उमेरले २४ वर्षमा मात्रै भएकी कालीकोटकी नन्दा सिंह आफैँमा आँखा देख्दिनन् । आफैँलाई अरुको सहारा दिनुपर्ने अवस्था छ तर उनले आफूले ओठ निचर्दा दूध आउने उमेरका एक दर्जन बालबालिकालाई सहारा दिएकी छिन् ।
‘आफैँ आँखा देख्दिन । मलाई प्रकृतिले ठगेको होइन, चुनेको हो जस्तो लाग्छ । बाल्यकालमा मलाई अरु साथीसँग खेल्न नदिएको र रोग सर्छ भन्दै आफन्तले छिःछि दुरदुर गरेको पीडा मनमा बिझिरहेको थियो । त्यही पीडाले मनमा केही न केही गरेर देखाउँछु भन्ने लागेको थियो । त्यही भएर अभिभावकविहीन यी साना बाबुनानीको सेवामा लागेकी हुँ ।’
उमेरले २४ वर्षमा मात्रै भएकी कालीकोटकी नन्दा सिंह आफैँमा आँखा देख्दिनन् । उनको उमेर हेर्दा आफैँ विश्वविद्यालय पढ्ने अवस्थामा छिन् । शारीरिकरुपमा ठीक भए पनि बाहिरी दृष्टिले उनलाई ठगेको छ । आफैँलाई अरुको सहारा दिनुपर्ने अवस्था छ तर उनले आफूले ओठ निचर्दा दूध आउने उमेरका एक दर्जन बालबालिकालाई सहारा दिएकी छिन् ।
बूढानीलकण्ठ नगरपालिकाको बालुवाखानीको एक घरको छिँडीमा चार कोठा भाडमा लिएर सिंहले गरेको काम भने सामान्य मानिसले गर्नेभन्दा ठूलो छ । मनमा साहस छ, आँट छ । जीवनमा केही गरौँ भन्ने सदीक्षा पनि छ । ‘मैले आँखा नदेखेर के हो भो त ? मलाई प्रकृतिले यस्तै बनायो, म यसैमा खुशी छु’, नन्दाले भनिन् । ‘अभिभावक नभएका यी कलिला बालबालिकालाई शिक्षादीक्षा दिन सकेँ भने त्यसले मलाई खुशी दिनेछ, किनकि मैले बाहिरी आँखा नदेखे पनि यी बाबुनानी भविश्यमा ठूला मान्छे भए भने मेरा लागि त्यो नै सबैभन्दा खुशीको विषय हुनेछ’, उनले भनिन् ।
तीन वर्षको उमेर हुँदासम्म सिंहले आँखा देख्थिन् । झाडापखालाले नराम्ररी सतायो । मरी भनेर घरकाले सेतो कपडामा बेरेर नजिकैको जङ्गलमा लगेर गाड्न ठीक्क पारेका थिए । राति म चलमलाएपछि यो त ज्यूँदै रहिछ भनेर आफू बाँचेको उनले बताइन् । बाँचे पनि मेरो जीवनमा अन्धकार थपियो । झाडापखाला लाग्नुअघि आँखा देख्ने आफू त्यसपछि भने नदेख्ने भएँ । मेरो बाल्यकाल अन्धकारको रसातलमा भासियो ।
‘बाल्यकालमा अरु साथी खेलेको देख्दा मलाई पनि खेल्न मन लाग्थ्यो । अरु साथीसँग मलाई खेल्नसमेत दिइँदैनथ्यो, किनकि मैले जस्तै अरुको पनि आँखा नदेख्ने हुन्छन् भनेर रोकिन्थ्यो, मलाई गाली गरिन्थ्यो । मन भित्रभित्रै रुन्थ्यो’, नन्दाले अगाडि भन्दै गईन्, ‘बालककालमा आँखा नदेख्ने अन्धी भनेर हेप्थे तर मेरो मनमा एउटा आँट पलायो । जीवनमा केही न केही गर्छु भनेर मनलाई दह्रो बनाएँ ।’
कर्णाली प्रदेशको कालीकोट । अहिले पनि दुर्गम छ । यातायातको सहज सुविधा छैन । कुनै सुविधा पाउने कुरा परको जस्तै भयो । शिक्षा, स्वास्थ्य तथा अन्य भौतिक सुविधाबाट पर पारिएको कालीकोटकी चेलीको आँट साच्चै अदम्य छ । रुखबाट लडेर निधन भएको तथा छाउगोठमा बस्दा सर्पले डसेर मरेका आमाका बच्चा स्याहार्ने र उनीहरुलाई शिक्षित बनाउने जिम्मा लिएकी नन्दाले आफ्नो दुःख मात्रै फुकाउनु भएन, कलिला बालबालिकाको जीवनमा खुशी ल्याउने जिम्मासमेत लिएकी छन् ।
