
साप्ताहिक संवाददाता

नेपाल आइडलका निर्णायक न्ह्यू बज्राचार्य :
‘स्वर त ठीकै हो, तर तालमा गाउनु भएन । तालमा गाएर हुँदैन स्वर चाहिन्छ । स्वर र ताल भएर हुँदैन, एउटा स्याड स्टोरी पनि चाहिन्छ ।’
इन्दिरा जोशी :
‘तपाईंको गीतले भित्रसम्म छोएन ? किड्नीसम्म मात्र छोयो, मुटुसम्म छुनै सकेन, अब गाउँदा घुँडासम्म छुने गरी गाउनुस् । स्वर त ठीकै हो, तिम्रो मेकअप भएन ।’
कालीप्रसाद बाँसकोटा :
ओहो, कति राम्रो हाँसेकी, तिम्रो दाँत अलि नमिलेको रहेछ । स्वर त त्यस्तै हो तर डिम्पल मेरोभन्दा राम्रो छ । अनि आज के तरकारी खायौ ?’
गायनमा आधारित रियालिटी शो ‘नेपाल आइडल’ का प्रतिस्पर्धीहरूले दर्शकको मन जितिरहेका बेला कार्यक्रममा सहभागी निर्णायकहरूले भने सहभागीसहित दर्शकको समेत मन दुखाएका गुनासासहितका यस्तै थुप्रै ट्रोल सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । सामाजिक सञ्जालमा नेपाल आइडलका निर्णायकहरूका विरुद्ध विभिन्न प्रकारका टीका–टिप्पणीसमेत भएका छन् भने कतिपयले निर्णायकको योग्यतामाथि नै प्रश्न उठाएका छन् ।
पुराना गीतकार राजेन्द्र थापाले फेसबुकमा एउटा लामै स्टाटस लेख्दै नेपाल आइडलका निर्णायकहरूका बारेमा सटिक टिप्पणी गरेका छन् । ‘नेपाल आइडलका निर्णायक तथा निर्णयका बारेमा फेसबुकमा असन्तुष्टि छताछुल्ल भएका छन्, आरोपहरू धेरै छन् । थापाले लेखेका छन्— ‘पुराना पुस्ताका निर्णायक न उपलब्ध छन्, न अहिलेको परिवर्तनलाई बुझ्ने र त्यसलाई स्विकार गर्ने खालका छन्, तसर्थ ४० को दशकपछिको निर्णायकको विकल्प छैन । यस हिसाबले यी तीन (न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँसकोटा) अयोग्य हुन् भने योग्य को त ?’ गीतकार थापाले इन्दिरा जोशी तथा कालिप्रसादहरू निर्णायकमा राखिनुको कारण नयाँ तथा पुरानाको मिश्रण भएको उल्लेख गरेका छन् । ‘धेरैलाई भ्रम छ काली नयाँ हुन्, नाम चलेको मात्र नयाँ हो । धेरै पुराना हुन् यिनी । आफैं एरेन्जमेन्ट गर्न सक्ने नेपालका सिमित संगीतकारमध्ये उनी एक भएको थापाको तर्क छ ।
गीतकार थापा लेख्छन्– ‘यी निर्णायक पर्फेक्ट छन् भन्ने होइन । निर्णायक पनि नेपालमै भएकामध्येबाट लिने हो, भारतका विज्ञलाई लिने होइन । निर्णायक पुराना र नयाँको सम्मिश्रण नै हुनुपर्छ । किनभने आजको सांगीतिक अभिव्यक्ति १० वर्ष पुरानासँग मिल्दैन, पुरानो चस्माले हेर्नु हुँदैन । आजको नेपाली संगीत आजको समय र पुस्ता जस्तै छ, न शास्त्रीय, न पप, न लोक, न र्याप, सबै मिश्रित । त्यसैले निर्णायकहरू पनि सबै कुराको सम्मिश्रण भएको हुनुपर्छ । निर्णायकले जे सही मान्छन्, त्यही निर्णय गर्छन् । यदि तपाईंलाई आफू सही छु जस्तो लाग्छ भने निर्णायकहरूलाई पनि उनीहरू नै सही लाग्छन् ।
