कोरोना संक्रमणका कारण नेपाल सरकारले लकडाउन गरेपश्चात् धेरै बालबालिकामा मनोवैज्ञानिक असर परेको बाल मनोविद्हरूको विश्लेषण छ ।
काठमाडौंको एक निजी विद्यालयमा कक्षा ४ मा पढ्ने ८ वर्षीय विकास तिवारी(नाम परिवर्तन)को हरेक दिन डर र उदासीमा बित्छ । डेरामा बसेका बा–आमाले आफ्नो कोठाबाट अर्को कोठामा जान वा गेटसम्म पुग्न पनि उनलाई मनाही गरेका छन् ।
खेल्नका लागि उनको हातमा न ग्याजेट पर्छ न पढ्नका लागि कुनै रमाइला पुस्तक । झण्डै तीन महिनादेखि एउटै कोठामा थुनिनुपर्दा उनलाई निकै नरमाइलो लागेको छ । भन्छन्, ‘स्कुलको साथी भेट्न नपाएको धेरै भयो । बाहिर निस्कन नि पाइँदैन । बाबा–ममीले गाली गर्नुहुन्छ, धेरै रुन मन लाग्छ ।’ विकासको जस्तै सहरमा बस्ने धेरै बालबालिकाको अवस्था उस्तै छ । त्यसमाथि कोरोना संक्रमण र यसबारे अभिभावकले गरेका डरलाग्दा कुराले उनीहरूमा त्रास बढाएको छ ।
साप्ताहिकले स्कुल पढिरहेका केही बालबालिकासँग कुरा गर्दा आफूहरूमा कोरोनाको डरसँगै स्कुलमा दिएको परीक्षाको परिणाम के हुने हो भन्ने चिन्तासमेत थपिएको बताए । ‘स्कुल नखुल्दा एक वर्ष ग्याप हुन्छ भन्ने डर लागेको छ । कहिलेसम्म हो थाहा छैन । रिजल्ट नआउँदा के हुने हो भन्ने चिन्ता छ,’ कक्षा ७ को परीक्षा दिएर बसेकी सलिना गौतम भन्छिन् । एसइईको परीक्षा स्थागित भएपछि ५ लाख विद्यार्थी अन्योलमा छन् । अन्योलका कारण उनीहरूमा डर र चिन्ता बढिरहेको छ ।
कोरोना संक्रमणका कारण नेपाल सरकारले लकडाउन गरेपश्चात् धेरै बालबालिकामा मनोवैज्ञानिक असर परेको बाल मनोविद्हरूको विश्लेषण छ । वरिष्ठ मनोविद् करुणा कुँवर अहिले हटलाइन अर्थात् कार्यालयको ट्रोल फ्रि नम्बरमार्फत् आएका थुप्रै केसमध्ये प्राय: केस लकडाउनको त्रासले निम्त्याएको बताउँछिन् । ‘उनीहरूले कोरोनासँग डर लाग्यो भन्दैनन् । तर, मानसिक रूपमा भएको समस्या भने भन्ने गरेका छन्,’ कुँवर भन्छिन् । कतिपय समस्या भने विभिन्न समयमा भएका तर अहिले त्रासका कारण पुन: दोहोरिएको उनको बुझाइ छ ।
उनका अनुसार पढाइ र लकडाउन दुवैको त्रासले बालबालिकामा यस्तो समस्या देखिएको हो ।
कुँवर भन्छिन्, ‘कतिपय अभिभावकलाई बच्चाहरूको बानी बिग्रन्छ र उनीहरूलाई बानी पार्न थप कसरत गनुपर्छ भन्ने डर छ । तर, बुझ्नसक्ने बालबालिकालाई हाम्रो पढाइ एक वर्ष खेर जाने हो कि भन्ने चिन्ता धेरै छ ।’
अभिभावकको व्यवहार र बालबालिकको मनोविज्ञान
बालबालिकाको मनोविज्ञान यतिबेला अभिभावकको व्यवहार र भूमिकाअनुरुप निर्धारण भएको मनोविश्लेषक बासु आचार्य बताउँछन् । ‘यो बेलामा अभिभावकले कुन तरिकाले शिक्षा दिएका छन्, कोरोना संक्रमणबाट कसरी बच्न सिकाएका छन्, कसरी नआत्तिन सिकाएका छन्, बालबालिकालाई घरमा बस्दा कुन वातावरण सिर्जना गरिदिएका छन् भन्ने कुराले निर्धारण गर्छ,’ उनले भने ।
यो बेला बालबालिकाले कहिल्यै नभोगेका कुरा भोगिरहेका छन् । साना बालबालिका घरभित्र बस्दा एक किसिमको रमाइलो हुन्छ । तर यस्तो बेलामा परिवारले बालबालिकालाई नबुझेर गाली गर्दा ठूलो मनोवैज्ञानिक असर पर्ने आचार्यको बुझाइ छ । ‘यो बेलामा अभिभावक आफैं चिन्तामा हुन्छन् । त्यसकारण केही अभिभावक रिसाउने, गाली गर्ने वा पिट्ने प्रकृतिका हुन्छन् । बाहिर जाँदा पनि गाली गर्ने, भित्र खेल्यो भने पनि गाली गरेको मैले देखेको छु । यस्तो हुँदा बालबालिकाको अवस्था के हुन्छ होला ?’ आचार्य भन्छन् ।
यो बेलामा अभिभावकले उल्टै त्रास जगाइदिँदा बालबालिकाको मनोविज्ञानमा असर परेको मनोविद्हरूको विश्लेषण छ । मनोविश्लेषक आचार्यका अनुसार भूकम्पमा पनि बढी आत्तिएका कारण धेरै बालबालिकामा पछि एन्जाइटीको समस्या देखिएको थियो ।
