
साप्ताहिक संवाददाता
यात्रीलाई बाटो प्यारो हुन्छ,
बेहुलीलाई रातो प्यारो हुन्छ ।
तँलाई के प्यारो लाग्छ भनेर सोध्नै पर्दैन,
चिसोमा तातो प्यारो हुन्छ ।
-प्रा.डा.कृष्णहरि बराल, कवि/गीतकार
चिसो बिहानीमा ओछ्यानमै तात्तातो चियाको आश,
कम्बलको न्यानोमा बसिरहन पाए झन् कति खास ।
आगोको तातोले रन्काएर कोमल हात ।
चिसिएको गालामा सेक्न पाउँदा क्या बात ।
-नविता तिमल्सिना, गायिका
बच्चालाई बाको काँध, आमाको बुई चाहिन्छ
न्यानो बनाउने भोटो टोपी तग्न रुई चाहिन्छ ।
बोकाले पनि खाने जाडोको चिसो रात काट्न
हामी ठूलालाई एकले कहाँ हुन्छ, दुई चाहिन्छ ।
-नृपेश उप्रेती, गजलकार
कस्तो जाडो ?
केही न केही लाउनै पर्ने
जिउमा कपडा, ओछ्यानमा पनि कपडै कपडा ।
आगो नजिक धाउनु पर्ने,
पानी तातो पिउनु पर्ने
त्यतिले नपुगे
तातोपानीमा रम मिलाउनै पर्ने ।
-बाबु बोगटी, गायक/अभिनेता
चिसो चुलिँदो छ, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला,
किनभने यो जीवनमा आँसु पुछिदिने त धेरै भेटिएलान,
तर नाक पुछिदिने कोही भेटिने छैनन् ।
त्यसैले,
चिसो चुलिँदो छ, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला ।
-सुरेश पौडेल, टेलिभिजनकर्मी
यो चिसो रातलाई भोलिपल्ट घाममा सुकाउँछु भन्छु,
बिहान उठेपछि न्यानो घामले बिर्साइदिन्छ ।
घाम र म लठ्ठाबाजी हुँदै मेरो दिन जान्छ,
फेरि उही सिरेटोमा कठङ्ग्रिएको मुटुलाई च्यापेर सुत्छु ।
मनमनमा सोच्छु
भोलि त जुनलाई हाइभोल्टेज बिजुली स्टेसनमा लगेर रिचार्ज गर्नुपर्यो
कहिले सोच्छु
क्षितिजदेखि आकाशसम्म आकाशदेखि क्षितिजसम्म हिँड्ने
यो घाम र जुनलाई धर्तीमै कैद गर्नुपर्यो
चिसोले सताएका बेला मनमा यस्तै रंगबिरंगको तर्कना आउँछ ।
-अम्बिका गुरुङ, गीतकार/कवियत्री
सोच्दै मख्ख पर्छु म त हुन्थ्यो कति दामी,
चिसो यो ठाउँ छोडी न्यानो घाम लागेको
त्यो डाँडामा जान पाए हामी ।
वर्षा बस्नेत, सञ्चारकर्मी
बालापन नै ठीक थियो बरु
पुस माघ त्यसै जान्थ्यो
चिन्तै लिन पर्दैनथ्यो
बाख्राले जाडो खान्थ्यो
अहिले त,
ज्याकेटले नि छुदैन
टोपी लाउँदा नि हुदैन
फेटा बाँध्यो उस्तै छ
पन्जा जस्तातस्तै छ
जिन्दगी नि घाँडो छ
अति धेरै जाडो छ
आच्छुछुछुछुछुछु
-अजय अधिकारी सुशील, गायक
चिसोको बहाना छ ।
तात्तिने चाहना छ ।
तात्तिँदा, मात्तिँदा भुसुक्क निद्रा लागोस्,
बहानाबाज सबैलाइ यही कामना छ ।
- लोकराज अधिकारी, गीतकार
१. कट्याङ्ग्रिँदो जाडो,
तिम्रो–मेरो सम्बन्ध,
आँगनभरि तुसारो
२. वनभरि हिउँ, मनभरि हिउँ,
तिम्रो–मेरो सम्बन्ध
पग्लिए परेलीका डिलबाट
- सुदन डोटेल, गीतकार
जति छोप्छु भने पनि
कताबाट छिर्छ छिर्छ
तिम्रो याद र चिसो हावा ।
- अविरल थापा, लेखक
कान्छी निन्द्रा बिहानीको, गाढामा माया रुइको
साँझ बाल्दा झिरी–मिटी, उस्तै माया फुईको
लान्छ क्या हो असत्ती पुसले
व्यवस्था पो गर्नै पर्यो अब यी दुईको ।
- महेश आचार्य, गीतकार
जोडीलाई जाडो प्यारो,
रुइ, फुइ, दुई ।
एकललाई साह्रै गाह्रो,
आ..आछुछु..आछुछु..हुई ।
हुनेले पिउँछन् हुस्की र रम,
गरिबको बढ्छ चिसोले दम ।
सुन्दर छ मेरो देश,
लाटो–अन्धो छ सरकार ।
जुनसुकै तन्त्र आए पनि
निमुखाको फेरिएन घरबार ।
यो सालको चिसो कटे बाँचिन्थ्यो कि भन्दै,
भूकम्पका पीडितहरू बस्छन् औंला गन्दै ।
- साइमन सहदेव रायमाझी, गीतकार
शिशिरको कठ्याङग्रिने जाडोमा
बिहानै जब म त्यही बाटो भएर हिँड्छु
जुन बाटो हामी
धेरैपटक सँगसँगै हिँडेका थियौं
प्रेमका न्याना शब्दहरू साटासाट गर्दै
तिनै शब्दहरू म जस्ताको तस्तै सम्झन्छु
यो जाडो छल्नलाई ।
-विजय शिवाकोटी, गीतकार


