सन् १९७९ मा बौद्धमा जन्मिएका मनोज सिंह अहिले मनोज नेवाको नामले परिचित छन् । आठ वर्षको उमेरदेखि बाँसुरी बजाउँदै आएका उनी ३३ वर्षको निरन्तरतापछि ग्रामी एवार्डका लागि मनोनयनमा पर्ने पहिलो संगीत साधक बनेका छन् । संगीतका लागि विश्वकै सर्वोच्च पुरस्कार मानिने ग्रामी एवार्डमा नेपाली संलग्नता संगीत सिर्जना मनोनयनमा परेको यस एल्बममा गायत्री मन्त्रको भक्ति संगीत सुन्न पाइन्छ । मनोज डेढ दशकभन्दा अघिदेखि अमेरिकाको सानफ्रान्सिस्कोमा बस्दै आएका छन् । नेपालमा रहँदा सुकर्म समूह, १९७४ एडी ब्याण्डसँग बाँसुरीवादकका रूपमा संलग्न थिए, उनी । साप्ताहिकका लागि सिर्जना दुवाल श्रेष्ठले गरेको अनलाइन कुराकानी :
ग्रामी एवार्डको मनोनयनको समाचार सुनेपछि कस्तो अनुभव भयो ?
मलाई देवा र मिनेटले फोन गरेर हामी ग्रामीमा मनोनयन भयौं भनेर सुनाएका थिए । एकपटक त मलाई सपना झैं लाग्यो । विश्वका हरेक संगीतज्ञको सपना हो, ग्रामी । समाचार सुनेपछि एकछिन त शून्य भएँ । त्यसपछि मैले सानैदेखि बजाउने किराँतेश्वर संगीत आश्रमको मञ्चलाई सम्झेँ ।
ग्रामी एवार्ड पाउनुभयो भने के गर्नुहुन्छ ?
मैले कहिले पनि पुरस्कार, सम्मानका लागि संगीतलाई सोचिन । यो एवार्ड पायो भने नेपाली संगीत पनि ग्रामीसम्म पुग्यो भनेर खुसी हुन्छु । नपाउँदा पनि अझैं राम्रो बजाउने कोसिसमा रहनेछु । ग्रामी एवार्डमार्फत धेरै माझ म क्लिक भएँ । यसैमा दंग छु ।
कसरी ग्रामी एवार्डको मनोनयनसम्म पुग्नुभयो ?
जर्मनीकी देवा प्रेमल र बेलायतका मिटेनसँगको संयुक्त एल्बम ‘देवा’ का लागि ग्रामीको ‘बेस्ट न्यू एज एल्बम’ विधामा छानिएको हो । हामी तीन जनाको संयुक्त सहकार्य नै यसको हकदार हो ।
देवा प्रेमल र मिटेनसँग लामो सांगीतिक यात्रा गरिरहनुभएको छ । तपाईंहरूको पूर्वीय र पश्चिमी केमेस्ट्री कसरी जम्यो ?
अमेरिका गएदेखि बाँसुरीवादनलाई निरन्तरता दिइरहेँ । यसै क्रममा मलाई सान फ्रान्सिस्कोका धेरै ठाउँबाट बासुरी बजाउन निम्तो आउन थाल्यो । सांगीतिक कार्यक्रमकै सिलसिलामा देवा र मिटेनसँग भेट भएको हो । उनीहरूमा पूर्वीय दर्शनप्रति प्रेम र आस्था थियो । उनीहरूले आध्यात्मिक भावले गाएको गीत र मन्त्रले मलाई तान्यो । देवा र मिनटलाई चाहिँ मेरो बाँसुरीको धुन कृष्णको धुनजस्तो मीठो लागेको बताउँदै हाम्रो सामीप्यता बढ्यो र सहकार्य हुन थाल्यो । यो सहकार्य पनि १५ वर्ष भइसकेको छ । उनीहरूमा पूर्वीय दर्शन, चिन्तन यति छ कि मैले बजाउने बाँसुरीसँग ऊर्जात्मक केमेस्ट्री मिलेको अनुभव हुन्छ । यही ऊर्जात्मक केमेस्ट्रीकै परिणाम हो, यस पटकको ग्रामी एवार्डमा मनोनयनमा पर्नु ।
यस एल्बममा खास कुन खुराक छ जसले यो सफलता हासिल गर्यो ?
आध्यात्मिक र संगीतलाई साधना र पूजाका रूपमा हाम्रो प्रस्तुति नै यसको खुराक भन्न मिल्छ होला । यो एल्बम गायत्री मन्त्रको भक्तिसंगीत हो ।
सफल हुनुको कारण के ठान्नुहुन्छ ?
म अमेरिकामा बस्न थालेपछि मनमा एउटै कुरा खेलिरहन्थ्यो । नेपालमा भन्दा म यहाँबाट नेपाली धर्म, संस्कृति र संगीतमा योगदान दिन सक्छु । मलाई पहिलेदेखि लाग्थ्यो संगीत एउटा यस्तो माध्यम हो जसको लागि भूगोलको सीमाले न छेक्छ, न कुनै भाषा, धर्म, संस्कृति र जातकै सीमाभित्र रहन्छ । त्यही भएर मैले अमेरिकामा रहेर नेपाली संगीतलाई नै प्राथमिकता दिँदै लगेँ । साथै मेरो, देवा र मिनटको समूहको निरन्तरता पनि हो । हाम्रो यो सातौं एल्बम हो । जसबाट हामी सफल भएको महसुस हुन थाल्यो ।
नेपाली संगीत अन्तर्राष्ट्रिय स्तरमा पुग्न सक्छ भन्ने सन्देश पनि हो यो ?
भारतमै गौण रूपमा पाएको यो एवार्ड नेपालीले पाउँछ भन्ने सोचसमेत राखिएको पाइँदैन तर नेपालको संगीत त्यसमा पनि शास्त्रीय संगीत र वाद्यवादकको कुरा गर्नुपर्दा सक्षम कलाकारहरू धेरै छन् तर पहुँचको कमी जस्तो लाग्छ । संगीतलाई अन्तर्राष्ट्रियकरण गर्दै लानुपर्छ जस्तो लाग्छ ।
अमेरिका बसाइ कति उपलब्धिमूलक छ ?
अमेरिकामा सबै देशका संस्कृति छन् र ती सबैलाई सम्मान पनि गरिन्छ । भारतका वरिष्ठ स्रस्टाहरू जाकिर हुसैन, रविशंकरले पनि अमेरिकाबाटै संघर्ष गरे । यहाँ राम्रो र असल चिजको सम्मान हुने रहेछ भन्ने बुझेँ ।