्क थिएनन् । जुनबेला भक्तपुरका फाँटमा उत्पादन भएका तरकारी बग्रेल्ती थिए । लकडाउनका कारण ती तरकारीले तत्काल बजार पाउने सम्भावना थिएन । ‘अब यो तरकारी कुहिएको कसरी हेरुँ भन्ने लाग्यो,’ उनी भन्छन्, ‘ती तरकारीको व्यवस्थापन कसरी गर्ने भन्नेबारे सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापासँग सल्लाह गरेर आफ्नो विचार सुनाएँ ।’ थापाले उनको विचारलाई सकारात्मक रूपमा लिएर नगरपालिकाको बैठकमा तरकारी व्यवस्थापनबारे निर्णय गरे । त्यसपछि लागेजुले जिल्ला कृषि सहकारी संघ भक्तपुरका सञ्चालक समितिसदस्यहरू, लेखा समिति र च्याउ उत्पादक किसान संघका केन्द्रीय संयोजक प्रेमनारायण अधिकारीसँग पनि सल्लाह गरे । किसानहरूको तरकारी उठाउनेर टोलटोलमा लगेर बिक्री गर्न उनीहरू पनि सहमत भए ।
जिल्ला कृषि सहकारी संघको व्यवस्थापन र सूर्यविनायक नगरपालिकाको समन्वयमा ‘स्थानीय उत्पादन, स्थानीय उपभोग टोलटोलमा तरकारी सेवा’ भन्ने नाराका साथ चैत १४ गतेबाट किसानका तरकारी टोलटोलमा पुर्याउन थाले । अहिले उनीहरूले भक्तपुरका सबै स्थानीय तह, काठमाडौंको म्हैपी, काँडाघारी, पेप्सीकोला, ललितपुरको सानेपालगायतका स्थानका टोलटोलमा तरकारी बिक्री गरिरहेको लागेजु बताउँछन् । यतिबेला उनीहरूले दैनिक ५० हजार रूपैयाँभन्दा बढीको तरकारी बिक्री गर्छन् । यो अवधिमा करिव ३० लाख रूपैयाँ बराबरको तरकारी उनीहरूले बिक्री गरिसकेका छन् ।
बजारमूल्यभन्दा सस्तोमा तरकारी उपभोक्तालाई दिइरहेको उनीहरूको दाबी छ । टोलटोलमा तरकारी पुर्याउने अभियानमा ९ जना स्वयंसेवक खटिएका छन् भने ५ जना कर्मचारी छन् । पसिना चुहाएर उत्पादन गरिएको तरकारी खेतबारीमै कुहिनबाट जोगाएकोमा किसानहरू खुशी छन् । ‘हाम्रो यो कामले किसानलाई राहत पुगेको छ,’ लागेजु भन्छन्, ‘उपभोक्ताले पनि ताजा र सस्तो मूल्यमा तरकारी खान पाउनुभएको छ ।’
अनलाइन व्यापारमा बाढी !
लकडाउनको बाध्यताले समाजका हरेक क्षेत्रमा परिवर्तन आएको छ । कतिपयले अनलाइनमार्फत होम डेलिभरी गरिरहेका छन् । लकडाउनले इकमर्समा ह्वात्तै वृद्धि भएको यसका सञ्चालकहरू बताउँछन् । सस्तो डिल डटकमले यतिबेला अनलाइनमार्फत अर्डर लिँदै उपभोक्ताको घरमा खाद्यान्न डेलिभरी गरिरहेको छ । लकडाउनको यो अवधिका अनलाइनमार्फत सामान अर्डर गर्नेहरू ह्वात्तै बढेको सस्तो डिल डटकमका निर्देशक अमुन थापा बताउँछन् । ‘सन् २०११ मा स्थापना भएको सस्तो डिल ७/८ वर्षयता अनलाइन घर–घरमा कसरी पुर्याउने भन्नेमा प्रयासरत थियो,’ उनी भन्छन्, ‘लकडाउनको यो अवधिमा युवादेखि वृद्धवृद्धासम्मले अनलाइनमै सामान अर्डर गर्न थाल्नुभएको छ ।’ त्यसैले लकडाउनले अनलाइन प्रयोगकर्तामा वृद्धि गराएको छ । साथै, उपभोक्तामा डिजिटल भुक्तानी गर्ने बानी पनि बसेको छ ।
‘हामीलाई क्यासमार्फत भुक्तानी गर्ने एकदमै कम हुनुहुन्छ, हामी पनि क्यासभन्दा डिजिटल प्रविधिमार्फत नै भुक्तानी गरिदिए हुन्थ्यो भन्ने चाहन्छौं,’ थापा भन्छन्, ‘अहिले धेरैजसोले डिजिटल भुक्तानी गर्नुहुन्छ ।’ लकडाउनको अवधिमा सस्तो डिल डटकममा सामान अर्डर गर्नेको संख्या दैनिक ५ गुणाले बढेको छ र आम्दानी पनि त्यहि अनुपातमा बढिरहेको थापा बताउँछन् ।