सहरमा कतिपय बालबालिका भने ग्याजेटमा मात्र अल्झिरहँदा उनीहरूमा गेमको एडिक्सन भएको मनोविश्लेषक आचार्य बताउँछन् ।
सहजताको भावना विकासमा सहयोग
यही अवस्था लम्बिँदै गए स–साना टिप्सले मात्र बालबालिकाको मनोविज्ञान सुधार्न सहयोग नगर्ने कुँवरको ठहर छ । ‘अहिले त साना टिप्स बालबालिकालाई दिएका छौं, जुन दैनिक रूपमा सहज हुने खालका मात्र भए । तर त्यो कुरा नै शिक्षा प्रणालीमा बृहत् रूपमा योजना हुनुपर्यो । त्यहीअनुसार बालबालिकालाई तयारी गराउनुपर्यो,’ उनी भन्छिन् ।
शिक्षाका लागि अभिभावकले जति मेहेनत गर्नुपर्ने हुन्थ्यो, त्यो अहिले घटेको उनको विश्लेषण छ । ‘कतिपय अभिभावक कामविहीन छन् । खान पनि धौ–धौ पर्ने अवस्था छ । यसले त बालबालिकालाई ठूलो असर पार्नसक्छ । यसका लागि त सरकारको पहलकदमी नै आवश्यक छ,’ उनी भन्छिन् ।
एक वर्ष स्कुलै सञ्चालन भएन भने पनि सिकाइ नरोकिने भावनाको विकास विद्यार्थीहरूमा गराउनुपर्ने शिक्षण सिकाइका प्रशिक्षक नरेन्द्रकुमार नगरकोटी बताउँछन् । ‘आम रूपमा शिक्षक, अभिभावक, अग्रजहरूले बालबालिकालाई तिमीहरूको पढाइ छुट्यो, बर्बाद भयो भन्ने मानसिकताको विकास गराउनु हुन्न । हामी विद्यालय नै नजाँदा पनि सिकाइ जीवनपर्यन्त चलिरहन्छ भन्ने कुरा बुझाउन सक्नुपर्छ,’ उनी भन्छन् ।
नीति निर्माणमा रहनेले बालबालिकालाई मनोवैज्ञानिक रूपमा बलियो बनाउनका लागि पनि केही संयन्त्र बनाउनुपर्ने उनको बुझाइ छ ।
‘यदि स्कुल एक वर्ष नै खुलेन र माथिल्लो कक्षामा पुग्ने विद्यार्थीको लागि यो वर्ष पढाइ भएन भनेर कक्षोन्नति गरिएन भने निराशाको भावना आउँछ र मनोवैज्ञानिक समस्या सुरु हुन्छ । त्यसैले केही योजना बनाएर उनीहरूलाई माथिल्लो कक्षामा लैजानको लागि तयार गर्नुपर्छ,’ उनी भन्छन् ।
स्कुल नखुले विकल्प के ?
बालबालिकाको स्कुल छुटे पनि सिकाइमा पूर्णविराम नलाग्ने विज्ञहरूको भनाइ छ । बालसाहित्यमा झण्डै ७ दशकदेखि योगदान पुर्याइरहेका बालसाहित्यकार शान्तदास मानन्धर बालबालिकाले स्कुल नै नगएर पनि धेरै कुरा सिक्न सक्ने बताउँछन् । ‘बालबालिकाले पाठ्यक्रममा मात्र सबै कुरा सिक्छन् भन्ने गलत कुरा हो । अहिले घरमै बसेर पनि कहिल्यै नदेखेका र नसुनेका कुरा सिकिरहेका छन् । पर्यावरणको महत्वबारे बुझिरहेका छन् । यो पनि सिकाइ हो नि,’ सिकाइलाई जटिल प्रक्रियाको रूपमा बुझाउनु नहुने उनको मान्यता छ । घरमै बसेर साहित्य, राजनीति र भूगोल अध्ययन गराउन अभिभावकले उत्प्रेरित गर्नुपर्ने उनको भनाइ छ ।
संकटमा मान्छेले धेरै कुरा सिक्ने उनको बुझाइ छ । उनी भन्छन्, ‘अहिलेको महामारी वा विपत्ति पनि सिकाइको ठूलो विश्वविद्यालय हो ।’
बालसाहित्यकार मानन्धर अहिले बालबालिकालाई सबै तरिकाबाट स्वस्थ राख्ने कुरामा अभिभावक सचेत हुनुपर्ने बताउँछन् । ‘उनीहरूलाई स्वस्थ राख्नु पहिलो कुरा हो । स्वस्थ राख्न सकिएन भने कसरी पढ्न सक्छन् ? पढेर पनि बुझेनन् भने के गर्ने ?’ उनी भन्छन्, ‘के गर्नुहुन्छ, गर्नुहुन्न वा व्यावहारिक कुरा सिकाउने मौका आएको छ । यतिबेला जोखिमबाट बच्ने उपाय सिकाउनुपर्यो, समुदाय, इतिहास सिकाएर वैज्ञानिक शिक्षा दिनुपर्यो ।’
मनोविश्लेषक आचार्य पनि यो बेलामा बच्चालाई घरमै नयाँ नयाँ खेल तथा नयाँ–नयाँ कुरा सिक्न उत्प्रेरित गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘दुई–तीन जना बसेर खेल्ने खेल खेल्ने, मोबाइल पढाइ र अनलाइन क्लासलाई अगाडि बढाउन सकिन्छ ।'