सकारात्मक पक्ष, सबै दिदी–बहिनी मिलेर रमाइलो गरी हाम्रो संस्कृतिलाई टेवा पुर्याउनु । नकारात्मक पक्ष, तीज आउनु एक महिनापहिलेदेखि नै दरमा अनावश्यक खर्च गरी अरूको देखासिकी गर्नु ।
दीपक अधिकारी, कलाकार
धेरै पछि साथी, संगी तथा दिदी–बहिनीहरूको भेट हुन्छ, तर धेरै अघिदेखि तीजको दरको बहानामा खाने मात्र होइन, पिएर हल्ला गर्ने प्रवृत्ति चाहिँ नराम्रो हो ।
गजित विष्ट, नायक
पार्वतीले विष्णुको सल्लाहमा महादेव श्रीमान् पाउन हरितालिका तीजको व्रत बसेको पौराणिक कथन छ । श्रीमान्प्रतिको आत्मीयता, दीर्घायु एवं पारिवारिक सुखका लागि श्रीमतीले व्रत बस्ने हाम्रो सांस्कृतिक परम्परा रहेकोमा अहिले आएर समयसँगै यो चाडले पनि रंग फेर्दै गएको छ । केही महिलाहरूका लागि साडी र गहना प्रदर्शन गर्ने अनि पार्टी गर्ने बहाना बनेको छ, तीज । पहिले–पहिले शिवको भजन गाएर नाचिने तीज अहिले भड्किलो पहिरनमा उत्ताउलो गीतमा नाचिन थालेको छ । तीजको सकारात्मकतामाथि नकारात्मकता हावी हुँदै गएको छ ।
सारंगा श्रेष्ठ, नायिका
तीज महिला (श्रीमती) लाई मस्ती, पुरुष (श्रीमान) लाई सास्ती ।
लक्ष्मण सुवेदी, निर्देशक/रंगपत्रकार
तीज हाम्रो परम्परागत चाड हो । यसले महिलाहरूबीचको एकता प्रदर्शन गर्छ, तर देखासिकी गरेर महिनौं अघिदेखि दर खाने बहानामा अनावश्यक खर्च गरेको राम्रो लाग्दैन ।
गम्भिर विष्ट, नृत्य निर्देशक
हिन्दू महिलाहरूको महान् चाड, नारी पुरुषबीचको आत्मीयता, दिदी–बहिनीबीचको माया र सद्भाव तीजको सकारात्मक पक्ष हो भने तीजको ग्ल्यामर भनेर जस्तो पायो त्यस्तो गीत गाएर नाच्नु नकारात्मक पक्ष हो ।
गोपाल ढकाल ‘छन्दे’, हास्यकलाकार
प्राय: छोटा कपडामा देखिने युवतीहरू पनि तीजमा साडीमा देखिन्छन् । हेर्दा पनि आनन्द लाग्छ, तर तीजको अघिल्लो दिन खानुपर्ने दर महिना दिन अघिदेखि खाएर बढेको पेट देखाएर साडी लगाएका महिलाहरू देख्दा दिक्क लाग्छ ।
शिशिर भण्डारी, कलाकार
तीजमा दिदी–बहिनीहरूसँग भेट हुन्छ, सासू–बुहारी सँगै पूजा गर्छन, नाच्छन् । महिलाहरूको मात्र यो चाडका गीतमा अचेल पुरुषहरू पनि गाउन–नाच्न थालेका छन् । यो त महिलाहरूको अधिकारमाथि अतिक्रमण भएन र ?
