साप्ताहिक संवाददाता
विश्व स्वास्थ्य संगठनले योगलाई स्वास्थ्य सेवा पद्धतिको एउटा पाटोका रूपमा मान्यता प्रदान गरेको दुई वर्षपछि नेपालको सबैभन्दा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले योगको औपचारिक शिक्षा सुरुवात गर्ने तयारी गरेको छ ।
नसर्ने रोगको प्रकोपलाई योग अभ्यासका माध्यमबाट नियन्त्रण गर्न सकिन्छ भन्ने मान्यताका साथ विश्व स्वास्थ्य संगठनले यसलाई मान्यता दिएको हो । तीन वर्षअघि स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अध्ययनमा नेपालमा नसर्ने रोगको प्रकोप ५२ प्रतिशतले बढेको पाइएको थियो । पछिल्लो समय नेपालमा पनि सरुवा रोगभन्दा नसर्ने रोगको प्रकोप बढेसँगै प्रवद्र्धनात्मक कार्यक्रम प्राथमिकतामा पर्न थालेका छन् ।
विशेष गरी खानपान र जीवनशैलीसम्बन्धी परिवर्तनका कारण नसर्ने रोगहरू मधुमेह, कोलस्ट्रोल, मुटुको रोग, क्यान्सर तथा मानसिक समस्या बढ्न थालेपछि त्रिभुवन विश्वविद्यालयले योग शिक्षाको कार्यक्रम सुरु गर्न लागेको हो । त्यसका लागि विश्वविद्यालयले एकवर्षे कोर्सको तयारी गर्न लागेको छ । विषय समितिबाट पास गरी पाठ्यक्रम सुरु गर्ने अवस्थामा पुगेको विश्वविद्यालयले जनाएको छ ।
यो योग कार्यक्रमलाई पोस्ट ग्राजुएट इन ह्युमेनकन्सन एन्ड योग साइन्स नाम प्रस्ताव गरिएको र यो विषयलाई डिप्लोमा लेभलको मान्यता दिने तयारी भैरहेको विश्वविद्यालयको केन्द्रीय संस्कृत विभागका प्रमुख प्राध्यापक नारायणप्रसाद गौतमले बताए । दुई सेमेस्टरमा छुट्याइएको यो विषय अध्ययन गराउने प्रस्तावमा पहिलो ६ महिनाको सेमेस्टरमा ३ सय पूर्णांकको ७ वटा विषय हुनेछन्, जसमा योग र ह्युमेनकन्र्सन, योग र हेल्थ, उपनिषद् र योग, ह्युमेन साइकोलोजी, यौगिक साहित्य, भाषा र प्रयोगात्मक अध्याय १ र २ रहनेछन् ।
त्यसैगरी दोस्रो सेमेस्टरमा पनि त्यती नै पूर्णांकको ७ वटै विषय अध्ययन गर्नुपर्ने विश्वविद्यालयले जनाएको छ, जसमा पतञ्जली योग, योग र हेल्थ, प्राकृतिक चिकित्सा विज्ञान (नेचुरलथेरापी), योग र अल्टरनेटिभ थेरापी, संस्कृत साहित्य एवं प्रयोगात्मक १ र २ रहनेछन् ।
योग विज्ञानले मानवको शारीरिक, मानसिक एवं आध्यत्मिक विकास गर्नुका साथै प्रयोगात्मक र सैद्धान्तिक वैज्ञानिक पद्धतिले मानव कल्याण कार्यहरू गर्न प्रोत्साहन गर्ने हुँदा यसका लागि औपचारिक शिक्षा नै आवश्यक भएको प्राध्यापक गौतमले बताए ।
अहिलेको वैज्ञानिक सुविधाले मानिसलाई भौतिक सम्पन्नता प्रदान गरे पनि मानसिक रूपमा सन्तुष्टि हुन नसकेको उनको बुझाइ छ । मानसिक सन्तुष्टि प्रदान गर्न अब योग शिक्षा लिएका विद्यार्थीले समाजमा सकारात्मक परिर्वतन ल्याउनुपर्ने प्राध्यापक गौतम बताउँछन् । ‘योग मानिसको सन्तुष्टिको प्रमुख महाविज्ञान हो भन्ने कुरा वैज्ञानिक रूपमा प्रमाणित भैसकेको छ ।’ उनले भने, ‘अब हामीले यसमा औपचारिक पाठ्यक्रम तयार गरी अघि बढ्ने योजना बनाएका छौँ ।’ योग शिक्षालाई औपचारकिता दिन विश्वविद्यालयले विषय समिति बनाइसकेको छ । मानविकी संकायको डिन कार्यालयबाट स्वीकृत प्राप्त गरेपछि पाठयपुस्तक निर्माण गरी आगामी शैक्षिक सत्रदेखि यो कार्यक्रम सञ्चालनमा ल्याइने उनले जानकारी दिए ।
कार्यक्रमबाट विद्यार्थीलाई सैद्धान्तिक एवं व्यवहारिक (प्रयोगात्मक) योग सिकाउने योग र योग अभ्यास शारीरिक एवं मानसिक तन्तुहरूसँग तालमेल राख्ने अनि आयुर्वेदलाई बढावा दिने उद्देश्य राखिएको छ । यसमा विश्वविद्यालयले ज्ञान आर्जन गराई युवाहरूलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न प्रोत्साहन गर्ने, युवाहरूको शारीरिक, बौद्धिक र आध्यात्मिक विकास गरी देशको सर्वाङ्ग विकासतर्फ उन्मुख गराउने, महाविज्ञान योगको प्रशिक्षणबाट विश्वमा वसुदैव कुटुम्बकम–विश्व भ्रातृत्ववादको अवधारणालाई विश्वव्यापी रूपमा अघि बढाउने उद्देश्य राखेको छ ।
कोर्सलाई व्यवहारिक बनाउन सैद्धान्तिकभन्दा पनि प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिने गरी पाठ्यक्रम निर्माणको तयारी गरिएको प्राध्यापक गौतमले बताए । यो विषयमा विदेशी विद्यार्थीहरूलाई समेत अध्यापन गराउने तयारी भैरहेको बताइन्छ । यो कार्यक्रमको मूल्यांकन ३० प्रतिशत आन्तरिकबाट तथा ७० प्रतिशत परीक्षाबाट गरिनेछ । विश्वविद्यालयले तत्काललाई उपत्यकाका कलेजहरूलाई यो कार्यक्रम संचालन गर्न स्वीकृत दिने र बिस्तारै उपत्यकाबाहिर पनि विस्तार गर्ने योजना बनाएको छ । हाललाई संस्कृत विभागअन्तर्गत राखिए पनि भविष्यमा यसको छुट्टै विभाग
बनाउने तयारी छ ।
कसले पढ्न पाउँछन्
जुनसुकै संकायमा डिप्लोमा गरेकाहरूले यो पाठ्यक्रम अध्ययन गर्न पाउँछन् । यसको कक्षा सञ्चालन जनवरी र जुलाई गरी दुई सेमेस्टरमा गरिनेछ । भर्नाको अवसर भने वर्षभरि नै खुला रहने प्रस्ताव गरिएको छ ।