सन् २०१४ मा भारतीय च्यानल जी टिभीबाट प्रसारण हुने डान्स इन्डिया डान्स लिटिल मास्टर्सको तेस्रो संस्करण तथा सन् २०१७ मा झलक दिखला जा को ९ औं संस्करणको उपाधि चुमेर नेपाली चेली तेरिया फौजामगरले नयाँ उचाइ चुमिन् । रुपन्देही, रुद्रपुरकी तेरियाले बुटवलको बागेश्वरी सड्डीतालयमा नृत्य सिकेकी थिइन् । तेरिया अहिले अध्ययन र नृत्य सिक्ने क्रममा परिवारसहित मुम्बईमै छिन् । डान्सको माध्यमबाट नेपालाई चिनाउन सफल तेरिया फौजामगरसँग स्वस्तिक श्रेष्ठको कुराकानी :
धेरै प्रशंसकले अहिले तपाईंको नृत्य हेर्न नपाएको गुनासो गरिरहेका छन् नि ?
पहिले रियालिटी शोमा हरेक हप्ता मेरो नृत्य हेर्न पाइन्थ्यो । अहिले म रियालिटी शोमा सहभागी छैन, तर लाइभ शोहरूमा पर्फम गरिरहेको हुन्छु, त्यही भएर होला ।
तपाईं टिकटकमा सीमित भएको त होइन ?
टिकटक एउटा मनोरन्जक एप्स हो । टिकटक म फुर्सदमा मात्र बनाउँछु ।
टिकटकमा कति फलोअर छन् ?
४ लाखभन्दा बढी ।
लामो भारत बसाइले तपाईंलाई के–कस्तो उपलब्धि दिएको छ ?
भारत बसेर धेरै फाइदा भएको छ । मैले धेरै नयाँ कुरा सिक्ने अवसर पाएकी छु । एक्सपेरियन्स भैरहेको छ । अध्ययनसँगै डान्स र अन्य धेरै कुरा सिक्न पाएकी छु ।
तेरिया मगर फाउन्डेसन स्थापना गर्नुभएको छ, यसको उद्देश्य के हो ?
मजस्ता स–साना बालबालिकाहरूलाई जसले आफ्नो ट्यालेन्ट हुँदाहुँदै पनि शो गर्न पाउनुभएको छैन । त्यो पनि डान्सको फिल्डमा मात्र नभै हरेक फिल्डमा । स्पोर्ट्समा, पढाइमा आफ्नो ट्यालेन्स देखाउन पाउनुभएको छैन । आफ्नो फेमिलीको सपोर्ट नभएका कारणले वा आफनो फाइनान्ससियल समस्याले गर्दा कठिनाइमा परेका बालबालिकाहरूलाई यो फाउन्डेसनमार्फत सहयोग गर्ने लक्ष्य छ । म जति बढ्दै छु, त्यति नै समाजसेवाप्रति इन्ट्रेस लागिरहेको छ । मलाई खुसी पनि लाग्छ, मेरो इच्छा पनि छ, मजस्तै बालबालिकाहरूलाई सहयोग र सपोर्ट गर्न पाऊँ भन्ने ।
अध्ययन र नृत्यबाहेक अभिनयमा पनि तपाईंको रुचि हो ?
एक्टिङ मलाई अहिले होइन, पहिलेदेखि नै मन पर्थ्यो । अहिलेचाहिँ थुप्रै नेपाली दिदीबहिनी–दाजुभाइहरूले मलाई चिन्नुहुन्छ, उहाँहरूलाई मेरा बारेमा जिज्ञासा पनि हुन्छ । अहिले उहाँहरूलाई थाहा भएको छ, तर एक्टिङमा मलाई पहिलेदेखि नै रुचि थियो ।
चलचित्रबाट प्रस्ताव आइरहेको कुरा सुनिएको छ, कत्तिको सत्य हो ?
प्रस्ताव मात्र आएको हो तर काम गर्छु भनेर कसैलाई वचन दिएकी छैन । बजारमा हल्ला भने धेरै छ ।
चलचित्रमा आउने सम्भावना कत्तिको छ ?
सम्भावना छ, मलाई एक्टर बन्न मन छ । भविष्यमा चलचित्रमै काम गर्ने हो, तर अहिले तत्काल फिल्ममा जाने सोच बनाएकी छैन ।
कहिलेसम्ममा चलचित्रमा डेब्यु गर्नुहुन्छ ?
भविष्य त कसैले देखेको छैन । जतिबेला पनि हुन सक्छ, तर तत्कालका लागि मैले आफूलाई पढाइ र डान्समा फोकस गरेकी छु ।
बलिउड अभिनेता ऋतिक रोशनले पनि चलचित्रमा अभिनय गराउने कुरा गरेका थिए होइन ?
त्योचाहिँ झलक दिखजाला जाको मन्चमा अनस्क्रिन भन्नुभएको थियो, तर अफस्क्रिन मैले त्यस्तो प्रस्ताव
पाएकी छैन ।
नेपाली चलचित्रमार्फत आउने कि हिन्दी चलचित्रमार्फत ?
त्यस्तो केही सोचेको छैन । काम भनेको काम हुन्छ । चाहे यहाँ होस्, चाहे त्यहाँ होस्, डेब्यु जहाँ पनि हुन सक्छ । म दुवै ठाउँमा काम गर्नेछु र मलाई यहाँ काम गर्दा पनि एकदमै खुसी लाग्नेछ । आफ्नै ठाउँ, आफ्नै देशमा आफ्नै मान्छेहरूसँग काम गर्न पाउनु पनि म ेरा लागि ठूलो खुसीको कुरा हो । डेब्युको कुरा अहिलेसम्म सोचेको छैन, तर कामचाहिँ दुवै स्थानमा गर्छु ।
फुर्सदमा के गर्न रुचाउनुहुन्छ ?
टाइम मिल्दा सिंगिङ गर्छु । गीत गाउन मन रुचाउँछु । युट्युबमा भिडियो तथा फिल्महरू हेर्छु ।
फिटनेसमा कत्तिको ध्यान दिनुहुन्छ ?
शरीरलाई फिट राख्नुपर्छ भन्ने भावना छ । मेरो पढाइका कारण बीचमा केही समय फिटनेसबाट टाढा भएकी थिएँ, जसले गर्दा मलाई केही गार्हो भैरहेको थियो, तर अहिले फेरी फिटनेसमा ध्यान दिन थालेकी छु । वर्कआउटले नै हाम्रो बडिलाई फिट राख्छ र त्यसमा आफूले के खाइन्छ अर्थात डाइट पनि महत्वपूर्ण हुन्छ ।
खानपिनको कत्तिको सौखिन हुनुहुन्छ ?
त्यस्तो सौखिन छैन । ममीले जे पकाएर दिनुहुन्छ त्यही मीठो मानेर खान्छु ।
पहिरनमा के रुचाउनुहुन्छ ?
वन पिस बढी लगाउँछु, कम्फर्टेबल पनि लाग्छ ।
रिस उठ्यो भने ?
यो मेरो नराम्रो बानी हो । म अलिकति छिटो रिसाउँछु तर जति छिटो रिसाउँछु त्यही नै छिटो रिकभर भैसक्छु ।
तपाईंको राम्रो बानी ?
राम्रो बानी आफैं नभनौं । आफ्नो प्रशंसा आफ्नै मुखबाट कसरी गर्ने ?
अनि सुधार्नुपर्ने बानी ?
सुधार्नुपर्ने बानी धेरै छन । ममीले मलाई धेरै कुरा सम्झाइरहनुभएको हुन्छ ।