साप्ताहिक संवाददाता
कोरोना भाइरस (कोभिड–१९) को कारण भएको बन्दाबन्दीको समयमा पाठक÷स्रोताले अनलाइन मिडियालाई आफ्नो सूचना प्राप्तिको पहिलो प्राथमिकतामा राखेको देखियो । कोभिड–१९ महामारीको समयमा मिडियाको विश्वसनीयतासम्बन्धी प्रेस काउन्सिल नेपालद्वारा गरिएको मिडिया सर्वेक्षणअनुसार सबैभन्दा बढी ३१ दशमलब ८० प्रतिशतले अनलाइन मिडियालाई पहिलो प्राथमिकतामा राखेको बताए ।
सोही सर्वेक्षण अनुसार २४ दशमलब ४० प्रतिशतले दोस्रोमा समाजिक संजाल र २२ दशमलब ७० प्रतिशतले तेस्रोमा रेडियोलाई सूचनाको स्रोतको रुपमा राखेका थिए । उक्त सर्वेक्षण अनुसार १८ दशमलब ८० प्रतिशतले टेलिभिजनलाई मानेका थिए भने २ दशमलब ३० प्रतिशत सर्वेक्षणकर्ताले पत्रपत्रिका भनेका थिए ।
लकडाउन अवधिमा सामाजिक सञ्जालसहित सबैखाले सञ्चार माध्यमबाट के कस्ता सामग्री सम्प्रेषित भए ? सम्प्रेषित सामग्रीको प्रभाव र विश्वसनीयता कस्तो रह्यो ? समग्र मिडियाको भूमिका कस्तो रह्यो ? भन्ने विषयमा केन्द्रित भई ११ वटा वस्तुगत प्रश्नसहित सर्वेक्षण गरिएको थियो । मिडियाकर्मी, कर्मचारी, प्राध्यापक÷शिक्षक, कृषक, मजदुर, सुरक्षाकर्मी, व्यापारी, चिकित्सक, बैंकर्स, राजनीतिकर्मी र विद्यार्थीलगायत ११ वटा पेशागत क्षेत्र, सातवटै प्रदेश, उपत्यका गरी आठ भौगोलिक क्षेत्रभित्र रहेका सबै जिल्लाको समानुपातिक प्रतिनिधित्व हुने गर सर्वेक्षणमा सहभागिता गरिएको थियो ।
सर्वेक्षणमा सबैभन्दा विश्वासिलो मिडिया कुन हो भनेर प्रश्न गर्दा ५० प्रतिशत सहभागीले टेलिभिजनलाई लिएका थिए । त्यसैगरी दोस्रोमा १८ दशमलब २ प्रतिशतले पत्रपत्रिका र १७ दशमलब ६ प्रतिशतले तेस्रोमा रेडियोलाई मानेका थिए । १३ दशमलब १० प्रतिशतले अनलाइन सञ्चारमाध्यमप्रति पनि विश्वास देखाएका थिए भने १ दशमलब १ प्रतिशतले मात्र सामाजिक सञ्जालप्रति विश्वास गर्ने गरेको बताए ।
सामाजिक सञ्जालप्रति ८० दशमलब ७ प्रतिशतले फेसबुकलाई पहिलो प्राथमिकता राखे भने दोस्रोमा युट्युब र तेस्रोमा ट्वीटरलाई राख्ने गरेको बताए ।