साप्ताहिक संवाददाता
हरेक बाबुआमाको नजरमा उनीहरूका सन्तान संसारमा सबैभन्दा असल र राम्रा हुन्छन् । चलचित्रकर्ममा लागेका प्राय: निर्देशक वा कलाकारले आफ्ना सन्तान चलचित्र नायक वा नायिका हुन् भन्ने चाहना पनि गरेकै हुन्छन् । अझ सन्तान नायक वा नायिका हुन लायककै भए भने त बाबुआमाको सपना साकार भैहाल्यो । सलोन बस्नेत पनि त्यस्तै अभिनेता हुन् । सानैमा बालकलाकारका रूपमा दर्शकमाझ छाप छोडिसकेका सलोनले बालअभिनेताको छाप हटाएर अहिले अभिनय, नृत्य एवं द्वन्द्वमा पोख्त अभिनेताको छवि बनाइसकेका छन् । यद्यपि उनको करियरले जुन गति लिनुपर्ने हो, लिएको छैन ।
सलोन व्यस्त त छँदैछन्, तर उनलाई एकल नायकका रूपमा कमसेकम एउटा सुपरहिट चलचित्रको खाँचो छ । यसबीच कुनै बेला एकपछि अर्को चलचित्र निर्देशन गरेर चर्चामा आएका उनका बाबु सोभित बस्नेतले छोरालाई सुपरहिट हिरोका रूपमा चिनाउन आफैं चलचित्र निर्माण गर्दैछन् । चाँडै नै निर्माण थालिने उक्त चलचित्रको शिर्षक बाबुकान्छा जुराइएको छ ।