
सुमन कुमार, गायक
मनपर्छ
लाइटिङ
तिहारको सबैभन्दा मनपर्ने पक्ष नै लाइटिङ हो। उज्योलोको पर्व भएकाले यतिबेला सहर-बजार नै झिलिमिली भएको देख्दा रमाइलो लाग्छ।
भाइटीका
दिदीहरूको हातबाट भाइटीका लगाएको क्षण वर्षभरि नै स्मरण भैरहन्छ।
तास
रमाइलोका लागि परिवारका सदस्यहरू बसेर खेलिने तासको मज्जा नै बेग्लै छ।
लक्ष्मीपूजा
लक्ष्मीपूजाको दिन आफ्नो घर तथा कार्यालयको रौनक नै बेग्लै हुन्छ। दुबै स्थानमा फुर्सदले लक्ष्मीपूजा गर्न पाउँदा मनै आनन्दित हुन्छ।
अनरसा
हुन त मलाई सेलरोटी पनि मनपर्छ तर तिहारमा मात्र पाक्ने अनरसाको स्वाद गज्जबको हुन्छ।
मन पर्दैन
चन्दा
तिहारका बेला देउसी र भैलोको नाममा जबर्जस्ती चन्दा उठाउने प्रवृत्ति मन पर्दैन
चिठ्ठा
तिहारलाई लक्षित गर्दै चिठ्ठा भिँडाउनेहरूले चाडपर्वको रमाइलोलाई नै बिगारिरहेका छन्।
जुवा
तास त मनोरञ्जनका लागि खेलिन्छ तर तिहारका अवसरमा खेलिने जुवाले धेरैको घरवार बिगारेको आफ्नै आँखाले देखेको छु।
मदिरा
चाडपर्व त हो भनेर अनियन्त्रित रुपमा मदिरासेवन गर्दा अनेकन दुर्घटना निम्तिने गरेका छन्।
पटाका
रमाइलोका लागि त ठिकै हो तर अंगभंग हुने गरि पटाका पड्काएको मन पर्दैन।
रजिना रिमाल, गायिका
मनपर्छ
झिलिमिली
तिहारको सबैभन्दा राम्रो पक्ष नै बत्तीको झिलीमिली हो। हरेकको घरमा बालिने झिलिमिली बत्तीले मनै रोमाञ्चित हुन्छ।
देउसी र भैलो
स-साना बालबालिकादेखि वयष्कसम्मले खेल्ने देउसी-भैलो तथा उनीहरूले भट्याउने गीतले नाचौं-नाचौं बनाउँछ।
लक्ष्मीपूजा
लक्ष्मीपूजाको साँझ सबैभन्दा रमाइलो लाग्छ। घरका सबै सदस्य भेला गएर लक्ष्मीमाताको आराधना गर्ने परम्परा आफैंमा अद्वितीय छ।
भाइटीका
तिहारको अर्को रमाइलो पक्ष भाइटीका हो। यो दिन म पनि आफ्नो भाइलाई टीका लगाइदिएर रमाइलो गर्छु।
सेलरोटी
हुन त सेलरोटी अरू बेला पनि खाइन्छ तर तिहारमा पकाइने सेलरोटीको स्वाद नै भिन्दै हुन्छ।
मन पर्दैन
पटाको आवाज
तिहारका बेला पड्काइने पटाकाको आवाज सुन्नै नपरोस् जस्तो लाग्छ।
देउसीको फेसन
राति अबेरसम्म हो-हल्ला गर्दै देउसी खेलेको मन पर्दैन।
जुवातास
रमाइलोका लागि जुवातास खेल्नु स्वभाविक हो तर पैसै कमाउने उद्देश्य खेलिने जुवातास भने मन पर्दैन।
फेसन
पछिल्लो समयमा तिहार पनि तीजजस्तै देखावटी गर्ने चाड बनिरहेको छ। फेसनका लागि गरिने देखावटी पनि मलाई मन पर्दैन।
रेश मरहट्ठा, अभिनेता
मनपर्छ
भाइटीका
चार जना दिदीहरूको कान्छो भाइ भएकाले होला मलाई भाइटीका विश्ोष मनपर्छ।
दियो
अरू बेला दियो बाल्ने चलन छैन तर तिहारका बेला घरको चारैतिर दियो बलेको देख्दा बाल्यकालको सम्झना हुन्छ।
खुल्ला सडक
तिहारमा खुलेर ड्राइभिङ गर्न पाइन्छ।
सहर
तिहारमा देखिने सहरको झिलिमिलीले मोहनी नै लगाउँछ।
नाइट आउट
खुल्ला सडक तथा झिलिमिली बत्तीले राती अबेर सम्म घर बाहिरै बस्ने रमाइलो वातावरण सिर्जन्ाा हुन्छ।
मन पर्दैन