उनलाई बाल्यकालकै साथी गीता बस्नेतले साथ दिएकी थिइन् । बस्नेत भने आँखा देख्छिन् । उमेरले बस्नेत पनि मात्रै २३ वर्षकी छिन् । यी सखीले बालबालिकाको हेरचाहका लागि ‘अन्तरदृष्टि नेपाल’ नामक संस्था खोलेका छन् ।
दैलेख, कालीकोट, जाजरकोटका एक दर्जन बालबच्चा सुकेधाराको एक बोर्डिङ स्कुलमा पढ्छन् । उनीहरुलाई पढाउन, खुवाउन तथा अन्य सुविधाका लागि मासिक ४० हजार खर्च लाग्छ । ‘चार वटा कोठाको भाडा मात्रै मासिक १५ हजार पर्छ । घरबेटीले पनि हाम्रो आँट देखेर सहयोग गरेका छन्’, नन्दाकी साथी गीताले भनिन् । ‘तँ आँट गर म पुऱ्याउँछु भने जस्तै भगवानले हेरेका छन्, हामीलाई साथ सहयोग मिलेको छ’, नन्दाले भनिन् ।
लकडाउनका समयमा उनीहरुलाई खाने समाग्री दिने सहयोगी मन भेटिएका छन् । सामान्य अवस्थामा भने उनीहरुलाई गाह्रो थियो । बालबालिका पढ्ने विद्यालयलाई मात्रै वार्षिक दुई लाख शुल्क बुझाउनुपर्छ । केही प्रतिशत रकम विद्यालयले छुट दिए पनि हामी जस्ता कमाइ नहुनेका लागि भने कहिलेकाहीँ समस्या पर्ने गरेको उनले बताईन् ।
उनीहरुले अभिभावकविहीन बालबच्चालाई अभिभाकत्व दिएको तीन वर्ष भयो । स्नातकसम्म अध्ययन गरेकी नन्दाको आँटको पछाडि पनि ठूलो दुःखको पहाड छ । म ६ वर्षको हुँदा जन्म दिने आमाले छाडेर गइन् । आमा बितेपछि भारत पसेका पिता फर्केर आएनन् । आँखा नदेख्ने नन्दाका लागि दुःखको पहाड झनै उचालियो । ठूला बुबाकामा बसेर भाँडा माझ्दै पढेको उनले सुनाईन् ।
अन्तरदृष्टिमा साहारा लिएका रमिला सिंह (११ वर्ष) र दिनेश सिंह (६ वर्ष) का दिदीभाइ हुन् । कालीकोट उनीहरुको जन्म दिने आमा बितेपछि कलिला छोराछोरी छाडेर कालापहाड पसेका उनीहरुका पीता फर्केर आएनन् । अलपत्र जस्तै अवस्थामा रहेका उनीहरुलाई नन्दा र गीताले काठमाडौँ ल्याए । अहिले रमिला कक्षा ३ मा भने दिनेश १ कक्षमा पढ्छन् । यस्तै सोभित बस्नेतका आमा घाँस काट्न जाँदा रुखबाट लडेर बितिन् । उनका बुबालाई कुष्ठरोग लागेको रहेछ । केही काम गर्न सक्दैनन् । खान लगाउनै समस्यामा परेका बस्नेतलाई समेत उनीहरुले साहारा दिएका छन् ।
अन्तरदृष्टिमै साहारा लिएकी बबिता अधिकारीको आमालाई छाउगोठमा सर्पले डसेर जीवन लीला समाप्त पारिदियो । दैलेखकी अधिकारीलाई आमाका बारेमा सोध्दा उनको आँखा रसाए । उनलाई बोल्न गाह्रो भयो, सम्हालिँदै भनिन्, ‘मलाई दिदीहरुले आमालेभन्दा बढी माया दिएर राख्नुभएको छ । पढ्न पाएको छु, असाध्यै खुशी छु ।’ सदीक्षा शाही पनि अन्तरदृष्टिमा साहारा लिएर बसेकीछिन् । आमा घाँस काट्न जाँदा लडेर बितिन् । त्यसपछि उनको दुःखका दिन शुरु भए । कमाउन भनेर भारत पसेका पिता फर्केर आएनन् । सदीक्षाको भाइ रोशन पनि अहिले साथै छन् ।
अन्तरदृष्टिमा सहारा लिएका १२ बालबालिकाको आआफ्नै व्यथा छन् । आआफ्नै दुःखका कथा छन् । उनीहरुको जीवन आफैँमा मन बिझाउने खालका छन् । ती सबै पीडा भुलेर उनीहरु यतिखेर काठमाडौँमा रमाएका छन् । (रासस)