अनुशा पौडेल, टेलिभिजनकर्मी
मेलम्ची, सिन्धुपाल्चोककी अनुशा पौडेल विगत १२ वर्षदेखि टेलिभिजनमा सक्रिय छिन् । इमेज च्यानलले आयोजना गरेको ‘भिजे हन्ट’ कार्यक्रममा उत्कृष्ट भएपछि त्यही च्यानलमा कार्यक्रम प्रस्तोता (भिजे) का रूपमा आबद्ध भएकी अनुशा अहिले वरिष्ठ कार्यक्रम निर्माताका साथै कार्यक्रम सञ्चालिकाका रूपमा प्रस्तुत हुन्छिन् । चलचित्रसम्बन्धी कार्यक्रम ‘सिने हिट्स’ मार्फत पहिलो पटक दर्शकमाझ आएकी अनुशाले करिब डेढ वर्ष उक्त कार्यक्रम सञ्चालन गरेपछि बलिउडका गीतको काउन्टडाउन ‘सेन्चुरी टप टेन’ सञ्चालन गरिन् । लोकगीतका म्युजिक भिडियो प्रसारण हुने कार्यक्रम ‘भन्ज्याङ’ को प्रसारणसँगै अनुशालाई दर्शकहरूले पनि मन पराउन थाले । त्यसपछि उनले सौन्दर्यसम्बन्धी कार्यक्रम ‘सज्जा’, ‘अन द रोड’, ‘जीवन शैली’ आदिमा सञ्चालिका तथा निर्माताका रूपमा काम गरिन् । आधा दर्जन कार्यक्रमको निर्माण तथा सञ्चालनपछि १० वर्षअघि अनुशाले इमेज च्यानलकै नयाँ कार्यक्रम ‘उकाली ओराली’ मार्फत दर्शकमाझ आउने अवसर पाइन् । प्रत्येक दिन दिउँसो १ बजेदेखि २ बजेसम्म प्रत्यक्ष प्रसारण हुने लोक गीतका म्युजिक भिडियोहरू प्रसारण हुने यो कार्यक्रममा अनुशासँगै अन्य प्रस्तोता पनि छन् । ‘उकाली ओराली’ मा निर्माताका रूपमा समेत सक्रिय अनुशा आइतबार तथा सोमबारको यो कार्यक्रममा आफैं प्रस्तुत हुन्छिन् । अनुशाले दोहोरी गायक–गायिकाहरूलाई स्टुडियोमा बोलाएर दोहोरी खेलाएको कुरा दर्शकले निकै मन पराएका छन् । एक दर्जन तीज गीतका म्युजिक भिडियो निर्देशनसहित अन्य केही गीतका भिडियोमा अभिनयसमेत गरिसकेकी अनुशासँग साप्ताहिकको तीन प्रश्न :
‘उकाली ओराली’ कार्यक्रमका दर्शक कस्ता छन् ?
बालबालिकादेखि वृद्ध–वृद्धासम्म तथा गाउँदेखि सहरसम्मले यो कार्यक्रम नियमित हेर्नुहुन्छ । दर्शकसँग प्रत्यक्ष कुराकानी गरिने हुँदा प्राय: दिउँसो घरमै बस्ने गृहिणी तथा रिटायर्ड कर्मचारीहरू हाम्रो कार्यक्रमका नियमित दर्शक हुन् भन्ने पत्ता लगाएका छौं ।
यसपटक बजारमा आएका तीज गीत कस्ता छन् ?
नेपालमा तीजका गीत नै भनेर तयार भएका गीतको संख्या निकै कम छ । यो वर्ष पनि दुई–चारवटा मात्र मौलिक तीज गीत तयार भएका छन् । प्राय: रातो सारी लगाएर नृत्य गरिएका गीतलाई तीज गीत भन्ने चलन छ, तर ती गीत लोकदोहोरी मात्र हुन् ।
आगामी दिनका लागि कस्ता कार्यक्रमको तयारी गर्दै हुनुहुन्छ ?
इमेज च्यानलबाटै हामीले भर्खरै मात्र नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धित ‘चलचित्र’ को प्रसारण प्रारम्भ गरेका छौं । प्रत्येक बिहान ११ बजेदेखि १२ बजेसम्म प्रत्यक्ष प्रसारण हुने यो कार्यक्रममा म निर्माताका रूपमा सहभागी छु । अहिले यही कार्यक्रमलाई थप गुणस्तरीय बनाउने तयारी गरिरहेकी छु ।