अभाव
निम्न आय भएकाहरू तिहारमा समेत मजदुरी गरिरहेको देख्दा असाध्यै दुःख लाग्छ।
ध्वनि प्रदूषण
पटाकाको चर्को स्वरले पैदा गर्ने ध्वनि प्रदूषण मन पर्दैन।
मिठाई
तिहारका बेला जता गए पनि मिठाई खानुपर्ने बाध्यता हुन्छ। यो बाध्यताले शरीरको तौलसमेत बढाइरहेको हुन्छ।
होहल्ला
मदिरा सेवन गरेर राति अबेरसम्म सडकमा होहल्ला गरेको मन पर्दैन।
देउसी
राति सुतिसकेपछि पनि देउसी खेल्न आउनेहरूले घरको घन्टी बजाएर हैरान बनाएको मन पर्दैन।
जीवन लुइँटेल, अभिनेता
मनपर्छ
भाइटीका
तिहारको सबैभन्दा मनपर्ने पक्ष नै भाइटीका हो जहाँ दाजुभाइ तथा दिदीबहिनीबीच अभूतपूर्व आत्मियता झल्कन्छ।
देउसी-भैलो
देउसी र भैलोको रौनकले वातावरणलाई नै संगीतमय बनाएको क्षण आकर्षक हुन्छ।
रंगोली
लक्ष्मीपूजाको दिन हरेकको घर-आँगनमा बनाइने रंगोली धार्मिक रूपले पनि महत्वपूर्ण छ। जबसम्म घरको आँगनमा रंगोली बन्दैन, तब सम्म तिहार आए जस्तै लाग्दैन।
फूल
तिहार यस्तो चाड हो जहाँ मखमली, सयपत्री र गोदावरीको मीठो बासनाले मनै तरंगित हुन्छ।
कलरफूल याम
पटाका, झिरझिरे, झिलीमिली बत्ती, सेलरोटी, तास...आहा तिहारको कलरफूल यामले मनै आनन्दित बनाउँछ।
मन पर्दैन
जुवातास
तिहार लाग्नुभन्दा हप्ता दिनअघिदेखि जुवातासमा मस्त हुनेहरू देख्दा असाध्यै दुःख लाग्छ।
डिमान्ड
देउसी र भैलो खेलेपछि यति नै पैसा दिनुपर्छ भनेर डिमान्ड गर्ने पछिल्लो चलन पनि मन पर्दैन।
पटाका
तिहारमा पटाका पड्काउनुपर्छ तर पटाका पड्काउँदा होसियारी अपनाइएको पाइँदैन। असावधानिपूर्वक पटाका पड्काइएको मलाई मन पर्दैन।
मदिरापान
तिहारमा अत्यधिक मदिरापान गरेर अनियन्त्रित हुँदै सवारी साधन चलाएको मन पर्दैन।
फेसन
तिहारमा घर सजाउने, महँगो बत्ती बाल्ने जस्ता कुराले पनि फेसनको रूप लिएको छ। तिहारको यो पक्ष पनि मलाई मन पर्दैन।
सुप्रिया कटवाल, मोडल
मनपर्छ
भैलो
म अहिले पनि भैलो खेल्न मन पराउँछु। साथीहरूको समूह बनेन भने घरमा भैलो खेल्न आउनेहरूसँग भए पनि भैलो गाउँदै रमाइलो गर्छु।
भेटघाट
तिहारले परिवारका सदस्यहरूसंग भेटघाट गर्ने अवसर जुराउँछ। खासगरी भाइटीकाको दिन टाढा-टाढा भएका दाजुभाइ तथा दिदीबहिनीहरूसँग भेट्ने अवसर मिल्छ।
परिकार
तिहारका बेला पाक्ने परिकार असाध्यै मनपर्छ।
पशु सम्मान
तिहारका बेला काग, कुकुर, गाई र गोरुको पूजा गर्दै उनीहरूलाई सम्मान गर्ने चलन अति नै राम्रो छ।
झिलिमिली
तिहारको सबैभन्दा उत्कृष्ट पक्ष भनेकै झिलिमिली हो।
मन पर्दैन
पटाका
चर्को स्वरमा पड्काइने पड्कालेे दिक्क बनाउँछ।
तास
मलाई तास खेल्न नआउने भएकाले होला अरूले तास खेलेको पनि मन पर्दैन। तिहारमा त झन् दिनभरि तास खेलेको देख्दा असाध्यै रिस उठ्छ।
खर्च
अचेल तिहारमा भड्किलो खर्च गर्ने चलन प्रारम्भ भएको छ। मलाई यो पक्ष मन पर्दैन।
हल्ला
देउसी खेल्ने युवाहरूले मध्यरातसम्म गर्ने हो-हल्ला पनि मलाई मन पर्दैन।