अभिनेता पल शाह अहिले असाध्यै व्यस्त छन् । चलचित्र तथा म्युजिक भिडियोमा त उनी व्यस्त थिए नै, यसै सातादेखि उनले मोफसलमा आयोजना हुने महोत्सवमा समेत सहभागिता जनाउन थालेका छन् । यसअघि महोत्सवहरूमा अतिथिका रूपमा सहभागिता जनाउने अभिनेता शाह यसै साता आयोजित टीकापुर महोत्सवमा भने पर्फमरका रूपमा सहभागी भए । टीकापुर महोत्सवमा आफ्ना तीन जना साथीसँग स्टेजमा उक्लिएर आफ्ना चारवटा लोकप्रिय गीतमा कम्मर मर्काउँदा आयोजकहरूलाई दर्शकहरूको भीड नियन्त्रण गर्न मुस्किल परेको थियो । मंगलबार साँझ टीकापुरबाट काठमाडौं फर्किएका अभिनेता शाहसंग साप्ताहिकका कृष्ण भट्टराईको जम्काभेट :
हुँदा–हुँदा महोत्सवमा पनि छाउन थाल्नुभयो हैन ?
(हाँस्दै) ..त्यस्तै भन्नु पर्यो । आयोजक साथीहरूको अनुरोधलाई नाइँ भन्न सकिन । वास्तवमा म महोत्सवहरूमा अतिथिका रूपमा मात्र सिमित थिएँ, तर कलाकार भएपछि प्रस्तुति पनि दिनुपर्छ भन्ने लागेर पहिलो पटक महोत्सवमा नृत्य गरेको हुँ ।
यसलाई निरन्तरता पनि दिने योजना छ कि ?
समयले भ्याएसम्म निरन्तरता दिनेछु ।
महोत्सवको तपाईंको पहिलो प्रस्तुति कस्तो रह्यो ?
उत्कृष्ट, टीकापुरका दर्शकहरू अति नै मज्जाका हुनु हुँदो रहेछ । मेरो प्रस्तुतिसँगै नाचेर साथ दिनुभयो ।
कतिवटा गीतमा नाच्नु भयो ?
पिरतीको मिठो तिर्सना, रूपै मोहनी, पिरतीको बर्को तथा पोखराका गायक विनोद बानियाँको बलेनीमा (आधुनिक) गीतमा नृत्य गर्यौं । मसँगै अरू तीन जना नृत्य कलाकारको एउटा समूह छ । टीकापुरको यो प्रस्तुतिपछि अन्य महोत्सवमा हाम्रो माग बढ्ने निश्चित छ ।
त्यसरी नृत्य गर्दा जोडीको खाँचो परेन ?
जोडीसहित प्रस्तुत हुन पाउँदा त रमाइलै हुन्थ्यो होला, तर सधैं त्यस्तो संयोग जुर्दैन ।
भिडियो र चलचित्रमध्ये एउटा रोज्नुपर्यो भने ?
रथमा एउटा मात्र पांग्रा राख्दा नगुडे जस्तै हो । म दुबै विधामा उत्तिकै सक्रिय हुन रुचाउँछु ।
कुनलाई बढी समय दिनुहुन्छ ?
भिडियो छोटो समयमै सकिन्छ, चलचित्रलाई बढी समय दिनुपर्छ । यद्यपि म समय मिलाएर काम गर्छु । पछिल्लो चलचित्र वीर विक्रमको छायांकनमा व्यस्त हुँदा झण्डै १२ वटा भिडियो पेन्डिङमा भए । धेरैवटा गरिसकें, अब पाँचवटा जति बाँकी छन् । दिनका दिन नयाँ भिडियोबाट प्रस्ताव आउने क्रम रोकिएको छैन ।
भिडियोमा बढी समय दिँदा चलचित्रका दर्शक बाँडिन्छन् जस्तो लाग्दैन ?
दुवै विधामा हामीले आफ्नो कला प्रस्तुत गर्ने हो । भिडियो त अझ छिटो दर्शकमाझ पुग्छ । त्यसैले हामी कलाकारले यो भिडियो, यो चलचित्र भनेर भेदभाव गर्नुहुँदैन ।
विदेश जाने तयारीमा हुनु हुँदो रहेछ ?
हो, यही साता चलचित्र वीरविक्रम–२ को बाँकी छायांकनका लागि हामी युरोप जाँदैछौं ।
वीरविक्रम–२ बाट कत्तिको आशावादी हुनुहुन्छ ?
अत्यन्त आशावादी छु । निर्देशक मिलन चाम्सले मसहित वर्षा शिवाकोटी, नाजिक हुसेन तथा बुद्धि तामाङबाट यति धेरै काम निकाल्नु भएको छ कि म शब्दमा त्यसको वर्णन गर्न सक्दिन ।
पिरतीको मिठो सम्झनाको सफलताप्रति तपाईंको धारणा ?
अत्यन्त मिठो । पुसको चिसोमा मुस्ताङको डाँडामा गरेको मेहनतले रंग ल्याएको छ । त्यो गीतबाट पनि अनुमान लगाउन सक्नुहुन्छ, चलचित्र कस्तो बनेको होला ?
नयाँ चलचित्र हृदयभरीमा कस्तो भूमिका छ ?
फागुन २२ गतेदेखि फ्लोरमा जाने उक्त चलचित्रमा मैले पोल्ट्रिफार्म सञ्चालन गरेर बसेको एउटा युवकको चरित्र निर्वाह गरेको छु । मेरो भूमिका लभर व्याइको हो ।
भ्यालेन्टाइन डे नजिकिँदै छ, के छ प्लान ?
(हाँसो) म यसपटकको भ्यालेन्टाइन डेमा नेपालमा हुन्न, किनभने म आज शुक्रबार नै बेलायततर्फ प्रस्थान गर्दैछु ।
अघिल्ला भ्यालेन्टाइन डे कसरी मनाउनु हुन्थ्यो ?
मेरो कोही स्पेशल भ्यालेन्टाइन नभएकाले अहिलेसम्म मनाएको छैन ।
तपाईंकी त जोडी त छिन् नि, होइन र ?
होइन–होइन । म अहिलेसम्म सिंगल छु । त्यो त सञ्चारमाध्यममा चलेको हल्लामात्र हो ।
अरूले प्रणय दिवस मनाएको देख्दा आफू पनि त्यसैगरी रमाउँ भन्ने लाग्दैन ?
मलाई त यत्तिकै रमाइलो लाग्छ । म त्यो दिन आफ्नो बुवालाई ह्याप्पी भ्यालेन्टाइन्स डे बुवा भन्छु । किनभने भ्यालेन्टाइन्स डे प्रेम अभिव्यक्त गर्ने दिन हो । त्यो प्रेम तपाईंले आफ्नी गर्ल फ्रेण्डलाई मात्र गर्नुपर्छ भन्ने छैन । दाजु–भाइ, दिदी–बहिनी, आमा–बुवा जसलाई पनि प्रेम व्यक्त गर्न सकिन्छ ।