सस्तो डिलमा काठमाडौं उपत्यकामा मात्र खाद्यान्न सामग्री डेलिभरीको सुविधा छ । ‘हाम्रो उद्देश्य दूरदराजका गाउँको पनि अर्डर लिने र डेलिभरी गर्ने हो,’ उनी भन्छन्,‘कोरोना संक्रमण फैलिएको यो अवस्थामा गाउँगाउँमा डेलिभरी गर्न सक्ने अवस्थामा छैनौं, यसैमा हामी दु:खी छौं ।’ लकडाउनमा सस्तो डिलले खाद्यान्नको मात्र डेलिभरी गरेतापनि लकडाउनअघि यसले मोबाइल, ल्यापटप, टेलिभिजन, फर्निचरका सामान, लत्ताकपडा, अटोका पार्टसलगायतका वस्तुहरूको डेलिभरी गर्ने गरेको थापा बताउँछन् ।
मेट्रो तरकारीका संस्थापक अनिल बस्नेत पनि अनलाइन व्यापार बढेको बताउँछन् । मेट्रो तरकारीमार्फत लकडाउनअघि दैनिक २० देखि २५ वटामात्र अर्डरको डेलिभरी हुन्थ्यो तर अहिले दैनिक ४ सय देखि ५ सयसम्म अर्डर आउने गरेको छ । त्यसैले लकडाउनमा मेट्रो तरकारीको विजनेस ५ प्रतिशतले वृद्धि भएको उनको दाबी छ । मेट्रो तरकारीले काठमाडौं उपत्यकामा यतिबेला खाद्यन्न, फलफुल, तरकारी, माछामासु, दुधजन्य परिकारलगायत डेलिभरी गरिरहेको छ । लकडाउनको समयमा किराना पसल सञ्चालकले पनि अनलाइनमार्फत सामान अर्डर गर्न थालेका छन् ।
‘हामीेले अहिले होलसेलरको पनि काम गरिरहेका छौं,’ बस्नेत भन्छन्, ‘कतिपय किराना पसल सञ्चालकले पसलका लागि हामीसँगै अनलाइनबाट तरकारी फलफूलको अर्डर गर्नुहुन्छ । यो अनलाइन व्यापारमा देखिएको सकारात्मक पक्ष हो ।’ लकडाउनअघि छोराछोरीमार्फत अर्डर गर्ने गृहिणीहरू अहिले आफै अनलाइनमार्फत सामान अर्डर गर्न सक्षम भएको उनी बताउँछन् ।
लकडाउनपछि होटल रेस्टुरेन्टहरूको अवस्था चौपट छ । होटल–रेस्टुराँ माथि उठ्न निकै समय लाग्ने नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा बताउँछिन् । ‘लकडाउनले गर्दा यतिबेला खाद्यान्न र औषधिबाहेकको व्यापार व्यवसाय ठप्प छ,’ उनी भन्छिन्, ‘सम्बन्धित निकायको उचित समन्वय नहुँदा स्थानीय तहमा उत्पादित तरकारी र खाद्यान्नले बजार पाउन सकेका छैनन् तर भारतबाट आइरहेका छन् । यो संकटले थलिएको पर्यटन क्षेत्र र होटल व्यवसाय तंग्रिन कम्तीमा २ वर्ष लाग्छ,’ उनले भनिन् । तर, यस्तै अवस्थामा पनि राजधानीका केही होटल तथा रेस्टुरेन्टले अनलाइनमार्फत सेवा दिइरहेका छन् । दरबारमार्गस्थित त्रिसरा रेस्टुरेन्टले १ महिनायता होम डेलिभरी गरिरहेको छ । खानामा म:म, पिज्जा, नान, तन्दुरी, बर्थ डे केक अर्डर अनुसार डेलिभरी गरिरहेको त्रिसराका सञ्चालक शोभनवीर मालाकार बताउँछन् । यस्तै फुडमान्डुले पनि अनलाइनमार्फत अर्डर लिएर खानेकुराको डेलिभरी गरिरहेको छ । यसरी होटल रेस्टुरेन्टहरूमा पनि छुट्टै अभ्यास हुन थालेका छन्।
रंगमञ्चमा भर्चुअल प्रदर्शन
लकडाउनबीच १४ देखि २९ चैतसम्म थिएटर मलकीर्तिपुरले भर्चुअल नाटक प्रदर्शन गर्यो । १६ दिनसम्म चलेको क्वारेन्टाइन अभियान नाट्य उत्सवमा २० वटा नाटक प्रस्तुत भए । नेपाली रंगमञ्चका लागि यो बिल्कुलै नयाँ अभ्यास थियो । वास्तवमा रंगमञ्चको मूल मर्म भर्चुअल माध्यम नभई कलाकारले कलात्मक ढंगबाट मन्चबाट गर्ने प्रत्यक्ष संवाद र सञ्चार हो ।
