गत शनिबार काठमाडौंमा सम्पन्न बाइक रेसिङ प्रतियोगिताका विजेता राजकुमार कार्की १ सय ६० सीसीको मोटरसाइकल कुदाउँछन् । नेपाल ट्यालेन्ट कप शीर्षकको उक्त रेसिङ नेपालकै लागि नौलो प्रतियोगिता समेत थियो । नेपालका लागि अझैपनि नयाँ मानिने बाइक रेसिङका नयाँ स्टार कार्कीसँग साप्ताहिकका लागि एकराज सुवेदीले गरेको कुराकानी :
बाइक रेसिङमा कहिलेदेखि लाग्नुभएको ?
औपचारिक रुपमा रेसिङमा भाग लिन थालेको करिब डेढ वर्ष मात्र भयो । यद्यपि त्यसभन्दा पहिले पनि अनौपचारिक रुपमा विभिन्न समयमा यस्ता रेसिङमा सहभागी हुन्थे ।
हालसम्म कुन–कुन प्रतियोगितामा भाग लिनुभएको छ ?
मैले हालसम्म भाग लिएका प्रतियोगिता मध्ये यस पटक समेत गरी ५ वटामा उपाधि हात पारेको छु । करिब डेढ वर्ष पहिले सम्पन्न मोटो फ्ल्याट ट्र्याकबाट बेस्ट राइडरको उपाधि हात पारेको थिएँ । त्यसपछि धुलिखेलको हिमालयन मोटरल्यान्डमा सम्पन्न क्रसमान्डु–२ मा तेस्रो स्थान हासिल गरे । होन्डा नेपाल ड्रिम कपका ३ चरणमध्ये फस्टमा पहिलो भएँ । सेकेन्डमा बाइक क्र्यास भएकाले कुनै स्थान हासिल गर्न सकिनँ । थर्ड राउन्डमा फेरि फस्ट भए । यसले गर्दा समग्रमा होन्डा नेपाल ड्रिम कपको विजेता भएँ । केही महिना पहिले सम्पन्न मोटो ट्र्याक–२ मा पनि विजयी भए । यसपटक ट्यालेन्ट कपमा २ सय सीसी क्याटागोरीमा विजयी भएँ ।
यी प्रतियोगिताहरूमा कुन–कुन बाइक कुदाउनुभएको थियो ?
मोटो फm्ल्याट ट्र्याकमा मैले केटीएम ड्युक २०० बाइक कुदाएको थिएँ । क्रसमान्डु–२ मा त्रसफायर बाइक, होन्डा नेपाल ड्रिम कपमा होन्डा एक्सआर १५० तथा हर्नेट १६० कुदाएको थिएँ । मोटो ट्र्याक–२ मा क्रसफायर कुदाएको थिएँ । पछिल्लो रेस अर्थात ट्यालेन्ट कपमा भने मैले यामाहाको आरवान ५ भी ३.० कुदाएको थिएँ ।
कस्ता बाइक कुदाउन रुचाउनुहुन्छ ?
कुदाउनकै लागि त डर्ट बाइक रमाइलो हुन्छ । डर्ट बाइक कुदाउँदा निकै आनन्द आउँछ ।
हाल कुन बाइक प्रयोग गर्नुहुन्छ ?
मैले हाल होन्डाको सीबीआर २५० बाइक प्रयोग गरिरहेको छु । होन्डाले फेरि होन्डा नेपाल ड्रिम कपको आयोजना गर्ने भएकाले त्यसैलाई लक्षित गरेर यो बाइक किनेको हुँ ।
बाइकप्रति कसरी रुचि जाग्यो ?
म सानैदेखि बाइकमा रुचि राख्थे । ७ कक्षादेखि नै बाइक चलाउँथें, तर नेपालमा पनि रेसिङ हुन्छ भन्ने कुरा थाहा पाएको धेरै भएको छैन । रेसमान्डु–३ को आयोजना हुँदा सम्म यसका बारेमा थाहा थिएन । पछि थाहा पाएपछि रेसमान्डु–४ हेर्न गएँ । त्यसपछि बल्ल म यसमा लागेको हुँ ।
नेपालबाहेक विदेशका प्रतियोगितामा पनि सहभागिता जनाउनुभएको छ कि ?
करिब ८ महिना पहिले थाइल्यान्डमा भएको प्रतियोगितामा सहभागी भएको थिएँ । हामी त्यहाँ जित्नकै लागि नभै अनुभव लिन गएका थियौं । यद्यपि नेपालबाट हालसम्म गएका प्रतियोगीभन्दा बेस्ट रेकर्डका साथ फर्कियौ । त्यहाँ मलाई ल्याप टाइमिङका आधारमा ठूलो उपलब्धि हासिल भएको थियो ।
नेपालमा हाल यस्ता बाइक रेसिङ निकै हुन थालेका छन् । कस्तो लाग्छ ?
तुलनात्मक रूपमा धेरै नै भैरहेका छन् । वर्षमा ५/६ वटा इभेन्ट हुन्छन् । यस्ता इभेन्ट भैरह्यो भने राम्रो हुन्छ । हामी राइडरहरूको हौसला बढ्छ ।
यस्ता रेस निकै जोखिमयुक्त हुन्छन् । कसरी व्यवस्थापन गर्नुहुन्छ ?
सुरक्षित रुपमा चलाए जोखिम हुँदैन । फेरि विभिन्न प्रकारका गियर प्रयोग गरी बाइक चलाउनुपर्छ । हामी यस्ता रेसिङ सिक्न विभिन्न प्रकारका टिम निर्माण गर्छौं र एक–अर्कासँग सिक्ने–सिकाउने काम गर्छौं । मेरै ‘वान डाउन फाइभ रेसिङ टिम नेपाल’ नामक टिम छ । काठमाडौंमा हाम्रो ३०–३५ जनाको समूह छ । बुटवल, पोखरा तथा चितवन गरी करिब ६० जना जति यो समूहमा छौ । हामी समय–समयमा सिन्धुली, चितवन, धुलिखेल आदि स्थानमा पुगेर रमाइलो पनि गरिरहन्छौं ।