साप्ताहिक संवाददाता
कार्टुनिष्ट राजेश मानन्धर ‘राजमान’ ले लकडाउनको थप सदुपयोग गर्दै कोभिड–१९ संग सम्वन्धित दर्जनौं ब्यंग चित्र कोर्न भ्याएका छन् ।
उनले लकडाउनको मौका छोपेर कोरेका ब्यंग चित्रमा सामाजिक ब्यंग त रहेको छ नै साथै बालबालिका र आम मानिसहरुलाई कोभिड–१९ भाइरसको बिषयमा जागरुक गर्ने किसिमको पनि रहेको छ ।
करिब २ दशक दैनिक र साप्ताहिक पत्रिकामा सामाजिक र राजनीतिक बिषयमा ब्यंग चित्र बनाउदैं आएका राजेश मानन्धरको पछिल्लो पटक पेशा अर्कै भएपछि उनको कार्टुनमा पनि फरकपन आएको देखिन्छ ।
हाल बुठानिलकण्ठ स्कुलमा चित्रकलाको शिक्षक पेशामा कार्यरत राजेशले आफ्नो लकडाउन कार्टुनमा समाजिक ब्यंग गर्न भ्याएका छन् नै साथै कार्टुन चित्र हेरेर बालबालिका प्रभावित हुने खालका पनि रहेका छन् । राजमान् भन्छन्– ‘पत्रिकामा भए राजनीतिक बिषयमा सोझैं ब्यंग गर्न मिल्थ्यो अहिले आफुले बालबालिकाको मनोभावना बुझेको कारण कार्टुन मार्फत् ब्यंगका साथै सामाजिक सन्देश पनि दिन चाहेको हुँ । राजमान्ले हालै बनाएका कार्टुनमा समाजिक सन्देश देखि समाजिक ब्यंग पनि रहेको छ । ‘बालबालिकालाई कार्टुनले धेरै प्रभावित पार्ने हुनाले मैले केही कार्टुन उनीहरुले बुझ्ने किसिमले बनाएको छु भने केही सामाजिक बिषयलाई पनि ब्यंग गरेको छु ।’ राजमान् भन्छन् ।
यो लकडाउनको अवधिमा राजमान्ले दर्जनौ समाजिक ब्यंगहरुको सिर्जना गरिसकेका छन् । जसलाई उनी समाजिक संजालका विभिन्न माध्यमद्धारा सार्वजनिक गरेर आम मानिसहरुलाई जागरुक गरिरहेका छन् । लकडाउनको अवधिमा विभिन्न चाडवाड, नयाँ बर्ष ओझेलमा परेको कारण राजमानले ब्यंगचित्र मार्फत् संझाएका पनि छन् ।