विदेश अध्ययनका लागि नेपाली विद्यार्थीहरूले पहिलो गन्तव्यका रूपमा अस्ट्रेलियालाई रोज्न थालेपछि शैक्षिक परामर्श केन्द्रका सञ्चालकहरू चकित छन् । अप्रत्याशित रूपमा अस्ट्रेलियाप्रति विद्यार्थीको क्रेज बढेसँगै कन्सल्टेन्सीहरूमा प्रतिस्पर्धा पनि बढेको छ ।
दुई दशकअघिसम्म छिटफुट विद्यार्थी अस्ट्रेलिया गएको पाइए पनि पछिल्ला वर्षहरूमा अस्ट्रेलियाका लागि नो अब्जेक्सन लेटर लिने विद्यार्थीको संख्या सबैभन्दा उच्च छ । आर्थिक वर्ष २०७३/०७४ मा नो अब्जेक्सन लेटर लिने ५० हजार ६ सय ५९ जनामध्ये २४ हजार २ सय ३३ विद्यार्थीले अस्ट्रेलियाका लागि निवेदन दिएका थिए । यही तथ्यांकले पनि अस्ट्रेलियाप्रति विद्यार्थीको आकर्षणतर्फ संकेत गर्छ ।
उन्नत र गुणस्तरीय शिक्षा, सुरक्षित गन्तव्य साथै सुनिश्चित भविष्य, रोमाञ्चक जीवनयापन आदिका कारण अस्ट्रेलिया नेपाली विद्यार्थीको पहिलो रोजाइमा परेको परामर्शदाताहरूको बुझाइ छ । सिड्नीमा केन्द्रीय कार्यालय रहेको पुतलीसडकस्थित टिम कन्सल्टका म्यानेजिङ डाइरेक्टर विनोदकुमार सुवेदी भन्छन्— अस्ट्ेरलिया व्यवहारिक शिक्षा मात्र नभै रोजगारीमार्फत धेरै आम्दानी गर्न सकिने देश पनि हो, त्यसका अतिरिक्त त्यहाँको हावापानी नेपाली विद्यार्थीका लागि उपयुक्तसमेत छ ।’
सुवेदीका अनुसार भिसा प्रक्रिया सहज भएकाले पनि विद्यार्थीहरू अस्ट्रेलियाप्रति आकर्षित छन् । प्रशासनिक प्रक्रियामा झन्झट नहुने, पढाइ सकेपछि आवासीय भिसा र वर्क परमिटका लागि समस्या नपर्ने भएपछि विद्यार्थीको अस्ट्रेलिया क्रेज बढेको हो । त्यतिमात्र होइन अस्ट्रेलियाको सरकारले सन् २०२५ सम्मको रणनीति नेसनल स्ट्राटेजी फर इन्टरनेसनल एजुकेसन–२०२५ सार्वजनिक गर्दै आगामी वर्षहरूमा विदेशी विद्यार्थीको संख्यालाई दोब्बर पार्ने स्पष्ट पारिसकेको छ ।
सजिलो प्रक्रिया
अस्ट्रेलियाको अध्ययन भिसा प्राप्त गर्ने प्रक्रिया झन्झटिलो छैन । २०१६ अगस्टदेखि अस्ट्रेलिया सरकारले विदेशी विद्यार्थी भिसामा नयाँ प्रक्रिया सुरु गरेसँगै नेपाली विद्यार्थीहरूलाई पनि सहज भएको छ । सरकारले कलेज र देशको क्याटोगरी छुट्टयाएको छ, जसमध्ये नेपाल मध्यम रिक्स भएको देशमा छ । कलेजले आवेदन दिएका विद्यार्थीको रुचि, शैक्षिक प्रोफाइल तथा आर्थिक स्तर जाँच गरेपछि भिसा प्राप्त हुने सम्भावना बलियो हुन्छ ।
कसरी गर्ने आवेदन
अस्ट्रेलिया जान चाहने विद्यार्थीले आफ्नो रुचि, शैक्षिक योग्यता तथा आर्थिक हैसियतअनुसार आवेदन दिनुपर्छ । विशेषत: कक्षा ११ र १२ उत्तीर्ण भएपछि आवेदन दिन पाइन्छ । एसईई साथै ११ र १२ कक्षामा उच्च अंक ल्याउने वा अंग्रेजी भाषामा दख्खल भएका विद्यार्थीले चाँडै भिसा प्राप्त गर्न सक्छन् । स्नातक सकेपछि पनि सोहीअनुरूपका कोर्समा आवेदन दिन पाइन्छ । आईएलटीएस, टोफल, पीटीईमध्ये कुनैमा तोकिएको अंक ल्याउनैपर्छ । आईएलटीएसमा न्यूनतम ६ अंक ल्याउनुपर्छ ।
आफ्नो शैक्षिक पृष्ठभूमिका आधारमा कोर्स छनौट गर्न पाइन्छ । कलेज र कोर्स फाइनल भएपछि मात्र प्रारम्भिक चरणको भर्ना प्रक्रिया सुरु हुन्छ । यसका लागि कन्सल्टेन्सीहरूलाई मध्यस्थकर्ताका रूपमा लिन सकिन्छ ।
प्रारम्भिक चरणको भर्ना प्रक्रिया पूरा गरेपछि कलेज वा विश्वविद्यालयले विद्यार्थी अध्ययनका लागि योग्य भए नभएको जानकारी पठाउँछ । सोही आधारमा आवश्यक सबै डकुमेन्ट तयार गर्नुपर्छ । डकुमेन्ट पूरा गरेपछि तोकिएको शुल्क तिर्नुपर्छ । कलेजले पैसा पाएपछि सीओई (कन्फर्मेसन अफ इन्ड्रेलमेन्ट लेटर) पठाउँछ । त्यसपछि अनलाइनमार्फत भर्ना गर्नुपर्छ । सिओइमा एउटा युनिक नम्बर हुन्छ । त्यही नम्बरका आधारमा अनलाइन फाराम भर्नुपर्छ । सीओई लेटरकै आधारमा भिसा आवेदन पनि भर्नुपर्छ ।
