हस्तकलामा रुचि राख्ने सन्नी शाक्यलाई फोटोग्राफी पनि उत्तिकै मन पर्थ्यो । सानैदेखि हस्तकलासम्बन्धी काम गर्दै आएका सन्नीले फोटोग्राफीको कक्षा समेत लिएका छन् । कलाको मिश्रण नभै फोटोग्राफी उत्कृष्ट हुन सक्दैन भन्ने मान्यता राख्ने सन्नीले विभिन्न कोणबाट विभिन्न विषयका तस्बिर खिच्दा–खिच्दै टोयोग्राफी पनि हुन सक्छ भन्ने कन्सेप्टबाटै यसको सुरुवात गरेका हुन् । आठ महिना लामो मेहनतपछि तयार पारिएका उनका कलालाई बबरमलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा आयोजित प्रदर्शनीमा राखिएको थियो । ५३ वटा डिजिटल प्रिन्टको उक्त प्रदर्शनीमा शाक्यले हलिउडका २० जना काल्पनिक सुपरहिरोलाई नेपाली वेशभूषा एवं परिवेशमा प्रस्तुत गरेका थिए ।
कसरी टोयोग्राफीतिर हात हाल्नुभयो ?
फोटोग्राफी गर्ने क्रममा पुतलीलाई छतमा राखेर त्यसको तस्बिर खिची इन्स्ट्राग्राममा राखेको थिएँ । त्यसलाई धेरैले मनपराए । त्यसपछि मेरो मन टोयोग्राफीतर्फ मोडियो ।
पुतलीप्रति कसरी आकर्षित हुनुभयो ?
मैले व्यक्ति र ठाउँका विविध तस्बिर खिचें । यस क्रममा केही नयाँपन दिऊँ भनेर पसलबाट पुतली किनेर त्यसको तस्बिर खिचेको हुँ, जुन मलाई पनि सार्है मन परेको थियो ।
तीता–मीठा अनुभव कस्ता रहे ?
विवाह गर्ने उमेरमा पुतली तथा खेलौना किन्न र खोज्न जाँदा साथीभाइहरूले जिस्क्याउँथे । सुरुमा त मेरा बा–आमा पनि डराएका थिए । मैले अरूका कमेन्टमा ध्यान दिन छोडें । मलाई विश्वास थियो यसको रिजल्ट पक्कै राम्रो हुनेछ ।
कन्सेप्टहरू कसरी तयार गर्नुहुन्थ्यो ?
रातभर नसुती कन्सेप्ट तयार गर्थें । कसलाई कुन पहिरन लगाइदिने, के–कस्ता एसेसरिजहरू प्रयोग गर्ने र कुन–कुन ठाउँमा के–कस्ता कन्सेप्ट र कथा जोड्ने थिम बनाइरहन्थें । म हरेक कन्सेप्टमा नेपाली कथा–व्यथा जोड्ने प्रयास गर्थे ।
लोकप्रिय कमिक हिरोहरूलाई नेपाली सम्पदा र पहिरनमा ढाल्ने सोच कसरी आयो ?
सुपरम्यान, बार्बी गर्ल, हल्क, वन्डरफुल लेडी, स्पाइडरम्यानजस्ता पात्रको डिजिटल तस्बिरमै मैले नेपाली चरित्र मिसाएर क्यानभासमा उतारें । बार्बी गर्ल र हकलाई नेपाली नाम ‘बार्बी मैंचा’ र ‘हक चा’ दिँदै नेवार समुदायको भेषभूषामा सजाएर खर्पन बोकेको हल्क र कम्मरमा पानीको घैला बोकेकी बार्बी तयार पारे ।
यसबाट नेपाली संस्कृतिमा के–कस्तो प्रभाव पर्छ ?
मैले आफ्ना डिजिटल प्रिन्टका क्यानभासमा काल्पनिक पात्रहरूमार्फत नेपालको सांस्कृतिक एवं प्राकृतिक सम्पदासँगै सामाजिक रहनसहन, नेपाली महिलाको चिनारी, पर्यटकीय स्थल आदि विषयवस्तु प्रस्तुत गरेको छु । मैले बनाएका हलिउड सुपरहिरोहरूको पृष्ठभूमिमा पनि पशुपति, स्वयम्भू, पाटन, भक्तपुर, वसन्तपुर दरबार क्षेत्र, पोखरा आदि देखिन्छन् भने तिनीहरूले बोक्ने साधन पनि नेपाली पहिचान झल्काउने किसिमका छन् ।
प्रदर्शनीबाट उत्साहित हुनुहुन्छ ?
म त एकदमै खुसी छु । प्रदर्शनीमा राखिएका सबै तस्बिर बिक्री भए । अब म यसमा अझ बढी
मेहनत गर्नेछु ।
अबका योजना के छन् त ?
अब नेपालका विभिन्न जातिका संस्कृति झल्कने टोयोग्राफी तयार गर्नेछु । भविष्यमा यिनै पात्रहरूलाई लिएर नेपाली संस्कृतिमा आधारित कमिक्स तयार गर्ने योजना छ ।