वसन्त निरौला, निर्देशक
तीज चाड मात्र होइन, यो नेपालको एउटा संस्कृति पनि हो, तर संस्कृतिमा विकृति आउने गरी अनावश्यक फेसन देखाएको मन पर्दैन । देखावटीपन बढ्नु यसको सबैभन्दा नकारात्मक पक्ष हो ।
आयुषा राई, नायिका/मोडल
राम्रो पक्ष, मात्र महिलाहरूको सेलिब्रेसन । नराम्रो पक्ष, पानी पनि नखाई आफ्नो स्वास्थ्य बिगार्नु ।
विधाता केसी, चित्रकार
म त सकारात्मक पक्ष नै देख्दिनँ । १० वर्षअघिसम्म हाम्रा दिदीबहिनीहरूले तीज मनाउँदा आफ्नो संस्कृतिलाई पछ्याएका थिए । अहिले संस्कृति र परम्परामाथि विकृति हावी भएको छ । महिनौंअघिदेखि दर खाने नाममा मदिरा पनि सेवन गरिएको पाइन्छ । यस्तो विकृतिले हाम्रो मौलिक चाडमा नकारात्मकता बढाएको छ ।
दिपशिखा खड्का, नायिका
भगवान्को व्रत बस्नु, पुजा गर्नु सकारात्मक पक्ष हो भने तीजमा महँगा साडी, गहना देखाउने होडबाजी चल्छ, जुन नकारात्मक पक्ष हो । सम्पन्न परिवारका महिलाले त त्यस्तो होडबाजी गर्छन् नै, नसक्नेहरूले ऋण लिएर समेत उक्त होडबाजीमा लाग्नु निकै दु:खद पक्ष हो ।
निश्मा घिमिरे, नायिका
सकारात्मक–नकारात्मकभन्दा पनि पर्वका नाममा देखासिकी गर्नु सबैभन्दा नराम्रो पक्ष हो । यसले पर्वको शालिनतालाई बिगारिरहेको छ ।
दयाहाङ राई, अभिनेता
तीजलाई अहिले सम्पन्नता देखाउने प्रतिस्पर्धा गर्ने अवसरका रूपमा लिइएको पाइन्छ, यो नै सबैभन्दा नकारात्मक पक्ष हो । बाँकी जे छ सबै राम्रै छ ।
पवित्रा आचार्य, नायिका
पर्व मनाउनुपर्छ । अझ तीज महिलाहरूको मात्र चाड भएकाले उनीहरूले धूमधामले मनाउनुपर्छ, तर मैले गायिका कोमल वलीसँग गाएको गीतमा भनेझैं हरेक श्रीमान्ले आफ्ना व्रतालु श्रीमतीलाई पानी नखाई आफ्नो स्वास्थ्य बिगार्ने गरी व्रत बस्नु हुन्न भनेर सम्झाउनुपर्छ ।
अजय अधिकारी सुशील, गायक
सकारात्मक पक्ष, परिवारमा महिला सदस्यको भेटघाट, महिलाहरूले वर्षभरिको दु:खलाई बिर्सेर रमाइलो गर्ने दिन । नकारात्मक पक्ष, व्रतको नाममा आफैंले आफुलाई दु:ख दिनु अनि द्विअर्थी गीत गाउनु । वास्तवमा तीजका गीतमा पनि सेन्सर लगाउने बेला भैसकेको छ ।
राज श्रेष्ठ, टेलिभिजनकर्मी
सबै कुराको सकारात्मक र नकारात्मक पक्ष हुन्छ । तीजको पनि छ । तीज मनाउने दिदीबहिनीहरूले नकारात्मकता त्यागेर सकारात्मक ढंगबाट अघि बढ्नुपर्छ ।
प्रनब जोशी, निर्देशक
सकारात्मक, गाउँघरमा चेली–माइती भेटघाट गरेर मनाइने रमाइलो चाड । नकारात्मक, सहर बजारमा महिना दिनअघिदेखि तीजको नाममा आफ्नो हैसियत भन्दा बढि तुजुक देखाउने चलन ।
केशव भट्टराई, अभिनेता
महिलामात्रको तीज भएकाले उनीहरू तीज मनाउन स्वतन्त्र छन् । अघिल्लो दिन मीठो परिकार खाँदै भोलिपल्ट तीजको व्रत बस्नु राम्रो हो, तर तीजको नाममा चाहिनेभन्दा बढि खर्च गर्नु राम्रो होइन । तीजका गीतमा बढ्दै गएको अश्लीलताले यो पर्वको गरिमा घटाउँछ भन्ने कुरामा पनि सजक हुनुपर्छ ।डिजे गणेश
चाडपर्वमा मेकअप र ड्रेसअप गरेर राम्रो देखिनु महिलाको अधिकार हो, तर आफ्नो गच्छेअनुरूप खर्च गर्नुपर्छ ।
सुदिना खड्गी, मेकअप तथा हेयर स्टाइलिस्ट
चाडपर्व आफंैमा नराम्रो होइन । महिनौं अघिदेखि दर खाने भनेर लाखौं खर्च गर्नु तथा गरगहना र साडीको फेसन देखाउने होडबाजीमा सामेल हुनु राम्रो होइन । यसबाहेक तीज त महिलाहरूको पो चाड हो, पुरुषहरूले किन गीत गाएर तीज मनाएका होलान् ?
निखिल उप्रेती, नायक