संकटको बेलामा दर्शकसँग रंगमञ्चको सम्बन्ध टिकाइराख्नका लागि भर्चुअल माध्यममार्फत नाटक प्रदर्शन गरिएको थिएटर मलका निर्देशक केदार श्रेष्ठ बताउँछन् । ‘लकडाउन सुरु हुनुभन्दा दुईदिन अघिदेखि घरमा बसेका थियौं, त्यहीबेला आममानिससँग रंगमञ्चको सम्बन्ध कसरी जीवित राखिरहने भन्ने सोच आयो,’ उनी भन्छन्, ‘त्यसपछि हामीले डकुमेन्टेसन गरेर राखेका नाटकलाई देखाउन सकियो भने रंगमञ्च र दर्शकबीचको सम्बन्ध दिगो रहन्छ भन्ने लागेर भर्चुअल माध्यममा नाटक देखाउने निर्णय गरेका हौं ।’
थिएटरहरूमा एक महिनासम्म मन्चन हुने नाटक मुस्किलले ४ देखि ५ हजार दर्शकले हेर्छन् । भर्जुअल प्रदर्शन भएका नाटकहरूले भने त्यसको तुलनामा धेरै दर्शक पाएको श्रेष्ठ बताउँछन् । उत्सवमा मञ्चन भएको नाटकमध्ये अभिनेता दयाहाङ राईको निर्देशन रहेको नाटक ‘जालिनी’ले सबैभन्दा धेरै दर्शक पायो । उक्त नाटक भर्चुअल प्रदर्शन हुँदा २३ हजार दर्शकले प्रत्यक्ष नाटक हेरे भने १५ हजारले अन्तिमसम्म नै हेरेको श्रेष्ठ सुनाउँछन् । यसरी भर्चुअलमाध्यमबाट नाटक मन्चन गर्दा यसले मिश्रित प्रतिक्रिया पायो । रंगमञ्चमा गरिएको यो नवीन अभ्यासले नाटकका दर्शक बढाउन सघाउ भने पक्कै पुर्याएको छ ।
गीत–संगीत उत्पादन प्रभाव
सामान्य अवस्था हुँदो हो त जेठको पहिलो साताबाट युट्युबमा तीज पर्वसम्बन्धी लोकशैलीका गीत अपलोड हुन थालिसक्थे । कोरोना भाइरस विस्तार र लकडायनका कारण निर्मित असामान्य परिस्थितिमा गायक–गायिकाले गीत स्टुडियोमा पुगेर रेकर्ड गर्न पाएका छैनन् । कति गायक–गायिकाले घरमै बसेर एक्लै गीत अभ्यास गर्ने र त्यसको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने गरेका छन् । गायक जीवन शर्माले युट्युबमा आफ्ना पुराना गीतहरू गाएर राखेका छन् । कतिले गायक–गायिकाले सिमाना रक्षासम्बन्धी गीत बनाएर सामाजिक सञ्जालमा राखेका छन् । रामजी खाँड र देवी घर्तीको स्वर रहेको तीज गीत ‘कतै नजाम् भो’भने यही समयमा युट्युबमा अपलोड भएको छ । यो गीतको भिडियोमा विगतको जस्तो तामझाम छैन । लकडाउनका कारण घरभित्रै सामान्य दृश्यहरूमा भिडियो तयार गरिएको देखिन्छ ।
संगीत कक्षा अनलाइनमै
लकडाउनका कारण सहरका संगीत प्रशिक्षण केन्द्रहरू यतिखेर बन्द छन् । थुप्रै संगीत प्रशिक्षकहरू कामविहीन बनेका छन् । संगीत प्रशिक्षक मदन गोपालले भने लकडाउनको समयमा अनलाइनमार्फत संगीत सिकाएर मासिक ४० हजार कमाइरहेको बताउँछन् । उनले लकडाउनभन्दा पहिला यसरी अनलाइनमार्फत संगीत सिकाएका थिएनन् । अहिले भने उनले अमेरिका, अस्ट्रेलिया र नेपालका गरी करिब ८० जना विद्यार्थीलाई अनलाइनमार्फत संगीत कक्षा लिइरहेका छन् ।
विदेशमा बस्ने विद्यार्थीबाट मात्रै मासिक ४० हजार आम्दानी हुने गरेको गोपाल बताउँछन् । ‘अमेरिका र अस्ट्रेलियाका विद्यार्थीले प्रतिकक्षा २० डलर तिर्नुहुन्छ,’ उनी भन्छन्, ‘मलाई उहाँहरूले पहिलेदेखि नै अनलाइनमार्फत संगीत सिकाउन अनुरोध गर्नुभएको थियो, तर लकडाउनले यो अवसर जुरायो ।’