साप्ताहिक संवाददाता
यस अप्रत्यासित लकडाउनको समयमा अध्ययन गरेका पुस्तकहरूमध्ये मनपरेको एउटा पुस्तक रोबट सापोल्स्किको ‘बिहेब’ हो । यस पुस्तकमा लेखकले हामी उपर्युक्त निर्णयहरू कसरी लिइरहेका हुन्छौं भन्ने कुरालाई समेटेका छन् । हाम्रो जीवनमा हामीले लिने निर्णयहरूले हाम्रो यात्रा जीवनमार्गको कुनै पनि मोडमा पुर्याउन सक्छ । यस पुस्तकको अध्ययनले पाठकहरूलाई सामाजका प्रणालीहरूलाई उत्पादक र प्रभावकारिमूलक तरिकाले संशोधन या परिवर्तन गर्नका लागि बलियो जग प्रदान गर्छ । लेखकले जटिल विज्ञानलाई सर्वसाधारणले बुझ्नसक्ने गरी पुस्तकमा प्रस्तुत गरेका छन् । सापोल्स्किको यस पुस्तकले हामीलाई दोष ( निर्दोष, असल–खराव, नैतिक–अनैतिक जस्ता विषयहरूमा पुरातन मूल्य मान्यताप्रति प्रश्न गर्न बाध्य बनाउँछ । यो एउटा पढ्नै पर्ने पुस्तक हो ।
ईश्वर कँडेल, कवि
अलि ग्रिपर लिखित ‘सन्दुक रुइत’ मलाई राम्रो लाग्यो । मैले खगन्द्र संग्रौलाको बिछट्टै राम्रो नेपाली अनुवादमा त्यो किताब पढेको हुँ । एक साधारण मानिसको असाधारण जीवन कथा हो, यो । देशको अति विकट सोलुको शेर्पा परिवारमा जन्मिएका रुइतको संघर्ष अत्यास लाग्दो छ । के–के नमिल्ने कुराहरू मिल्दै गएर उनको व्यक्तित्व बनेको छ । शेर्पाको छोरा दाजिर्लिङको मिसनरी स्कुलको अंग्रेजी पढाइ, नचिताएको छात्रवृत्ति । उनलाई सबैभन्दा माया गर्ने बहिनीको निधन । अर्को जातको युवतीसितको प्रेम र विवाह । जागिर र आफ्नो महत्वाकांक्षाबीचको बेमेल । सरकारी अधिकारीहरूसितको लडाइँ, तिलगंगा आँखा अस्पतालको स्थापना, यिनका अनेक लोभलाग्दा कथाहरू छन् पुस्तकमा ।
मनु मञ्जिल, कवि
मलाई माधव काफ्लेको संस्मरण संग्रह ‘खुसीको पिरो धुँवा’ अत्यन्तै मन परेको छ । जीवनका अत्यन्त करुण र मार्मिक अवस्थाको सटिक चित्रण, नियतिको प्रहार, गरिबी, प्राकृतिक र सामाजिक अन्याय, संघर्षजस्ता हृदयविदारक घटनाहरूका संस्मरण छन् जुन स्वाभाविक र विश्वसनीय पनि लाग्छन् ।
घनश्याम परिश्रमी, गजलकार
अफगान अमेरिकी लेखक खालिद हुसैनीले लेखेको ‘अ थाउजेन्ड स्प्लेन्डिड सन पढेँ । उनको कथा भन्ने शैली म मन पराउँछु । साथै यसको कथ्य पनि मन पर्यो । त्यस्तो समाज जहाँ महिलालाई मानिसको दृष्टिकोणबाट हेरिन्न र मात्र बच्चा जन्माउने साधन मात्र सोचिन्छ । उनले अफगानिस्तान र काबुलको यही कथा भनेका छन् । उनले यस उपन्यासको माध्यमबाट प्रत्येक बुर्काभित्र लुकेको अनुहारसँग एउटा–एउटा लुकेको विषम कथा भएको दर्शाएका छन् । अफगान समाजमा पुरुषले गर्ने बहुुविवाह, श्रीमतीलाई गर्ने शारीरिक तथा मानसिक यातना र नृशंस व्यवहारलाई उक्त पुस्तकले उधिनेको छ । मरियम, नाना, लैलालगायतको कथाबाट महिलाका पीडाको उत्खनन भएको छ । तालिवानी सत्ताको उदय भएपछि अफगानिस्तान झन् बढी महिलाप्रति अनुदार भएको घटना पनि आएको छ । मानिसलाई मानिसको जिन्दगी बाँच्न दिनका लागि र लिङ्गकै आधारमा हिंसा हुन नदिन यस्ता कथाहरू बाहिर ल्याउन जरुरी छ , जुन यस पुस्तकले गरेको छ । यस कारण मैले यो पुस्तक मन पराएको हुँ ।
सुवास खनाल, कवि
मलाई ललित बिष्टको कथासंग्रह ’मोहपथ’ असाध्यै मन परेको हो । यसमा अलौकिक बनोटका कथाहरू पढ्न पाइन्छ । अन्तर्राष्ट्रिय स्तरको कथाकारिता छ ।
प्रगति राई, लेखक
निलम कार्की निहारिकाको ‘योगमाया’ मनपरेको हो । यस किताबमा त्यतिबेलाको सामाजिक, राजनीतिक व्यवस्था र महिलाहरूमाथि हुने गरेका अन्याय अत्याचार हिंसाहरूको विरुद्ध आवाज उठाइएको छ । पितृसत्तात्मक समाजमा एउटी महिलाले राज्य समक्ष महिलाका हकहितको आवाजका मुद्दामा बारम्बार युद्ध गर्दा पनि असफल हुनु परेको तितो यथार्थ छ । जुन अहिलेसम्म पनि कतै अल्झिरहेको पाइछ । त्यसैले यो पुस्तक अरूभन्दा राम्रो लाग्यो मलाई ।
रिमा केसी, कवि
लकडाउनमा यसपालि धेरै किताब पढियो । केही पाण्डुलिपि पनि पढेँ । केही किताबहरू दोहोर्याएर पढ्न मन लाग्यो । तीमध्येको एउटा किताब हो, खप्तड बाबाको ’विचार विज्ञान’ । स्वस्थ शरीर, स्वस्थ मन र स्वस्थ मस्तिष्कको सम्मेलनबाट निस्केको विचार सर्वथा शक्तिशाली हो । प्रकृति, मानव र जीवन जगतलाई आजको यो अवस्थासम्म ल्याइपुर्याउने विचार हो । संसारको कुनै पनि सत्ता, स्थान वा कुनै उच्च छविमा पुर्याउन विचार आवश्यक छ भन्ने कुराको बोध यो किताब पढेपछि हुन्छ । जस्तो कि उनले ‘इच्छाशक्ति’ खण्डमा ‘कसरी निरोगी रहन सकिन्छ’ भन्ने कुराको बयान गरेका छन् । त्यो कुरा यो महामारीको समयमा लागू हुनसक्छ ।
भूपेन्द्र खड्का, गीतकार
हा जुन चाङको ‘२३ थिङ्स दे डु नट टेल यू एबाउट क्यापिटलिजम’ मलाई मन परेको पुस्तक हो । पुँजीवादको कित्तामै रहेर यसले पुँजीवादी अर्थशास्त्रमाथि राम्रो आलोचना गरेको किताब हो । पुँजीवादलाई जसरी व्याख्या गरिएको छ त्यो होइन यसका अन्य आयाम पनि छन् भनेर लेखकले बढो मिहिन तरिकाले भनेका छन् ।
नवीन तिवारी, लेखक