साप्ताहिक संवाददाता
यदि मेरो बिहे भएको भए यो लकडाउनमा मेरो जुम्ल्याहा सन्तान हुने रहेछन् । खासमा म ‘ट्विन्स लभर’ हो । मेरो विभिन्न चाहनाभित्रको यो पराकाष्ठामा नै पर्छ ।
गायक राजेश पायल राईलाई एउटा प्रश्नले सधैँ खेदिरहन्छ– ‘बिहे कहिले गर्ने हो ?’ अनि, यो प्रश्नलाई उनी सधैँ विभिन्न ढंगले पन्छाइरहन्छन्, ‘गर्छु, अब चाँडै गर्छु ।’
अनेक युवतीसँग उनका नाम प्रेमीको रुपमा जोडिरहन्छन् तर उनी सधैँ टारिरहन्छन्, ‘मेरो कुनै प्रेमिका नै छैन् ।’ सधैँ स्टेज शो, सधैँ गीत रेकर्डिङकै धपेडीमा रहने राजेश अहिले लकडाउनले घरभित्रै थुनिएर बसेका छन् । र, यतिबेला पनि उनलाई एक्लोपन महसुस भएको छैन् ।
लकडाउनकै बेला साप्ताहिकले गरेको एक कुराकानीमा उनले यो समयमा पनि आफूले जीवनसाथीको अभाव महसुस नगरेको बताए । तर, अचम्मको रहर व्यक्त गरे, ‘यदि मेरो बिहे भएको भए यो लकडाउनमा मेरो जुम्ल्याहा सन्तान हुने रहेछन् । खासमा म ‘ट्विन्स लभर’ हो । मेरो विभिन्न चाहनाभित्रको यो पराकाष्ठामा नै पर्छ ।’
उनले सुनाए, ‘कतिपय युवतीहरूसँग बिहे र प्रेमलाई लिएर कुरा चल्दा ‘तपाईं जुम्ल्याहा पाउन सक्नुहुन्छ’ भनेर पनि जिस्किने गर्छु ।’
आफूलाई एक्लोपन मनपर्ने बताउँछन् उनी । ‘खासमा मलाई एक्लै जिउने बानी भइसकेको रहेछ,’ उनी भन्दै थिए, ‘विदेश जाँदा होस् या यतै, प्रायः म एक्लै समय बिताइरहेको हुन्छु । ’
लकडाउनका बेला घर शुन्य हुँदा कहिलेकाँही अनौठो महसुस भने भएको उनले बताए । हाल उनी नक्सालस्थित आफ्नै घरमा छन् । राजेशलाई लकडाउनले बरु किचनतिर खुट्टा लम्काउन सिकायो तर बिहे गर्ने तर्फ साहस जुटाएनन् । उनी भन्दै थिए, ‘हुन्छ, अब चाँडै हुन्छ, नआत्तिनुस् न ।’
बिस्तृत कुराकानी भिडियोमा हेर्नुहोला ।
https://youtu.be/rJGyRmroS4g