गीतकार थापाको स्टाटसमा थुप्रै प्रतिक्रियासमेत आएका छन् । किशोर पहाडी लेख्छन्— ‘राजेन्द्र थापाको तर्क राम्रो छ तर मैले देखेका तीन निर्णायकमा आत्मविश्वासको कमी छ । कसैको गायन सुनेपछि आफ्नो राय आफैंले दिन सक्नुपर्छ । एकले अर्कोलाई ‘होइन त’ भने सोध्ने होइन । नेपाल आइडलमा त एकले अर्कोलाई सोधेर निर्णय गरेको पनि देखियो ।
महेन्द्र गुरुङ लेख्छन्– ‘नेपालमा नजिर कस्तो भैदियो भने केही कुरा चित्त नबुझ्नेबित्तिकै त्यसमा जातीय लेप लगाइदिइहाल्छन् । ए बाबा कोही जातकै आधारमा राम्रो–नराम्रो हुँदैन । हुन्छ त मान्छे उसको सचेतना र विवेक अनि इमान्दारीबाट हुन्छ ।’ सुवास सामपाङको प्रतिक्रिया छ– ‘तपाईं (राजेन्द्र थापा, गीतकार) आफ्नो ठाउँमा सही हुनुहुन्छ होला र निर्णायकहरूको खुबीमा पनि मलाई शंका छैन, तर पहिलो चरणमै उत्कृष्ट खोजेर कहीं हुन्छ ? होला नि मापदण्ड यतिको सम्मलाई निखार्न सकिन्छ र उसलाई सहि निर्देशन दिइयो भने ऊ प्रतिस्पर्धामा खरो उत्रन सक्छ भन्ने । मेरो विचारमा भारतीय रियालिटी शोमा पनि पहिलो प्राथमिकता स्वर अनि मात्र टेक्निकलाई दिइन्छ । टेक्निकल्ली त नेपाल त्यस्तो खतरनाक संगीतकर्मी कति छन्– छन् नि, तर के उनीहरूले सबैले गीत गाउने क्षमता राख्छन्?’
रुपिन्द्र प्रभावी लेख्छन्– ‘कुनै पनि कलाकार जन्मदै पर्फेक्ट भएर आएका होइनन् । उनीहरूलाई हतोत्साही बनाउनु हुँदैन । निर्णायक गायनको मूल्यांकन गर्न राखिएको हो, अरू व्यक्तित्वको मूल्यांकन गर्न होइन । नयाँसँग स–सम्मान बोल्दा तिनको के जान्छ ? प्रतियोगीहरू अञ्जान पनि हुँदैनन् र पूर्ण ज्ञानी पनि हुँदैनन् ।’
सुगम समीपको प्रतिक्रिया छ– ‘सबै मानिस सबै कुरा जानेर जन्मिएका हुँदैनन् । कहीँ–कतै कमी–कमजोरी हुनसक्छ । अलिकति सम्भावना बोकेका प्रतियोगीलाई दोस्रो चरणमा लान सकिन्थ्यो तर दुई–चार जना प्रतियोगीलाई राम्रो गाउँदा पनि मौका नदिएको देख्दा भने मनै खल्लो भयो ।’
मुक्त उदास लेख्छन्– ‘निर्णायक भएर बसेपछि सबै कुराको ख्याल गर्नुपर्छ । बोल्ने शैली देख्दा लाग्छ उनीहरूको जिब्रोले तपाईं भन्ने शब्द उच्चारण गर्न जानेकै छैन । अनि पहिलो चरणमै हिरा खोज्नु निर्णायकहरूको मुर्खता हो ।
कोइलालाई हीरा बनाउनु सक्नुपर्छ निर्णायक भैसकेपछि । यहाँ निर्णायकहरू त संगीत सिकेको र पुर्ण ज्ञान भएको प्रतिस्पर्धी खोजिरहेका छन् । अचम्म लाग्छ, निर्णायकहरूको बडेमानको आकांक्षा देखेर । दया लागेर आउँछ यी निर्णायकहरूको टिप्पणी सुन्दा ।’अनिल आचार्य लेख्छन्– ‘निर्णायकको भूमिकामा बसिसकेपछि राम्रो भाषा प्रयोग गर्नुपर्ने हो । तँ गाडी देखेर आएको, २० लाख पैसाको लोभमा आएको जस्ता प्रतिक्रिया व्यक्त गर्नु के जायज हो ? के यो संगीत सिकेर आएको, एल्बम निकालिसकेको गायक छान्ने प्रतियोगिता हो यो ? सुरुवातमै संगीत सिकेको पूर्ण प्रतिस्पर्धी कहीँ पाइएला र ?