चित्रकार जया शर्माले लामो समयदेखि एउटै सपना बोकेर हिडिन् । आफ्नै सपनाको यो यात्रामा कैयौं उकाली ओराली आए होलान्, कैयौं खुड्किला र अप्ठ्यारा घुम्तीहरु उनलाई आफ्नै सपनाले तर्साए होलान । तर, उनले सपना देख्न भने छाडिनन् । तिनै सपनाको जगमा उभिएर आफैले भोगेको जीवनको उतारचढावलाई क्यानभासमा उतारिन् । अहिले उनका जीवनका तिनै उतारचढावहरु बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको हलमा प्रर्दशित भैरहेकाछन् विभिन्न आकृतिमा ।
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलका भित्ताहरुमा झुन्ड्याइएका चित्रहरुले जीवनका यस्तै रंग छोडेर जान्छ । शुक्रबारदेखि ‘ड्रिमवर्क २०३३’ शीर्षकमा प्रारम्भ भएको उनको ‘एकल चित्रकला प्रदर्शनी’मा चित्रकार शर्माले जीवनका यस्तै आरोह र अवरोहलाई आकर्षक ढंगले प्रस्तुत गरेकी छिन् ।
प्रदर्शनीमा राखिएका चित्र मार्फत जयाले आफ्नै कथा भन्ने जमर्को गरेकी छिन् । उनले चित्र मार्फत भ्रुणका रूपमा आरम्भ भएको जीवनका विविध पाटोहरुलाई चित्र मार्फत सुन्दर ढंगले पस्किएकी छिन् । जीवनको आरम्भ, बाल्यकालको स्मृति, चित्रकलाका सुरुवाती चरण, शारीरिक रूपमा अस्वस्थ अवस्था, वैवाहिक जीवन र ओझेल परेको कलायात्रा र भावी गन्तव्यका समग्र कथा उनले ‘ड्रिमवर्क २०३३’मा चित्र मार्फत प्रस्तुत गरेकी हुन् ।
भाँडाकुटी खेलेर रमाउने उमेरमै चित्रकलामा होमिएकी जयाको कलाकारीताको यात्रा औपचारिक रुपमा वि.सं २०४८ सालबाटै सुरु भएको हो । जीवन र सपनाको यात्रामा जयाले कहिले सपनालाई जितिन, कहिले सपनाले जीवनलाई जित्न खोज्यो । जीवन र सपनाको यो चक्रमा जया कहिले घर भित्र हराईन त कहिले क्याम्पसका कक्षा कोठाहरुमा ।
क्याम्पस पढ्दा पढ्दै निर्देशक सुब्रतराज आचार्यसँग वैवाहिक जीवन सुरु गरेपछि भने जयाको कला यात्राले केहि वर्ष विराम लियो । त्यतिबेला उनलाई लागेको थियो ‘मेरो चित्रकार बन्ने सपना तोडियो, जीवनका रहरहरु भत्किए ।’ तर, उनले भान्छामा रहेको पुरानो काठको फ्रेममा बोरा राखेर घरमै उपलब्ध रङ प्रयोग गरेर चित्र बनाईरहिन ।
अहिले प्रदर्शनमा राखिएका कतिपय चित्र उनका जीवनका यहि कठिन परिस्थितीका उपज हुन् । उनले चित्रमा यहि समयलाई कोरेकी छिन् । जयाले चित्रमा जीवन कोरेकी छिन्, त्यसैले अवलोकनमा आउने धेरैको मन छोएको छ । धेरैलाई भावुक बनाएको छ । धेरैलाई नोस्टाल्जिक बनाएको छ । अवलोकन कर्ताका प्रतिकृयाबाट जया आफू पनि भावुक भएकी छिन् ।
उनले प्रदर्शनी चलिरहदा भनेकी छिन्– ‘२०३३ साल देखिको सपनाको यात्रामा ४३ वर्षमा पुगेर एकपटक पछाडी फर्केर हेरेकी थिए’ । धेरै उताचढावका साथ यहाा आइपुगेको छु । यहाा सम्मको मेरो सपनाको यात्रामा मलाई साथ दिने सबैमा धन्यवाद । भोलि देखि फेरि मेरो सपनाको यात्रा सुरु हुनेछ ।’ प्रदर्शनी सोमबारसम्म साँझ सम्म चल्ने छ ।