साप्ताहिक संवाददाता
चलचित्र क्षेत्रमा पछिल्लो समय चर्चामा आएका अभिनेता पुष्प खड्काले ९० प्रतिशत अफेयर सफल नभएको दाबी गरेका छन् । पब्लिसिटीको रुपमा अथवा हिट हुनका लागी प्रेमका कुरा मिडियामा ल्याउनु गलत भएको उनको भनाई छ । कान्तिपुरका संचारकर्मी रामजी ज्ञवालीसँग कुराकानी गर्दै उनले भने, ‘मैले आफ्नो प्रेमका कुरालाई बाहिर ल्याउनु पर्छ जस्तो लाग्दैनँ, यस्ता कुरालाई धेरै प्राथमिकता नदिए नै राम्रो हुन्छ ।’ प्रेम भन्ने कुरा हरेक मानिसको जिवनमा हुने तर उक्त कुरामा कुनै ग्यारेन्टी नहुने भएकाले प्रेमका कुरालाई धेरै चर्चामा ल्याउन नहुने उनी बताउछन् ।
मारुनी सोचेभन्दा राम्रो बनेको छ
अभिनेता खड्काले यो चलचित्र आफुले सोचेभन्दा राम्रो बनेको बताएका छन् । पछिल्लो समय प्रदर्शन भएको चलचित्र ‘दाल भात तरकारी’ ले आफुलाई राम्रो रिजल्ट दिएको बताउँदै उनले भने, ‘उक्त चलचित्रमा यो क्षेत्रका चर्चित कलाकारहरुसँग काम गरेको थिएँ, लिजेन्ड एक्टरहरुसँग काम गरेको पनि सम्झना हुनेछ ।’ यो चलचित्रमा विगतका चलचित्रमा नदेखिएको कुरा मारुनीमा देख्न पाइने अभिनेता पुष्पले बताए ।
२५ लाखको बार्गेनिङ जायज थियो
पुष्पले केहि महिना अघि एक चलचित्रमा अभिनय गर्नका लागी २५ लाख रुपैंयाको बार्गेनिङ गरेको खबर आएको थियो । उक्त खवरपछि उनि एकाएक विवादमा तानिए । कतिपयले उक्त रकम ठिकै हो भने, कतिपयले भरखरै उदाएका कलाकारले चलचित्र क्षेत्रको क्षमता भन्दा माथि पुगेर वार्गेनिङ गरेको बताए । तर, पुष्पले उक्त कुरा आफ्नो काम अनुसार जायज भएको बताए । उक्त प्रोजेक्टमा काम गर्दा कम्तीमा १० महिना काम गर्नुपर्ने भएकाले उक्त रकम मागेको उनको दाबी छ । ५० लाखसम्म कलाकारहरुले पारिश्रमिक मागेको उदाहरण दिँदै उनले भने, ‘मैले २५–३० लाख माग्दा किन इण्डस्ट्रिज हल्लिएको होला ?’ उक्त चलचित्रका लागी आफुले निकै खट्नुपर्ने भएकाले उक्त रकम मागेको उनले बताए ।
भाग्यले साथ दियो
उनले आफ्नो भाग्य र परिश्रमले गर्दा चलचित्र क्षेत्र फापेको बताएका छन् । दर्पण छायाँ २, मंगलम, दाल भात तरकारी लगायतका चलचित्र र थुप्रै म्युजिक भिडियोमा काम गरेका खड्काले दर्शकलाई हरेक चलचित्रमा फरक–फरक किसिमका स्वाद दिने बताए ।
साम्राज्ञीको कस्तो राम्रो स्वभाव !
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहका एकपछि अर्को चलचित्र हिट छन् । अभिनेत्रीहरुमा सर्वाधिक हिट अभिनेत्रीसँग काम गर्दा पुष्पलाई कस्तो अनुभव भयो ? हाँस्दै खड्काले भने, ‘हरेक कुरामा सहयोगी स्वभाव रहेछ, मेरो पनि राम्रो र आफ्नो अपोजिटको क्यारेक्टरको पनि राम्रो होस् भन्ने उनको भावना मन प-र्यो ।’