साप्ताहिक संवाददाता
राजन मुकारुङ, साहित्यकार
म आजभोलि प्राय: राइडिङ एपको प्रयोग गरेर दुईपाङ्ग्रे सवारीमा यात्रा गर्छु । साथीहरूले राम्रो एप छ भनेपछि डाउनलोड गरेँ । करिब पाँच महिनादेखि नियमित रूपमा यो सेवा प्रयोग गरिरहेको छु । पहिलो पटक शंखमूलदेखि अनामनगरका लागि बुकिङ गरेको थिएँ । तीन मिनेटभित्र मोटरसाइकल मलाई लिन आइपुग्यो । भाडा ७५ रुपैयाँ उठेको थियो । ट्याक्सीमा आएको भए धेरै उठ्थ्यो । फेरि ट्याक्सी त्यति सजिलै जान पनि मान्दैनन् । मिटरमा जाऊँ भन्दा बार्गेनिङ गर्न खोज्छन् ।
आपत् परेका बेला पाउनै मुस्किल हुन्छ । छोटो रुटमा त जानै मान्दैनन् । सार्वजनिक यातायतामा यात्रा गर्दा काठमाडौंको जामले पुग्ने कहिले हो थाहा हुँदैन । त्यसैले छिटो, सस्तो र सहजताका हिसाबले मलाई राइडिङ एप नै ठीक लाग्न थालेको छ । मैले ट्याक्सी चालकको विरोध गरेको होइन । तर, उहाँहरूले आफ्नो व्यवहार सुधार गर्नु आवश्यक छ ।
मिटरमा जाने, व्यवहारमा सुधार गर्ने हो भने ट्याक्सीप्रतिको आकर्षण पनि घट्दैन भन्ने मलाई लाग्छ । अर्को कुरा, सरकारसँग पनि मेरो असहमति छ । यस्ता सेवाप्रदायक कम्पनीमाथि प्रतिबन्ध लगाउने कुरा गर्नु उचित होइन । सक्छौ भने सर्वसाधारणलाई यी एपले दिएजस्तो सेवा देऊ, होइन भने हामीले सेवामार्फत पाइरहेको खुसी नलुट ।
दैनिक प्रयोग गर्छु, छिटो र सस्तो छ
त्रिशला गुरुङ, डाक्टर
मैले दुई वर्षदेखि टुटल एपमार्फत राइडिङ सेवा लिइरहेकी थिएँ । कलाकार भएकाले यताउता गइरहनुपर्ने, सधैं हतार । यस्तोमा टुटल एपको प्रयोग गरेर दुईपाङ्ग्रे सवारीमा यात्रा गर्दा एक त समयमै पुगिने भयो, अर्को ट्याक्सीभन्दा सस्तो पनि भयो ।
यसरी दुई वर्ष नियमित मैले टुटलको प्रयोग गरेँ । पछिल्लो समय डाक्टर बनेपछि चाबहिलबाट बिहान ८ बजे नेपाल मेडिकल कलेज (जोरपाटी) आउनुपर्ने भयो । त्यसपछि बिहान सहजै उपलब्ध हुने भएकाले पठाओ प्रयोग गर्न थालेँ । पठाओमा यात्रा गर्न थालेको अहिले डेढ महिना भएको छ । टुटल–पठाओले गर्दा मेरो यात्रा निकै सहज भएको छ ।
एक दिन सामान्य दुर्घटनामा परेँ । सामान्य चोट लाग्यो । यस्तो दुर्घटना त अन्य सवारीमा यात्रा गर्दा पनि हुन्छ । सरकारले कानुनी मान्यता नदिएका कारण बिमाको व्यवस्था हुन नसकेको सुनेकी छु । यसतर्फ सरकारले ध्यान दिए हामीजस्ता यात्रुले सुरक्षित यात्रा गर्न पाउने थियौँ । अन्य सुरक्षाको हिसाबले भने राइडरको फोन नम्बरसहित सबै जानकारी सम्बन्धित कम्पनीको कार्यालयमा हुने भएकाले त्यति समस्या छैन ।