युट्युब र फेसबुक चलाएकै भरमा दीन–दुःखी र पीडितहरूलाई करोडौं रकम सहयोग जुटाउन सफल व्यक्ति हुन्– भाग्य न्यौपाने । शिवसताक्षी–२, झापाका न्यौपानेले सन् २०१७ फेब्रुअरी ३ देखि युट्युबमा तात्तातो खबर सञ्चालन गरेका थिए । त्यसको एक वर्षपछि उनले आफ्नै नाम (भाग्य न्यौपाने) मार्फत अर्को च्यानल पनि चलाइरहेका छन् । आफ्नो च्यानलमा नयाँ–नयाँ प्रतिभाहरूलाई स्थान दिइरहेका न्यौपानेसँग नरेन्द्र रौलेको संवाद :
तात्तातो खबर कत्तिको तातेको छ ?
३७ डिग्रीजति । सेलाउनु पनि त भएन नि ।
तपाईंको लोकप्रियता बढे पनि गेटअपमा त्यति ध्यान दिनुहुन्न, किन ?
सादा खाना नै मीठो, मलाई साधारण पोसाक लगाएरै फरक काम गर्न मन लाग्छ । मुख्य कुरा काम फरक हुनुपर्छ । त्यही भएर म गेटअपमा त्यति ध्यान दिन्नँ ।
फेसबुकमा खुब सक्रिय हुनुहुन्छ, फेसबुकबिना त बस्नै सक्नुहुन्न रै’छ ?
कोही पीडित नेपाली देखें भने, कि मेरो फेसबुक लाइभ खुल्छ कि मेरो माइक खुल्छ ।
खाना र निद्राको टुंगो छैन, किन यसरी दौडधूप गरिरहनुभएको छ ?
यो दौडधूप आत्मसन्तुष्टिका लागि हो । एक छाक खाना नखाए पनि बाँच्न सकिन्छ । म अरूको जीवन बचाउनका लागि दौडधूप गरिरहेको छु ।
युट्युबबाट खुब पैसा कमाउनुहुन्छ भन्ने हल्ला छ, खास के हो ?
युट्युबबाट अहिलेसम्म ३ लाख रुपैयाँ कमाएँ हुँला । तात्तातो खबरबाट मासिक रूपमा बढीमा २ हजार डलर (२ लाख रुपैयाँ) आम्दानी हुन्छ । खर्च पनि त्यही अनुसार छ । बचेको पैसा दुःखी–पीडितहरूलाई बाँड्दैमा सकिन्छ ।
तपाईंले चालेको अभियानअन्तर्गत अहिलेसम्म दुःखी–पीडितहरूका लागि करोडौं रकम उठ्यो । यो कसरी सम्भव भयो ?
यो हामीबाट सम्भव भएको हो, मबाट होइन । हामी अर्थात् सबै नेपाली, म एक्लैले ५ रुपैयाँ पनि उठाउन सक्दिन ।
अहिलेसम्म किनेका मध्ये सबैभन्दा महँगो सामान ?
ल्यापटप (२ लाख २५ हजार रुपैयाँ) र पल्सर बाइक (३ लाख रुपैयाँ) ।
तपाईंलाई आएको महँगो उपहार ?
औंठी, अर्को दर्शकहरूको अपार माया, जुन कसैले किन्न सक्दैन ।
तपाईंसँग नाम छ, दाम छ । छोरी दिनेहरूको त लर्को होला है ?
त्यस्तो केही छैन ।
उमेरले कति पुग्नुभयो ?
२५–२६ पुगें हुँला ।
उमेर त भएछ । विवाह गर्ने कुरा सोच्नुभएको छैन ?
प्रेममा त छैन, विवाहका बारेमा त झन् सोचेको पनि छैन ।
प्रेमबाट किन टाढा ?
म प्रेमबाट टाढा छैन, वरिपरि नै छु । अरूको प्रेमलाई हेरिरहेको छु, अब त्यस विषयमा पनि सोचौंला ।
तपाईं सााँच्चै एक्लो हो र ?
हैन, म एक्लै कहाँ छु र ? दर्शकहरू पनि हुनुहुन्छ ।
मैले व्यक्तिगत जीवनमा भन्न खोजेको ?
अहिले एक्लै छु । कसैलाई मनमा राखेको छैन । प्रेम, मबाट टाढा छ ।
युट्युबमा भिडियो बनाउने बाहेक अरू कुन–कुन कुरामा रुचि छ ?
घुम्ने, चलचित्र हेर्ने, नौला मानिससँग फरक कुरा गर्ने ।
तपाईंका बारेमा कुनै सेक्रेट कुरा ?
म राम्रो सेफ पनि हुँ, मीठा–मीठा परिकार बनाउँछु । विशेष गरी शाकाहारी परिकार मीठो बनाउँछु । मैले मलेसियाको एसियन कुलिनरी आर्ट कलेजमा होटल म्यानेजमेन्ट पढेको हुँ ।