आवश्यक डकुमेन्ट
–एसईई तथा कक्षा ११ र १२ उत्तीर्ण गरेको प्रमाणपत्र,स्नातक तहको भए सोही लेभलको शैक्षिक प्रमाणपत्र ।
– आईएलटीएस, टोफल, पीटीईमध्ये कुनैमा तोकिएको अंकसहितको प्रमाणपत्र ।
–शिक्षा मन्त्रालयको नो अब्जेक्सन लेटर ।
–आम्दानीको स्रोत : अस्ट्रेलियामा सामान्य जीवनयापन गर्न र कलेज शुल्क तिर्न पुग्ने आम्दानीको स्रोत खुल्ने डकुमेन्ट ।
–कर फच्र्योट (ट्याक्स क्लिरिएसन्स) : आफुसँग रहेको सम्पत्तिको कर तिरेको प्रमाण ।
–सम्पत्ति विवरण (पपर्टी भ्यालुएसन) : आफूसँग रहेको अचल सम्पत्तिको निर्धारित मूल्यको विवरण खुल्ने प्रमाण ।
–नाता प्रमाणका कागजहरू ।
–स्पोन्सर्स र कन्फर्मेसन लेटर ।
–जीवन विमा र मेडिकल रिपोर्ट ।
–फिङ्गर प्रिन्ट ।
खर्च कति लाग्छ ?
अस्ट्रेलिया अध्ययनका लागि करिब १० देखि १४ लाख रुपैयाँसम्म खर्च लाग्छ । यसमा ६ महिनादेखि एक वर्षसम्मको कलेज शुल्क समेटिन्छ । कलेज वा विश्वविद्यालय अनुसार खर्च फरक–फरक हुन सक्छ ।
अस्ट्रेलियाको बसाइ अलिक महँगो हुन्छ, तसर्थ साथीहरू मिलेर युनिटमा बस्न सकिन्छ । त्यहाँ पार्ट टाइम जबको प्रशस्त अवसर उपलब्ध हुन्छ । १५ दिनमा ४० घन्टा काम गर्न पाइन्छ । अन्य भ्याकेसनहरूमा मजाले काम गर्न पाइन्छ । न्यू इयर र क्रिसमसमा करिब डेढ महिना जति बिदा हुने भएकाले थप काम गरेर पढ्ने खर्च जुटाउन सकिन्छ । एक वर्षमा एक जना विद्यार्थीका लागि सरदर १८ हजार अस्ट्रेलियन डलरजति (खान र बस्न) पर्याप्त हुन्छ ।
विद्यार्थीले रोज्ने विषय
अस्ट्रेलियामा आफ्नो क्षमता एवं शैक्षिक स्तरअनुसार कोर्स छनौट गर्न पाइन्छ । धेरैजसो विद्यार्थीले रोज्ने विषय भनेको नर्सिङ, आईटी, होटल म्यानेजम्यान्ट, हस्पिटियालिटी म्यानेजम्यान्ट, एकाउन्टेन्ट आदि हुन् । यी कोर्स कलेजअनुसार फरक–फरक हुन्छन् । दुईवर्षेदेखि चारवर्षे कोर्स आदि । डिप्लोमा, एडभान्स डिप्लोमा, त्यसपछि अनर डिग्रीसमेत पढ्नुपर्छ । सिधै ब्याचलर डिग्री गर्न तीन वर्ष लाग्छ ।
अध्ययनका लागि विवाहित नेपाली पुरुष वा महिलाले पाउने अतिरिक्त सुविधा हो— डिपेन्डेट भिसा । खासमा एक जनाको पढाइका निम्ति अर्का सहयोगी बनून् भनेर यस्तो भिसाको व्यवस्था मिलाइएको हो । त्यस्तै, आफ्नो परिवारबाट अलग हुन नपरोस् भनेर पनि यस्तो भिसा दिइएको हो ।
पीआर र डिपेन्डेन्टको आशा
विद्यार्थीले अस्ट्रेलिया रोज्नुको प्रमुख कारण आवासीय सुविधा (पीआर) प्रमुख हो । पढाइ पूरा गरेपछि पीआरका लागि आवेदन दिन पाइन्छ । योग्यताका आधारमा सरकारले पीआर उपलब्ध गराउँछ । अर्को डिपेन्डेट भिसा आवेदनका लागि विवाह दर्ता प्रमाणपूर्जा, जन्म दर्ता, नाता प्रमाणित, विवाहको तस्बिर, घरजग्गाको आधार, संयुक्त बैंक खाता आदि पेस गर्नुपर्ने हुन्छ । डिपेन्डेट भिसामा गएकाहरूले पूर्णकालीन काम प्राप्त गर्न सक्छन् । अस्ट्रेलिया सरकारले पनि अस्ट्रेलियामा स्थायी बसोबासको अवसर खोज्नेहरूलाई लक्षित गरेर आर्थिक वर्ष २०१७/०१८ का लागि दक्ष जनशक्तिको सूचि सार्वजनिक गरिसकेको छ, जसमा मिडियम एन्ड लङ टर्म स्ट्राटेजिक स्किल्स लिस्ट (एमएलटीएसएसएल) तथा सर्ट टर्म स्किल्ड अकुपेसन लिस्ट (एसटीएसओएल) दुई खालका पेसा समावेश छन् ।