
साप्ताहिक संवाददाता

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा पानी रङका चित्रहरू प्रदर्शन भैरहेका छन् । इन्टरनेसनल वाटरकलर सोसाइटी अफ नेपालद्वारा आयोजित उक्त प्रदर्शनीमा एन बी गुरुङ तथा डिराम पाल्पालीका ४० वटा चित्र राखिएको छ । पानी रंगको पेन्टिङलाई अघि बढाउने उद्देश्यले सञ्चालित प्रदर्शनीमा २० हजार देखि ८० हजारसम्मका चित्र विक्रीमा राखिएको छ । साउन १ गते प्रारम्भ भएको प्रदर्शनी साउन ७ गतेसम्म चल्ने बताइएको छ ।
सिद्धार्थमा कला प्रदर्शनी
बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा साउन ६ गतेदेखि फोटो डकुमेन्टेसन, भिडियोग्राफी तथा चित्रकला प्रदर्शनी हुने भएको छ, जहाँ एउटा चित्रकला, २ वटा भिडियो साथै अस्पतालको फोहोर प्रशोधनबाट बनेका सामग्रीहरू राखिनेछ । प्रदर्शनीमा राखिएका सामग्रीहरू कलाकार आङ छिरिङ शेर्पा तथा मेख लिम्बूका सिर्जना हुन् । त्यसका साथै प्रदर्शनीमा सिर्जना कलेज अफ फाइन आर्ट, काठमाण्डौ युनिभर्सिटी, सेन्ट अफ आर्ट एण्ड डिजाइन तथा एम क्युब ग्यालरीका कलाकारहरूका बनाएको चित्र एवं सामग्रीहरू पनि राखिने सिद्धार्थ आर्ट ग्यालरीकी कार्यकारी निर्देशक संगीता थापाले जानकारी दिइन् । यो प्रदर्शनी भदौ १ गतेसम्म सञ्चालन हुने बताइएको छ ।